शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

एमबिबिएसतर्फ पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल सार्की भन्छन्- “दश हजार जति जोहो गर्न पाए हुन्थ्यो”

  • प्रकाशित मिति : सोमवार, माघ ८, २०८०



  • कञ्चनपुर। मेधावी विद्यार्थी चिकित्सक बन्ने सपना बोकेर तयारीका लागि काठमाडौँलगायत सुविधा भएको सहरमा पुग्छन् । चिकित्सा विषयको स्नातक तह (एमबिबिएस)को प्रवेश परीक्षामा सफल हुनुका साथै पूर्ण सरकारी छात्रवृत्तिमा पढ्न विद्यार्थीले निकै मेहनत गर्नुपर्छ।

    कञ्चनपुरको भीमदत्त नगरपालिका-१० जिमुवाका दलित समुदायका एक विद्यार्थीले आर्थिक अभावकै कारण घरमै बसेर पूर्ण सरकारी छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्न नाम निकाल्न सफल भएका छन् ।

    यहाँको भीमदत्त-१० का १७ वर्षीय ललित सार्कीले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबिबिएस प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका हुन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययनका लागि जानुपूर्व यतिबेला स्थानीय सरकारसँग सहयोगका लागि आग्रह गरिरहेका छन्।

    “बुबा आठ वर्षदेखि मानसिक रोगबाट ग्रसित र आमा मायादेवी घरमा चटाँइ बेचेर परिवारको खर्च चलाउनुहुन्छ”, ललितले भने, “हामीसित जम्मा एक कट्ठा जग्गा मात्रै छ, मैले लगानी गरेर एमबिबिएस अध्ययन गर्छु भन्नु सपनाजस्तै हुन्छ ।”

    गाउँकै सिद्धनाथ माध्यमिक विद्यालयबाट २०७८ सालमा माध्यामिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका ललितले महेन्द्रनगरस्थित रेडियन्ट क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह पूरा गरेका थिए।

    यही माघको अन्तिमतिर अध्ययनका लागि काठमाडौँ जाने तयारी गरिरहेका ललितले काठमाडौँ बसाईका लागि आर्थिक सहयोग माग्दै भीमदत्त नगरपालिका धाइरहेको बताए।

    “पढ्नका लागि छात्रवृत्ति पाए पनि काठमाडौँ बसाईका लागि मासिक रु दश हजार जति जोहो गर्न पाए हुन्थ्यो”, उनले भने, “दाइले भारतमा मजदुरी गरेर कमाएको पैसाले घरमा छाक टार्न पनि मुस्किल पर्छ ।”

    उनले रकम अभावकै कारण एमबिबिएसको तयारीका लागि काठमाडौँ जान नपाएको स्मरण गराए। “परीक्षाका बेला मात्रै साथीकोमा तीन दिन बसेर काठमाडौँबाट फर्किए” उनले भने, “त्यो परीक्षामा कञ्चनपुरबाट दुई जनाले मात्रै नाम निकाल्न सफल भयौँ ।”

    अध्ययनमा अब्बल सावित बन्दै गएका उनलाई आइतबार भीमदत्त नगरपालिकाको पाँचौँ स्थापना दिवसका अवसरमा सम्मानित गरिएको छ । उनले सरकारी विद्यालयबाट अध्ययन गरी एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेको जनाउँदै ‘एन डी प्रकाश चटौत युवा प्रतिभा पुरस्कार’बाट सम्मानित गरिएको हो ।

    “नगरपालिकाबाट अध्ययनका लागि सहयोग पाउनेमा आशावादी छु”, ललितले भने, “आजको सम्मानले थप हौसला प्रदान भएको छ ।” त्यसैगरी भीमदत्त-१० का वडासचिव गगन नाथ छात्रवृत्तिका लागि छनोट भएका वडावासी सार्कीलाई अध्ययनका लागि थप सहयोग गरिदिन भीमदत्त नगरपालिकामा पहल भइरहेको बताए।

    “वडाबाट हामीले नगरपालिकालाई पत्राचारसमेत गरेका छौँ”, वडासचिव नाथले भने, “वडाले अध्ययनका लागि जेहेन्दार विद्यार्थीलाई आवश्यक सहयोग र सहयोगका लागि माथिल्लो निकायमा पहल गर्दै आएको छ।” रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij