प्रकाशित मिति : मङ्लबार, पुस १७, २०८०
बारा । प्रहरीले २ करोड भन्दा बढी मूल्यको सामानमा बिलबिजक कम बनाएर राजस्व छली गरेर ल्याइएको सामानसहितको ट्रक नियन्त्रणमा लिएको छ ।
वीरगन्ज भन्सारबाट छुटेर काठामाडाैँ तर्फ जाँदै गरेको ना.४ ख ८३५८ नं ट्रक पथलैया चोकमा चेकजाँच गर्ने क्रममा प्रहरीले सो गाडी नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले आइतबार राती १० बजे नियन्त्रणमा लिएको सामानको सूचना भने सोमवार साँझ मात्रै सार्वजनिक गरेको हो । प्रहरीले नियन्त्रणमा लिएको ट्रकमा ९३ लाख ३६ हजार ६३ रुपैयाँ मूल्य बराबरको खुद्रा सामान रहेको जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
ईप्रका सिमराले सो ट्रकमा २ करोड भन्दा बढी मूल्य बराबरको सामान भएको जनाएको छ । ‘भन्सारसँगको मिलेमतोमा ७ सय रुपैयाँ पर्ने सामानलाई न्युनतम् मूल्य ३ सय रुपैयाँ भन्दा कम देखाएर बिल बिजक भएको छ’ इप्रका सिमरा श्रोतले भन्यो ‘यो सबै सेटिङमा हुन्छ हामीले राजस्व अनुसन्धान कार्यालय पथलैयालाई हाम्रो रोहबरमा सामान सार्वजनिक दबाब दियौ भने सिधै काठमाडौँले गाडी पठाईदे भनेको छ भनेर यहाँ सामान सार्वजनिक नगरी गाडी काठमाडौँ पुग्छ हामीलाई थाहै हुँदैन’
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले सो गाडीमा लत्ताकपडा, कस्मेटिक र मोर्टस् पार्टस भएको बताएका छन् । ‘अन्डर बिलिङको सामान भएकोले हामीले गाडी नियन्त्रणमा लिएका हौँ, अव त्यसमा कतिको सामान छ भन्ने कुरा राजस्व अनुसन्धानले छानबिन गर्ला’ प्रहरी नायव उपरीक्षक न्यौपानेले भने ।
ईप्रका सिमराले २ करोड भन्दा बढी मूल्य बराबरको दाबी गरेको मोर्टस् पार्टस्, कस्मेटिक सामान र लत्ताकपडा सहितको गाडी वीरगन्ज भन्सार कार्यालयबाट कसरी पास भयो भन्ने विषयमा अनुसन्धानको दायरा ल्याउनुपर्ने प्रहरीको भनाई छ ।
यसैगरी अम्लेखगञ्ज प्रहरीले बिलबजक भन्दा बढिको सामान रहेको आशङ्कामा चार वटा भारतीय नम्बर प्लेटको ट्रकलाई नियन्त्रणमा लिएको छ ।
अम्लेखगञ्ज प्रहरीले जितपुरसिमरा वडा नं २१ बाट पीबी १३ बीडी ९१८८, एचआर ४५ सी ९६८०, डब्लुबी २३ सी २८७३ र डब्लुबी ०३ डी २५१६ नम्बरको भारतीय ट्रकबाट बिल विजकभन्दा बढी हार्डवेयर सामग्रीहरू बरामद गरेको हो ।
जिल्ला प्रशासन कार्यालय बाराका प्रहरी प्रवक्ता न्यौपानेले ट्रकबाट बरामद सामग्रीको अनुमानित मूल्य १ करोड ६४ लाख ४८ हजार ५ सय ८ रुपैयाँ रहेको बताएका छन् । प्रहरीले चार वटै ट्रक र बरामद सामग्रीलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको उनले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij