प्रकाशित मिति : शनिबार, माघ ६, २०८०
सशस्त्र प्रहरी बलले नेपाल–भारत मुख्य सीमानाकामा सौन्दर्यीकरणको काम सुरु गरेको छ। भारतबाट आउनेहरुलाई नेपालप्रति सकारात्मक प्रभाव पार्न सशस्त्र प्रहरीले मुख्य नाकाहरूमा सरसफाई तथा सौन्दर्यीकरण गर्न थालेको हो।
सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काकाअनुसार गत साता बाँकेको जमुनाहा नाकाबाट सौन्दर्यीकरणको काम सुरु गरिएको हो। अन्य नाकामा पनि यसलाई निरन्तरतता दिइने उनले बताए। २३औं सशस्त्र प्रहरी दिवसको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा यससम्बन्धी जानकारी दिइएको हो।
साथै दशगजा क्षेत्र खाली गराउने अभियान चलाइएको र हालसम्म ३८ स्थानमा पाँच सय ५६ घरटहरा हटाइएको एसएसपी खड्काले बताए। भारतीय सशस्त्र सीमा बलसँगको समन्वयमा दशगजा क्षेत्र खाली गराउन थालिएको हो। जसअन्र्तगत १३.३२ बिघा क्षेत्रमा खेती गर्न रोक लगाइएको छ।
२३औं सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्रले देशैभरी क्वीक इम्प्याक्ट प्रोजेक्ट चलाएको छ। जसअन्तर्गत काठमाडौंमा पशुपतिनाथ मन्दिरमा ह्वीलचेयर सहयोग गरेको छ भने गोलढुंगास्थित किरियापुत्री धाममा स्नान गृह निर्माण गरेको छ।
सशस्त्र प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले यो प्रोजेक्ट देशैभरी सञ्चालन गरिएको प्रवक्ता खड्काले जानकारी दिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij