शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

जहाज नचल्दै जीर्ण बन्दै बलेवा विमानस्थल,निर्माणमा अगुवाइ गरेको बागलुङ नगरपालिकालाई पनि कहिले जहाज आउँछ भन्ने थाहा छैन

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २२, २०८०



  • बागलुङ । साढे दुई वर्षअघि निर्माण सकेर चिटिक्क पारिएको बलेवा विमानस्थल जहाज चल्न नपाउँदै जीर्ण बन्न लागेको छ ।

    विमानस्थलको धावनमार्गमा अहिले काँस फुलेको छ । तारबारमा खिया लागिसकेको छ । यहाँ पुग्नेले तारबार लगाएको स्थानबाट तस्बिर खिच्छन् । कतिले कालोपत्र मैदानको प्रशंसा गर्छन् । कतिपयले जहाज कहिले आउँछ भनेर सामाजिक सञ्जालमा प्रश्न तेर्स्याउँछन् ।

    निर्माणमा अगुवाइ गरेको बागलुङ नगरपालिकालाई पनि यहाँ कहिले जहाज आउँछ भन्ने थाहा छैन । राम्रो हालतको रनवे र वातावरण भएकाले जहाज चल्न सक्ने पोखरा विमानस्थलका महाप्रबन्धक देवचन्द्रलाल कर्णले बताए । जहाज पठाउने नपठाउने अधिकार भने केन्द्रीय कार्यालयमा निहित भएको उनको भनाइ छ । ‘मेरो कार्यक्षेत्र भएकाले पुगेर अवलोकन गरेको थिएँ,’ कर्णले भने, ‘यति धेरै लगानी भएपछि चलाउनुपर्ने हो ।’

    जहाज कहिले चल्छ भन्नेबारे भने आफूमा उत्तर नभएको उनले प्रतिक्रिया दिए । बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित बलेवा विमानस्थलमा ०५० पछि जहाज चल्न छाडेको थियो । ०२२ देखि ०५० सालसम्म नियमित जहाज चल्दा बागलुङ, पर्वत र म्याग्दीका बासिन्दाले काठमाडौं र भैरहवाका लागि सेवा पाएका थिए । पोखरा–बागलुङ राजमार्ग खुलेपछि जहाज बन्द भएको थियो ।

    ०७१ सालमा तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र विष्टले जहाज चलाउने प्रयास गरेका थिए । त्यो सफल भएन । स्थानीय तह गठनपछि बागलुङ नगरपालिकाले सिट क्षमताका आधारमा खाली भएमा शुल्क तिर्ने गरी झन्डै ४ महिना जहाज चल्यो ।

    साताको दुई वटासम्म उडान गर्दा नगरपालिकाले २० लाखभन्दा बढी रकम सिट क्षमताका आधारमा तिरेपछि बन्द भएको थियो ।

    नगरको अगुवाइमा नेपाल नागरिक उड्डयन प्राधिकरणले धावनमार्ग कालोपत्र गरेको हो । कालोपत्र बनेपछि भने विमानस्थल सञ्चालनमा कसैले चासो देखाएका छैनन् । ‘काष्ठमण्डप उमा एन्ड संयुक्त निर्माण कम्पनी’ ले ०७८ वैशाखमा ८ करोड २४ लाख ३४ हजार रुपैयाँ लागतमा बलेवा विमानस्थल कालोपत्र गरेको थियो । करिब ७ सय मिटर लम्बाइ कालोपत्रसहित १ हजार १ सय मिटर लामो मैदान ग्राभेल गरिएको छ । ३० मिटर चौडा मैदानमा तारबारले घेरिएको छ । टर्मिनल भवन मर्मत गरेर रङरोगनसमेत गरिए पनि जहाज उडाउने पहल भएको छैन ।

    ०१६ देखि २०१८ सम्म लगाएर स्थानीयले यो विमानस्थल खनेका थिए । बलेवाबाट काठमाडौं, पोखरा र भैरहवाका लािग नियमित उडान चल्ने गरेकामा सडकले ठप्प भएको स्थानीय कृष्णबहादुर खड्का बताउँछन् । तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र विष्ट र शिक्षामन्त्री दीनानाथ शर्माले नियमित जहाज चलाउने प्रतिबद्धता जनाउन नेपाल एयरलाइन्सको जहाज चढेर यहाँ उत्रेका थिए ।

    एयरपोर्ट पुग्ने सडक कच्ची भएकाले विमानस्थल चलाउन समस्या भयो । नगरपालिकाले पनि घाटा परेपछि विमानस्थल कालोपत्र गर्ने काम सुरु भयो । यहाँ ६ सय २० मिटर लामो पक्की नाली, १ हजार ५ सय मिटर लामो घेराबार र एउटा मुख्य गेट तथा अर्को आपत्कालीन गेट बनाइएको छ । यहाँ १८ देखि २४ सिट क्षमताका जहाज चल्न सक्छन् ।

    यहाँ पुग्ने कालीगण्डकी करिडोर कालोपत्रको ठेक्का लागेको छ । ९९ करोड लागतमा मालढुंगादेखि एयरपोर्टसम्मको १० किमि सडक कालोपत्र गर्ने ठेक्काको काम भइरहेको वडा नम्बर १४ का अध्यक्ष चक्रबहादुर खत्रीले जनाए ।

    ‘जहाज उड्नुपर्ने ठाउँमा अहिले काँस फुलेको छ, आउने मानिसले पनि हँस्सीमजाक गर्छन्,’ उनले भने । नगर प्रमुख वसन्तकुमार श्रेष्ठले पनि ट्याक्सी चढेर आउने वातावरण नभएसम्म पहल गर्न नसकिएको प्रस्ट्याए । ‘नगरपालिकाले घाटा बेहोर्ने गरी जहाज चल्दैन,’ श्रेष्ठले भने, ‘सडक सहज भएपछि जहाज चल्ने वातावरण बन्छ ।’ कालीगण्डकी करिडोर कालोपत्र भए सदरमुकामदेखि १५ मिनेटमा बलेवा विमानस्थल पुग्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij