शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

म्याग्दीको टोड्केमा ढकमक्क लालीगुराँस फुलेपछि

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २८, २०८०



  • म्याग्दी ।  प्रकृतिसँग रमाउनेको लागि गुराँस फुलेर रङ्गीएको म्याग्दीको टोड्के क्षेत्रको जङ्गल आकर्षक गन्तव्य बनेको छ ।  रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको अवस्थित टोड्केको उचाइ समुद्री सतहदेखि दुई हजार तीन सय मिटर हो ।

    टोड्केका अनिल बुढाथोकीले गुराँस फुल्न थालेपछि म्याग्दीका साथै छिमेकी जिल्ला र देशका विभिन्न ठाउँबाट पर्यटक आउन थालेका बताए । “पाखामा ढकमक्क गुराँस फुलेर रङ्गिएपछि बिदा मनाउन टोड्के आउनेको लर्को लागेको छ”, उनले भने, “टोड्केको दायाँ र बाँया रहेको जङ्गलमा ढकमक्क लालीगुराँस फुलेपछि मनमोहक बनेको छ ।”

    मङ्गला-२ सहश्रधारादेखि नवविवाहित श्रीमतीलाई लिएर आइतबार टोड्के आएका आरुस किसानले स्वच्छ हावापानी र शान्त वातावरणले तन÷मन चङ्गा बनाएको अनुभव सुनाए । “गुराँस, चराको चिरविर आवाज र हिमालको दृष्यले लठ्ठै बनायो”, उनले भने “हिमाल हेर्दै गुराँससँग रमाउँदा दिन बितेको पत्तै भएन ।”

    गुराँसले ढाकेको वनमा चराको आवाज सुनेर डुल्दा रमाइलो महसुस र तनावमुक्त भइने मङ्गला गाउँपालिका-१ पूर्णगाउँका ७० वर्षीय दुर्गादत्त आचार्यले बताए । आचार्यले आइतबार टोड्केमा पुगेर गुराँसका बोटमा रमाउने र फोटो खिचाएर फर्किए । टोड्केमा गाडा रातो र रातो रङको गुराँस पाइन्छ ।

    गुराँसको फूलबाट जुस बनाउनका लागि अध्ययन गर्न काठमाडौँबाट केही दिनमा प्राविधिक टोली टोड्के आउन लागेको होटल व्यवसायी भीम शेरचनले बताए । गुर्जा, चुरेन, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे« र लमजुङ हिमालको लामो लर्कनलाई एकै ठाउँबाट अवलोकन गर्न पाउनु टोड्केको प्रमुख विशेषता हो ।

    हिमालसँग आँखा जुधाएर योग र ध्यानमा रमाउन सकिन्छ । यहाँ उत्पादन भएको मुला, आलु र सिमिका परिकारको स्वाद लिन सकिन्छ । स्वर्गद्वारी महाप्रभुलगायत धेरै सन्तले तपस्या गरेका टोड्केको धार्मिक महत्व पनि छ । डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ । शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो । स्वर्गद्वारी, शिष्य पुजारी महाराज र रखाल महाराजलगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिङ्ग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा हुन् । आश्रम परिसरमा गौशाला पनि रहेको छ ।

    टोड्के नजिकैको सिद्ध सामुदायिक वनमा उद्यान निर्माण गरिएको छ । सो ठाउँमा यस वर्ष गुराँस पार्क बनाउन रु पाँच लाख बजेट विनियोजन भएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीले बताए । टोड्केमा खान र बस्नको लागि सुविधायुक्त होटलको सुविधा छ ।

    टोड्के घुमेर फर्कदा याममा मुला, बेसिजनमा अचार र धजरा कोशेली लैजान पाइन्छ । बेनीबाट गाडीमा टोड्के पुग्ने पाँच वटा सडक छन् । बेनी-अर्थुङ्गे-झिँ हुदै टोड्के (१९ किलोमिटर), बेनी-अर्थुेङ्ग-पात्लेखेत-वाखेत गाउँ हुँदै टोड्के (१५ किलोमिटर) र बेनी-अर्थुङ्गे-पुलाचौर-डडुवा-पूर्णगाउँ हुँदै टोड्के (१४ किलोमिटर) दूरीको सडक प्रयोग गर्न सकिन्छ ।

    उनान्तीस किलोमिटर दूरीको बेनी-सिम-कुहँ-पूर्णगाउँ हुदै टोड्के जोड्ने सडकबाट आवतजावत गर्ने क्रममा प्राकृतिक उपचारस्थल सिंगा तातोपानीमा स्नान गर्न र रमाउन सकिन्छ । उन्नाइस किलोमिटर दूरीको बेनी-गलेश्वर-पात्लेखेत-वाखेत-टोड्के सडकमा धार्मिकस्थल गलेश्वर धामको दर्शन गर्न सकिन्छ ।

    पैदलयात्रा गर्न चाहनेका लागि बेनीदेखि अर्थुङ्गे-पछै-ढोलथान-केभहिल-जगन्नाथ-ढडेकोट दरबार-टोड्के पुगिने पुरानो घोरेटो बाटो पनि छ । टोड्केको पूर्वोत्तर दिशामा झीँ, पूर्वमा वाखेत, दक्षिण पश्चिममा पूर्णगाउँ र पश्चिममा कुहुँगाउँ छन् ।

    धौलागिरि हिमालको सम्मुखमा मगर बाहुल्य बसोबास रहेको झिँ गाउँबाट टोड्के पुग्ने व्यवस्थित पदमार्ग पनि छ । झिँ र पूर्णगाउँबाट एक घन्टा उकालो हिँडेपछि टोड्के पुगिन्छ । यी गाउँमा होमस्टे (घरवास)को सुविधा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij