प्रकाशित मिति : सोमवार, पुस २३, २०८०
दाङको तुलसीपुरमा श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ लाग्ने भएको छ। तुलसीपुर ५ स्थित अरनिको मैदानमा माघ १३ गतेदेखि २० गतेसम्म मानवसेवा आश्रमको मानवीय स्मारक भवन निर्माणार्थ महायज्ञ लगाउन लागिएको महायज्ञ मुल आयोजक समितीले जनाएको छ ।
सोमबार तुलसीपुरमा पत्रकार सम्मेलन गर्दै मानवताको कुनै सिमा हुदैन भन्ने मुल भावनाका साथ सहयोगापेक्षी सडक आश्रीत मानव र कष्टकर जीवन बिताइरहेका व्यक्तिहरुका लागि श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ लगाउन लागिएको हो । महायज्ञको कथा वाचन ‘‘ भागवत भास्कर श्रद्धेय गुरु कमलनयन गौतम’’ ले गर्ने छन् ।
तुलसीपुर उपमहानगरपालिका ४ स्थित कालिकामालिका मन्दीर ब्यबस्थापन समितिले १ विगाह २ कठ्ठा जमिन प्राप्त भएको र सो स्थानमा मानव सेवा आश्रमको मानवीय स्मारक निर्माणका लागि महायज्ञ लगाउन लागिएको मुल आयोजक समितीका संयोजक डिल्ली बहादुर बस्नेतले जानकारी दिए ।
मानवीय स्मारक निर्माणका लागि करिब १५ करोडको लागत अनुमान गरिएको र महायज्ञबाट ५ करोड आर्थिक संकलन गर्ने लक्ष्य राखिएको मानवसेवा आश्रम लुम्बिनी प्रदेश महासचिव शुशिला केसीले जानकारी गराइन् ।
उनका अनुसार दाङ जिल्लालाई महायज्ञसंग जोड्ने उद्देश्यसहित तुलसीपुर, घोराही, लमही, भालुवाङ लगायतका क्षेत्रमा क्षेत्रगत ९ जना सह-संयोजकहरु मनोनयन समेत गरिएको छ ।
महायज्ञ सन्चालन गर्नुपुर्व माघ ७ गते मानवसेवा आश्रमको मानवीय स्मारकको शिलान्यास हुने भएको छ। उक्त स्मारकको शिलान्यास लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले गर्ने भएका छन् । यसैगरी महायज्ञको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्ने कार्यक्रम रहेको उनले बताइन् ।
उनका अनुसार तुलसीपुर उपमहानगरपालिका -६ स्थित गाइडहरमा अवस्थित मानव सेवा आश्रममा हाल ७५ जना आश्रीत छन् भने आश्रममा हालसम्म ३ सय ५० भन्दा बढी सडक आश्रीत मानवको उद्दार गरिएको छ। स्थापनाकाल देखि अहिलेसम्म ४३ जनाको पारिवारिक पुनर्मिलन भएको छ भने १९ जनाको आश्रममै निधन भएको उनले जानकारी दिइन् ।
श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ मुल आयोजक समितिका संयोजक डिल्ली बहादुर बस्नेतको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण प्रचारप्रसार उपसिमितिका संयोजक सुशील बस्नेतले गरेका थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij