प्रकाशित मिति : शनिबार, फाल्गुन ५, २०८०
घोराही । घोराही उपमहानगरपालिकालाई लैंगिक हिंसा नियन्त्रित पालिका बनाउन सञ्चारकर्मीको भूमिका बढाउन आग्रह गरिएको छ ।
घोराही उपमहानगरपालिका महिला बालवालिका तथा सामाजिक विकास शाखाले सञ्चारकर्मी तथा सरोकारवालाहरुसँग आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रममा सञ्चारकर्मीहरुको भूमिका बढाउनुपर्नेमा जोड दिइएको हो । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले हिंसा न्यूनीकरण गर्न सचेतना फैलाउने कार्यमा सञ्चारमाध्यमको भूमिका उल्लेखनीय हुनुपर्ने बताए ।
पालिकालाई हिंसा नियन्त्रित पालिका घोषणा गर्ने प्रक्रिया र न्यूनीकरण अभियानका विषयमा सहजीकरण गर्दै अधिकारकर्मी विकिरण गौतमले लैंगिक हिंसा न्यूनीकरण गर्न सोचमा परिवर्तन आवश्यक रहेको बताउनुभयो । अहिले पनि प्रथा, पर्व, चलनका नाममा सामाजिकरुपमै लैंगिक हिंसालाई टेवा दिने काम भइरहेको प्रति चिन्ता व्यक्त गर्दै सहजकर्ता गौतमले सामाजिक सचेतनाका लागि सञ्चारकर्मीहरुले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा सामाजिक संघ संस्थाहरुको भूमिका र घोराही उपमहानगरपालिकालाई लैंगिक हिंसा नियन्त्रित पालिका घोषणा गर्न सक्दो सहयोग गर्न आग्रह गरिएको थियो । आफ्ना नियमित कार्यक्रमहरुलाई पालिकाको अभियानमा जोड्न आग्रह गर्दै सबैको एकमुष्ट प्रयासले लैंगिक हिंसा नियन्त्रण गर्न सकिने सरोकारवालाहरुको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले लैंगिक हिंसा न्यूनीकरणमा सञ्चारकर्मीहरुको भूमिकाका विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोती विश्वकर्माले गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि र पत्रकारहरुको सहभागिता थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij