प्रकाशित मिति : बुधबार, माघ १०, २०८०
घोराही । जनयुद्धमा तीनजना आफन्त गुमाएको अमर पुन र मनिषाको परिवारले सहिद संग्रहालय बनाउने भएको छ ।
घोराही–१३ डुमरगाउँमा जनयुद्धका सहिद संग्रहालय स्थापना गरी देशैभरका सहिद परिवारको भिडियो, सहिदको गाथा लेखिएको पुस्तकलगायत प्राप्त सबै प्रमाण राखिने छ । वैदेशिक रोजगारको लागि १५ वर्ष अमेरिका बस्नुभएका पुनले अब उता नजाने गरी देशमा फर्किएको घोषणा गर्नुभयो । परिवारसहित अमेरिका जाने लहर चलेको बेला पुन भने स्वदेश फर्किनुभएको छ । विदेशमा स्वतन्त्र हुन नसकिने र योगदान पनि नदेखिने भन्दै यहीं बस्ने बताउनुभयो । फाउन्डेसन स्थापना गरेर पार्टी र सहिद परिवारको दूरी घटाउने वताउनुभयो ।
पूर्व उपराष्ट्रपति नन्द किशोर पुनलाई बचाउन खोज्दा २०५१ मंसिर ९ गते साइँला मन बहादुर पुनको रोल्पाको चप्कामा ज्यान गएको थियो । आफ्ना कमाण्डर बचाउन पुन र लोकबहादुर घर्तीले छातीमा गोली थाप्नुभएको थियो । त्यसैगरी जेठा खड्कबहादुर पुन २०५८ सालमा सहिद हुनुभयो । माइला खर्कसिंह पुनलाई २०६१ सालमा तत्कालीन सुरक्षा फौजले वेपत्ता पारेको थियोे । यसरी पुनका परिवारबाट तीनजनाले जनयुद्धका क्रममा सहादत प्राप्त गर्नुभयो । रोल्पाको परिवर्तन–६ आहमा सहिद आमा मंगली पुन हुनुहुन्छ । उहाँबाट आउँदो फागुन १ गते फाउन्डेशनको शुरुवात गर्ने मनिषाले बताउनुभयो । उहाँका अनुसार फाउन्डेसनमार्फत देशका सात सय ५३ वटै पालिकामा पुगेर सहिद परिवारको खोजी गरिने छ । उहाँहरुको भेटेजतिको विवरण संकलन हुनेछ । उचित सम्मान हुन नसकेको महसुस गरेका सहिद परिवारलाई राहतको महसुस गराइने छ । संग्रहालयको लागि घर निर्माणको काम अघि बढाइएको छ ।
‘पार्टीले उठाउनुपर्ने र नेतृत्वले गर्नुपर्ने काम थाल्नु भएको छ’– माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य नारायणी शर्माले भन्नुभयो– ‘देशभरका सहिदको संग्रहालय स्थापना गर्ने यो ठूलो लक्ष्य हो ।’ उहाँले भन्नुभयो– ‘माओवादी सक्ने कोसिस भएको छ । त्यसलाई चिर्ने योजना अघि बढेको महसुस भयो । यसले पार्टीलाई नयाँ योजना अघि बढाउने प्रेरणा दिएको छ । सहिद परिवारमा नयाँ आशा र आत्मविश्वासको वातावरण पैदा गर्नेछ । माओवादी जनयुद्धलाई अपराधिकरण गर्ने विरुद्धको गतिलो हतियार हुनेछ ।”
‘सहिदलाई सम्मान गर्ने काम प्राथमिकतामा परेन’– माओवादीका केन्द्रीय सदस्य एवं दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यले भन्नुभयो– ‘सहिद भुलेजस्तो, नेताहरु पदलोलुप भएजस्तो देखियो । अब विशेष रुपान्तरण हुनुपर्छ भनेर पार्टीले महाधिवेशनबाटै निर्णय गरेको छ । छुटेको सहिद सम्मानको काम प्राथमिकताका साथ अघि बढाइनेछ ।’ उहाँले नमुना काम गरेको भन्दै पार्टीका तर्फबाट पुन परिवारलाई धन्यवाद दिनुभयो । युद्धको औचित्य पुष्टि गर्न जरुरी रहेको र पुन परिवारबाट सकारात्मक शुरुवात भएको केन्द्रीय सदस्य आचार्यले बताउनुभयो ।
प्रतिष्ठानमार्फत सहिदका बच्चालाई सहयोग, सहिद परिवारको पक्षमा कलम चलाउने लेखक पत्रकारलाई सम्मान गरिने पुन परिवारले जनाएको छ । सहिद परिवारका विशेष रिपोर्ट तयार गर्ने, पार्टीले सहिद परिवार बिर्सियो कि ? सहिद परिवार र पार्टीको दूरी बढ्यो कि ? हिजो सहिद आमा नमस्कार भन्ने छोरा छोरी अहिले कता हराए ? फाउन्डेशनले त्यसको खोजी गर्नेछ । सराहनीय काम भन्दै पार्टीका प्रदेश सचिवालय सदस्य मिलन डाँगीले पूर्णसहयोग गर्ने प्रतिबद्धता जनाउँदै रगत बगेकै भूगोल चप्काबाट शुरु गर्न आग्रह गर्नुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij