प्रकाशित मिति : बुधबार, फाल्गुन ३०, २०८०
बिनिता शर्मा,काठमाडौ। प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जनालाई पक्राउ गरेको छ ।


झापा जिल्लाको बिर्तामोड नगरपालिका-४ स्थित सन्जोग होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय २० मिलिग्राम र नगद ८ हजार २ सय २५ रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-९ प्रणामी टोल बस्ने २४ वर्षीय अनुप भट्टराई र पाँचथर फिदिम नगरपालिका घर भई झापा बिर्तामोड नगरपालिका-३ बस्ने २७ वर्षीया सन्जु राई रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ र नगदसहित पक्राउ गरेको हो।
यसैगरी झापा जिल्लाको दमक नगरपालिका-३ बेलडाँगीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम र नगद ७ हजार ८ सय २० रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय सबहादुर लिम्बु सुब्बा र सोही नगरपालिका-२ बस्ने २७ वर्षीय मनाङ लिम्बु रहेका छन् । प्रहरी चौकी बेलडाँगीबाट खटिएको प्रहरीले सबहादुरको कोठाको जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
यसैगरी झापा जिल्लाको मेचिनगर नगरपालिका-६ मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्रामसहित दमक नगरपालिका-५ पारुहाङ टोल बस्ने ३५ वर्षीय सुबास बानियालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
पर्सा जिल्लाको वीरगंज महानगरपालिका-८ लिङ्करोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट ३ ट्याबलेटसहित सोही महानगरपालिका-१५ बस्ने २५ वर्षीय सुशिल कुमार सिंहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बर्दिया जिल्लाको मधुवन नगरपालिका-६ बस्ने २० वर्षीय सुवास सुनार समेत २ जनालाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ५० मिलिग्रामसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सानोश्री र ढोढरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका-९ बाट अवैध लागूऔषषध ब्राउनसुगर १ ग्राम ६ सय ७० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने २४ वर्षीय मोहमद अस्लाम र ३३ वर्षीय नबराज खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
कैलाली जिल्लाको गोदावरी नगरपालिका-१ बसन्तपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ३० मिलिग्रामसहित बझाङ केदारस्यु गाउँपालिका-७ बस्ने ३८ वर्षीय खडक धामी समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको, प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij