शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

हात्ती भगाउन मौरी,

  • प्रकाशित मिति : बुधबार, पुस ४, २०८०



  • झापा  । सन् २००३ ताका अमेरिकी पिस्कोर स्वयंसेवकहरूले हात्ती लखेट्ने नौलो जुक्ति निकाले, मौरीपालन । भारतबाट मेची तरेर आउने जंगली हात्तीले आक्रान्त झापा, बाहुनडाँगीमा त्यो अमेरिकी जुक्ति सफल भने भएन । बाहुनडाँगीमा ‘ट्र्याल’ गर्नुअघि पिस्कोर स्वयंसेवकहरूले अफ्रिकाको हात्तीमाथि यो प्रविधिको सफल प्रयोग गरेका थिए ।

    बाहुनडाँगीमा पनि अफ्रिकामा झैं सफल होला भन्ने उनीहरूले ठाने । तर, भइदियो असफल । १७ जना गाउँलेलाई मौरी पाल्ने, घार बनाउने तालिम दिएर उनीहरू फर्किए ।

    लगत्तै स्थानीय अगुवा प्रसादसिंह पाण्डेले १२ घार मौरी पालेर हात्ती लखेट्ने प्रयत्न गरेर हेरे पनि । तर, सम्भव भएन । त्यसबेलाका प्रशिक्षार्थी हस्त प्रधानले सुनाए, ‘बगरमा घार राखेर मौरीबाट हात्ती खेद्ने काम सजिलो थिएन ।’ उनका अनुसार तालिमपछि पिस्कोरले गाउँलेलाई मेलिफेरा जातको मौरी घारसहित उपलब्ध गराएको थियो । ‘घार लिएर हात्ती हिँड्ने गौंडामा राख्ने अनि टर्च बालेपछि मौरी बिच्किएर हात्तीलाई लखेट्न जान्छ भन्ने बुझाइ गलत भइदियो,’ प्रधानले थपे ।

    करिब एक लाख बजेटको त्यो योजना त्यतिबेलै निष्प्रभावी बन्यो । जतिबेला हात्ती लखेट्ने बेलामा मौरीले घार छाड्नै मानेनन् । पिस्कोरको त्यो योजनामा आबद्ध स्थानीय अगुवा गोविन्द न्यौपानेका अनुसार मूलतः बाहुनडाँगीमा हिउँद र वर्षायाममा हात्ती आतंकले उग्र रूप लिन्छ । यो दुवै समयमा मौरी भने निष्क्रिय हुन्छन् । न्यौपाने थप्छन्, ‘तसर्थ मौरीबाट हात्ती लखेट्ने योजना तुहिएको हो ।’

    हात्ती लखेट्ने योजना तुहिएर के भो त, दुई दशकअघि विदेशीले सिकाएको सोही सीप प्रयोग गरेर यतिबेला गाउँलेले आयआर्जनको दरिलो माध्यम बनाएका छन् । ‘मौरीपालन हात्ती प्रभावित गाउँलेमाझ सामूहिक एकता र आयआर्जनको दरिलो माध्यम बनेको छ,’ मेचीनगर–४ का वडा सदस्य पवन बराइलीले भने, ‘मौरीको मह बेचेर आर्थिक आर्जन गर्न थालेका छन् ।’ गाउँलेले उत्पादन गरेको मह नजिकको बजारसँगै सीमापारि नक्सलबारीसम्म पुर्‍याएर बिक्री गर्दै आएका छन् ।

    रोचक के भने मौरी पालेका घरमा हात्तीले बिज्याइँ गरेको छैन । त्यही भएर दुई वर्षयता हात्तीबाट क्षति कम गर्न घरैपिच्छे मौरी पाल्न सुरु भएको छ । स्थानीय गणेश कटुवालले सात घार राखेर मौरी पालिरहेका छन् । ‘बगरमा मौरी छाडेर हात्ती लखेट्न त्यो बेला सम्भव भएन,’ उनले सुनाए, ‘तर, मौरी पाल्नेका घरचाहिँ अहिले सुरक्षित नै छन् ।’

    विज्ञहरूका अनुसार अजंगको जनावर हात्ती मौरीसँग डराउने गरेको छ । मौरीको भुनभुनाहटबाटै हात्ती डरले छेउ नै पर्न सक्दैन । ‘मौरी रातभरि भुनभुनाइरहन्छ,’ स्थानीय चन्द्रबहादुर सुनुवारले अनुभव साटे, ‘यो सुनेपछि हात्ती परै भागिहाल्छ ।’ सुनुवारले घरमा ६ घार राखेर मौरी पालिरहेका छन् । उनी मौरी मात्रै पाल्दैनन्, आकर्षक घार (डुँड) बनाएर गाउँलेलाई बिक्री पनि गर्छन् ।

    सेरेना जातको मौरी पालनबाट हात्ती आतंक न्यूनीकरणसँगै आयआर्जन बढाउन वडा कार्यालयले गत वर्ष तोरी खेतीमा प्रोत्साहन गर्न प्रतिघर एक किलोका दरले तोरीको बीउ वितरण गरेको थियो । अघिल्लो वर्ष करिब ३ सय किलो तोरीको बीउ वितरण भएको वडा कार्यालयले जनाएको छ । यस पटकदेखि वडाले ‘तोरी–मौरी घरलौरी’ भन्ने कार्यक्रम नै सुरु गरेर घरैपिच्छे तोरी फलाउन र मौरी पाल्न प्रोत्साहन गरेको छ । यस पटक करिब ५० बिघा बढी क्षेत्रमा स्थानीयले तोरी खेती गरेको तोरी–मौरी घरलौरी कृषक समितिका अध्यक्ष दिपेन थापाले जनाए । उनका अनुसार तोरी खेतीलाई हात्तीले क्षति गर्दैन भने मौरीका लागि पनि तोरीको फूल उपयुक्त हुन्छ ।

    हात्तीबाट क्षति न्यूनीकरणकै लागि वडाले यो कार्यक्रम ल्याएको थापाले जनाए । तोरी फलाएर शुद्ध तेलसँगै तोरीबाटै मौरीले उत्पादन गर्ने शुद्ध महलाई ‘हात्ती ब्रान्ड’ का रूपमा उपभोक्तामाझ पुर्‍याउने वडाको लक्ष्य रहेको वडाध्यक्ष अर्जुनकुमार कार्कीले जनाए । उनले भने, ‘यसबारे वडाले थप अध्ययन सुरु गरेको छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij