शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

परम्परागत सिप जोगाउन छैन पहल

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ५, २०८०



  • रोल्पा/रोल्पाको जेलबाङ, गाम, जंकोट र होमा गाउँमा बनाइएका चाँखी अर्थात् जाँतो निकै प्रसिद्ध छ । स्थानीयले कडा मेहनत गर्दै ढुंगा कुँदेर जाँतो तयार पार्छन् । यो चलन निकै पुरानो हो यद्यपि अहिले पनि गाउँमा यही चलन पछ्याइएको छ । हातले कुदेको जाँतो लोकप्रिय मानिन्छ ।

    यी गाउँहरुमा जाँतो बनाउने पुर्खादेखिको सिप हराउने क्रममा रहेको छ । स्थानीय तह र सरकारले चासो नदेखाउने हो भने छिटो नै ढुंगा कुदेर जाँतो बनाउने पेशा पनि हराउनेछ । ‘यो पेशा लोपोन्मुख अवस्थामा पुगिसकेको छ ।’ पूर्वी रोल्पास्थित सुनछहरी गाउँपालिका–५ जैमाकसला थनबाङ निबासी पत्रकार जुनिसकुमार विष्ट भन्छन्, ‘हामीले देख्दादेख्दै यो चलन हराउन लाग्यो । बचाउन नसके अवश्य लोप हुनेछ ।’ उनले आफ्नै गाउँमा जाँतो बनाएको सानै उमेरदेखि देख्दै आए । मुख्य गरी थनबाङमा यो पेशा निकै पहिलेदेखि अपनाउने गरिएको छ । यो सिप पुर्खादेखि सिक्ने र पेशाका रुपमा पछ्याउने गरिएको हो । धेरै अघिसम्म अन्न पिस्ने माध्यमको रुपमा जाँतोको विकल्प नै थिएन ।

    स्थानीयका अनुसार २०१३ साततिर गाउँमा जाँतो बनाएर बुदे बिष्ट, लोन्द्रे विष्ट र प्रमाण खत्री लगायतका मानिसले यो चलन भित्र्याएको भनाइ छ । गाउँमा राम्रो पक्की ढुंगा पाइने भएकाले कृषि र पशुपालन जत्तिकै जाँतो बनाउने पेशालाई स्थानीयले मान्दै आएका हुन् । यो क्रम निरन्तर छ । सुनछहरीमा मगर समुदायको बाक्लो बसोबास भएपनि थनबाङका विष्ट, खत्री र केही दलित समुदायले मात्रै जाँतो बनाउने पेशा खंगालेका छन् । स्थानीय रिमु खत्री भन्छन्, ‘यो पेशा हाम्रा पुर्खाले गर्दै आएका हुन् । निकै दुःख गरेर पनि कमाई र सिपका लागि यो काम गर्ने गरिएको छ ।’ राम्रोसँग बिक्री भए जाँतोबाट प्रशस्त आम्दानी हुने स्थानीयको भनाई छ ।

    तत्कालीन सशस्त्र द्वन्द्वका बेलामा भने यो पेशा गर्नेहरु विस्थापित भए । राज्य र माओवादी पक्षबाट अफ्ठेरो आइपरेपछि केही वर्ष यो पेशा बन्द नै गर्नुपर्‍यो । पछि शान्ति प्रक्रिया थालेपछि भने पुनः स्थानीयले यो पेशा गर्न थालेको रिमुले बताए । तत्कालीन जिल्ला विकास समितिका सदस्य रहेका रिमु पनि माओवादी सशस्त्र द्वन्द्वका कारण सदरमुकाममा विस्थापित भएका थिए । उनका अनुसार जाँतो बनाउने सिप भएकालाई माओवादीले हतियार बनाउन र यस्तै अन्य सामरिक कार्यमा लगाउने गरेपछि जाँतो बनाउने काम नै बन्द भयो ।

    जाँतो बनाउन बलियो तर हल्का मात्रै कडा प्रकारको ढुंगाको प्रयोग हुन्छ । गाउँमा यस प्रकारको ढुंगालाई चाँखी बनाउने ढुंगा पनि भन्छन् । एउटा जाँतोको मूल्य अहिले करिब २ हजार ५ सय देखि ४ हजारसम्म छ । स्थानीयले करिब ५० वर्षअघि जाँतोको मूल्य ५ रुपैया मात्रै रहेको बताए । स्थानीय मिस्त्रीका रुपमा चिनिएका जिते विटालुले समयसँगै जाँतोको मूल्य पनि बढेको बताए । पहिले पहिले जाँतो बेच्न रोल्पा सदरमुकाम लिबाङसहित रुकुम, दाङ, प्युठान र सल्यानसम्म पुग्नुपर्थ्यो भने अहिले यातायातको साधन पुगेकाले गाउँमै बिक्री हुने गरेको छ । तर स्थानीय बृद्ध कर्णबहादुर विष्टले २०२८ सालमा जाँतो बेच्न रुकुम पुग्दा त्यसको मूल्य १ सय रुपैया परेको स्मरण गरे ।

    जाँतोको प्रयोग कम हुनुमा आधुनिक विकास र नयाँ प्रविधिको प्रयोग भएको स्थानीयको बुझाई छ । अचेल गाउँघरमा विजुलीबाट चल्ने मिल जडान गरिएको छ । त्यसैमा स्थानीयले अन्न पिस्ने काम गर्छन् । आधुनिकतासँगै परम्परागत जाँतोको प्रयोग कम भएपछि माग पनि घटेको हो । जाँतो बनाउने मिस्त्री निमै बिष्टका अनुसार आधुनिकताले हाम्रो सिपप्रति नकारात्मक असर पारेको छ । अर्कातिर नयाँ पिंढीले यो सिप सिक्ने जाँगर गरेको पाइँदैन ।

    जाँतो बनाउने ढुंगाबाट अचेल मिस्त्रीहरुले पानी घट्ट, गमला, सिलौटो र भगवानका मूर्ति पनि बनाउने गरेका छन् । यसतर्फ भने सबैको ध्यान जाने गरेको छ । जाँतोको प्रयोग कम भएपछि परम्परागत सिपको संरक्षणमा समस्या आएको अर्का मिस्त्री जसमन विष्टको धारणा छ । उनका अनुसार आधुनिकताको प्रभाव र सजिलो जीवन भोगाईका कारण मानिसहरुले परम्परागत सिप सिक्न र प्रयोग गर्न समेत छाड्ने गरेका छन् । समयमै परम्परागत सिप जोगाउन नसके कुनैबेला पछुताउनुपर्ने अवस्था आउने उनको दाबी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij