प्रकाशित मिति : शनिबार, चैत्र १०, २०८०
बिनिता शर्मा,काठमाडौ। नेपाल प्रहरीका महानिरीक्षक IGP बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा कमाण्डो तालिमको दिक्षान्त समारोह सम्पन्न भएको छ ।

नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा संचालित नवौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह IGP कुँवरको प्रमुख आतिथ्यमा सोही महाविद्यालयमा शुक्रबार सम्पन्न भएको छ ।
समारोहमा IGP कुँवरले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गर्नुभयो ।
IGP कुँवरले सम्बोधनको क्रममा नेपाल प्रहरीकै अत्यन्त कठिन, मानसिक र शारीरिक दुवै पक्षबाट चुनौतिपूर्ण रहेको यस तालिम सफलता पूर्वक सम्पन्न गर्नुहुने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई बधाई दिनुभयो । नेपाल प्रहरीले सामना गर्नुपर्ने विविध चुनौतिहरू र समस्याहरू मध्ये विशेष तवरको युक्ति तथा कलाको आवश्यकता पर्ने कार्यक्षेत्रको पहिचान गरी आवश्यक पर्ने दक्ष जनशक्ति दिक्षित गर्न यस महाविद्यालयले
प्रशिक्षणमा पुर्याएको उल्लेखनीय योगदानको सराहना उहाँले गर्नुभयो ।


IGP कुँवरले विविध युक्तिकला, हातहतियार र विष्फोटक पदार्थ ह्याण्डलिङ जस्ता पक्षहरूमा मात्र पोख्त नभई विशेष परिस्थितिहरू एवम् शारीरिक तथा मानसिक थकानले प्रस्तुत गर्ने चुनौतिहरूको समेत सामना गर्न योग्य विशेष क्षमताले सुसज्जित यस तालिम प्राप्त गर्ने प्रहरी कर्मचारीहरू विशेष हुने चर्चा गर्नुभयो । तालिमको अवधिमा प्राप्त गरेका सीप र कौशल प्रहरीको व्यावसायिक जीवनमा मात्रै नभई व्यक्तिगत
जीवनका अन्य कैयौँ पक्षमा समेत उपयोगी र लाभदायक हुने उहाँले उल्लेख गर्नुभयो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त समारोहमा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक भोला बहादुर रावलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
समारोहमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक हरि प्रसाद पौडेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ६ जना, प्रहरी सहायक निरीक्षक १८ जना र प्रहरी जवान ९० जना गरी जम्मा १ सय १४ जनाको सहभागिता रहेको जानकारी दिनुभयो ।
उक्त समारोहमा प्रशिक्षार्थीहरुले इमिडियट एक्सन ड्रिल अन्तर्गत फायर एण्ड मुभ अभ्यास, होस्टेज रेस्क्यू अपरेसन डेमोन्स्ट्रेसन, स्याण्ड मोडल बिफ्रिङ, हतियार खोलजोड डेमोन्स्ट्रेसन, बाधापार डेमोन्स्ट्रेसन तथा अनआर्म कम्ब्याट समेत प्रदर्शन गरेका थिए ।
समारोहमा सुनवल नगरपालिकाका प्रमुख, रामग्राम नगरपालिकका प्रमुख, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जन प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको, प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।




© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij