प्रकाशित मिति : बिहिबार, पुस २६, २०८०
काठमाडौं । बलिउड फ्यानहरूले लामो समयदेखि अपडेटको लागि उत्सुकताका साथ प्रतिक्षा गरिरहेका सिक्वेलमध्ये एउटा थियो ‘डन ३’। फरहान अख्तरद्वारा निर्देशित यो फ्रेन्चाइजमा एक दशकभन्दा बढी समयदेखि शाहरुखलाई डनको भूमिकामा हेर्न मानिसहरू पर्खिरहेका थिए। तर गत वर्ष मात्रै घोषणा अब रणवीर सिंह डनको भूमिकामा देखिने घोषणा गरियो ।
‘डन ३’ को कास्टमा अब अर्का शक्तिशाली अभिनेता देख्न सकिने खुलासा भएको छ, जसको चर्चा यतिबेला चलिरहेको छ । न्युज १८ को रिपोर्ट अनुसार इमरान हाशमी ‘डन ३’ मा जोडिँदैछन । उनले फिल्ममा खलनायकको भूमिका निर्वाह गर्ने बताइएको छ । फ्यानहरूले रणवीर सिंह र इमरान हाश्मीबीचको प्रतिस्पर्धा ठूलो पर्दामा हेर्न पाउनेछन्।
यद्यपी यस समाचारको बारेमा आधिकारिक जानकारी भने आएको छैन । तर हालै इमरानलाई फरहान अख्तरको अफिसबाट बाहिर निस्किएको देखियो । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा इमरान फरहानको अफिस बाहिर देखिन्छन् ।
भिडियोमा उनले कालो रंगको हुडी स्टाइलको स्वेटसर्ट र जिन्स लगाएका छन् । यहाँ उनी क्यामेराको लागि पोज दिँदै र त्यहाँ उपस्थित फ्यानहरूसँग रमाइलो कुराकानी गरिरहेको देखिन्छ। इमरानको यहाँ उपस्थितिले उनी ‘डन ३’ मा काम गर्न निर्मातासँग छलफल गरिरहेको चर्चालाई थप बल दिएको छ ।
केही महिना अघि रिलिज भएको सलमान खानको फिल्म ‘टाइगर ३’ मा इमरान हाशमी खलनायकको भूमिकामा देखिएका थिए । फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेन तर फिल्ममा इमरानको कामको निकै प्रशंसा भएको थियो । ‘डन ३’ मा इमरानको कामको आधिकारिक पुष्टि नभए पनि यदि उनी फिल्ममा रणवीरसँग प्रतिस्पर्धा गर्ने देखिए भने दर्शकले हलमा निकै रमाइलो गर्नेछन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij