शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

दाइजोले गरिबलाई ऋणको भार

  • प्रकाशित मिति : शनिबार, पुस ७, २०८०



  • महोत्तरी । छोरीको विवाह गर्न सम्पत्ति धितो राखेर ऋण लिएकी महोत्तरी रामगोपालपुरकी हीरादेवी मण्डल अहिले ऋणको भारले थिचिएकी छन् । तीन वर्षअघि जनकपुरको राजश्री फाइनान्सबाट उनले १५ लाख ऋण लिएर दुई छोरीको विवाह गरेकी थिइन् । अहिले ऋण तिर्न नसक्दा धितो राखेको २ कट्ठा १६ धुर जग्गा लिलाम भएको पत्र फाइनान्सले पठाएको छ ।

    त्यत्तिमै उनलाई ऋणले छाडेको छैन । मिटरब्याजमा ४ लाख रुपैयाँ लिएर जेठा छोरा वैदेशिक रोजगारीका लागि कुवेत गए । कान्छो छोरा पनि थप २ लाख रुपैयाँ ऋण लिएर ५ महिनाअघि मलेसिया पुगेका छन् । तर, आफूहरू समस्यामा परेको भन्दै उनीहरूले पैसा नपठाएपछि हीरादेवी अत्तालिएकी छन् । ‘दुवै छोराले काम पाएका छैनन्, पैसा पठाएका छैनन्,’ उनले भनिन्, ‘साहुले यता बस्न दिएको छैन ।’ अहिले ऋण १७ लाख पुगेको उनले सुनाइन् । ‘घरमा बस्नै हुँदैन साहु र संस्था आएर धम्काउँछन्,’ उनले भनिन् ।

    महोत्तरीकै सम्सी–५ का दिनेशप्रसाद यादवले पनि ऋण लिएर छोरीको विवाह गरे । ‘तिलक नदिए छोरीको विवाह नै हुँदैन,’ उनले भने, ‘ऋण नै लिएर दुई छोरीको विवाहमा २५ लाख खर्च गरेको छु ।’ जेठी छोरीको विवाहमा १५ लाख खर्च भएकोमा ५ लाख नगद, मोटरसाइकल, दराज, फ्रिजलगायत घरमा चाहिने सबै सामग्री केटा पक्षलाई दिएको उनले बताए । ‘कान्छी छोरीको विवाह खर्च १० लाख पुग्यो,’ यादवले भने, ‘ऋण तिर्न साढे ४ कट्ठा जग्गा बेचिसकेको छु । अहिले पनि ३३ लाख ऋण तिर्न बाँकी छ ।’ संस्थाहरूले आफूले लिएको भन्दा दोब्बर भएको भन्दै तिर्न दबाब दिइरहेको उनले बताए ।

    बर्दिबास–८ कर्मटोकी घर भएकी सरु चौधरी ६० वर्षकी भइन् । एक वर्षदेखि उनले ऋण लिएको कुनै पनि संस्थाको किस्ता तिर्न सकेकी छैनन् । उनको ऋण २५ लाख रुपैयाँभन्दा बढी छ । तर अहिले घरमा के खाउँ के लाउँको अवस्था भएको उनी बताउँछिन् । छोरीको विवाह गर्न ६ लाख र छोरालाई विदेश पठाउन ३ लाख विभिन्न संस्थाबाट ऋण लिएको उनले सुनाइन् ।

    मलेसिया गएको ६ महिनामै श्रीमान् घर फर्किएपछि महोत्तरी कर्मटोकी इन्द्रकुमारी कलवारलाई पनि ऋणले सास्ती दिएको छ । ससुराको मृत्युपछि घर फर्किएका श्रीमान्को खुट्टा भाँचिएको र आफू बिरामी परेकाले ऋणमाथि ऋण बढ्दै गएको उनले बताइन् । अहिलेसम्म २० लाखभन्दा बढी ऋण पुगेको उनले सुनाइन् । ‘के खाने कसरी बाँच्ने पनि थाहा छैन,’ उनले भनिन्, ‘अब सरकारले हेर्ला कि भनेर आन्दोलनमा आएको हुँ ।’ लघुवित्त संस्था विरोध संघर्ष समितिले मंगलबार महोत्तरीको बर्दिबासमा गरेको जिल्ला भेलामा उपस्थित अधिकांशले उनको जस्तै समस्या सुनाएका थिए ।

    गरिबलाई उठाउनै नसक्ने गरी ऋणको बोझ बोकाएर लगातार दबाब र धम्की दिने साहु र संस्थाविरुद्ध आफूहरूको संघर्ष जारी रहेको संघर्ष समितिकी महोत्तरी अध्यक्ष सिलम यादव बताउँछिन् । अशिक्षा र गरिबीकै कारण पछि परेका समुदायलाई लघु वित्तीय संस्थाहरूले समेत मनोमानी नियम लगाएको उनको आरोप छ । आफ्नो हिसाबले नियम लगाएर गरिबको शोषण संस्था र महाजनहरूले गरिरहेकाले त्यसको विरुद्धमा जिल्ला भेला गरेको उनले बताइन् । उनका अनुसार भेलामा महोत्तरीबाट १ सय ३५ जना पीडित उपस्थित भएका थिए ।

    लघुवित्त संस्थाको मनोमानी राज्यले नै संरक्षण गरेका कारण गरिबहरू दिनदिनै बोक्नै नसक्ने ऋणको भुमरीमा परिरहेको पीडित संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष युवराज रसाइली बताउँछन् । ऋणीले आफूले लिएको कर्जाभन्दा धेरै रकम चुक्ता गरिसकेको अवस्थामा धितो लिलाम भएकाको सम्पत्ति फिर्ता हुनुपर्ने र ऋण मिनाहा हुनुपर्ने मुख्य माग आफूहरूको भएको उनले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij