प्रकाशित मिति : बुधबार, चैत्र १४, २०८०
देउखुरी । राप्ती गाउँपालिका–६ बगरापुर निवासी छुनाराम चौधरी र उहाँको परिवार गाउँलेको नाकाबन्दीमा परेको एक हप्ता भयो । बाटोको निकास नदिएको भन्दै छुनाराम चौधरीको घर हरेक दिन २५ जना गाउँलेहरुले घेराउ गर्दै आएका छन् । तर प्रहरी, प्रशासन र स्थानीय सरकार भने मौन बसेका छन् ।
स्थानीय तहको न्यायिक समिति, गाउँपालिका र वडा कार्यालयका जनप्रतिनिधिबीच पटक–पटक छलफल भए पनि निकास निस्कन नसकेको जवाफ भन्दा अरु दिन सक्दैनन् । गाउँ सञ्चालक समितिको नाममा सार्वजनिक निर्णय गरेर छुनाराम चौधरीका परिवारका छ सदस्यलाई बाटोमा हिडडुल गर्न रोकिएको छ । भैंसी तथा बाख्रालाई घाँस काट्नबाट बञ्चित गरिएको छ भने तरकारी टिप्नको लागि खेतबारीमा जानबाट रोकिएको छुनारामका छोरा बासुदेव चौधरीले बताउनुभयो । ‘हिंडडुल गर्न रोकेका छन् । बाटो छेक्छन् । घरमा राति ढुंगा हान्छन् । यसरी मानसिक पीडामा बस्नुपरेको छ’– चौधरीले भन्नुभयो– ‘अदालतले समेत जग्गाको खिचलो छैन भनिसक्दा पनि हामीलाई यसरी दुःख दिन पाइन्छ । हाम्रो बाँच्ने अधिकार छैन ? ’
छजनाको परिवार त्रासमा दिन रात काट्नुपरेको उहाँको भनाइ छ । चैत ७ गतेदेखि गाउँलेहरुले नाकाबन्दी गरेर राखेको र अहिले पनि घर आउन जान समस्या रहेको चौधरीले बताउनुभयो । ‘म कामको सिलसिलामा घोराहीमा बस्छु । म तीन दिन भयो घर जान सकेको छैन । डरले घर नआउन भन्छन्’– उहाँले भन्नुभयो– ‘एक्काइसौं शताब्दीमा पनि हामी यस्तो बहिस्करणमा पर्नुपर्ने ? ’ शान्ति सुरक्षा र आफूहरुलाई बन्दी बनाउनेमाथि कानुनी कारवाहीको माग राख्दै मंगलबार जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनु भएको छ । ‘२५ जनाको दरले घेराबन्दी गर्ने, आफ्ना पशु चौपायालाई हिँडडुल तथा पानी खुवाउन समेत जान नदिने, खेती गर्न पनि रोक लगाउने जस्ता कार्यले गर्दा हामी अन्यायमा परेका छौं’– निवेदनमा भनिएको छ– ‘हामीलाई सम्मान पूर्वक जीवन जिउने अधिकार दिइयोस् ।’ भैंसी तथा बाख्रालाई घाँस, पराल, दाना, पानी दिन नसकेपछि आफन्तको घरमा पठाउनुपरेको छ भने हरेक रात त्रासमा बिताउनुपरेको भन्दै जिल्ला प्रशासनमा निवेदन दिइएको हो ।
यता गाउँका अगुवा मानबहादुर चौधरीले बाटो निकाल्न जग्गा नदिएपछि गाउँलेहरुले निर्णय गरेर व्यक्तिगत जग्गाबाट निकालेको बाटोमा मात्रै हिड्डुल रोक्नुपरेको दाबी गर्नु भयो । ‘यो गाउँलेको निर्णय हो । गाउँ समाजमा बसेपछि मिलेर बस्नुपर्छ’– उहाँले भन्नुभयो– ‘पुरानो बाटो मिचेर बार लगाउन मिल्दैन । उसले बाटो नदिने, अनि उसलाई किन हिड्न दिने ? ’ छुनारामको घर पछाडि चार जनाको घर छ । निकास थुनिएको, एम्बुलेन्स, दमकल तथा खेती गर्ने ट्याक्टरसम्म हिड्न मिल्ने बाटो निकाल्न खोजिएको गाउँ सञ्चालक समितिका कोषाध्यक्ष अमरदीप चौधरीले बताउनुभयो ।
‘तीन मिटर बाटो निकालौं भन्ने हो । एक मिटर जग्गा छुनारामको चाहिन्छ । अर्का एकजना सहमतिमा हुनुहुन्छ । एक मिटर सार्वजनिक गोरेटो बाटो हो’– उहाँले भन्नुभयो– ‘गाउँको विकास रोक्न हुन्न भन्ने धारणा हाम्रो हो ।’ वडाध्यक्ष दीपक चौधरीले समस्या समाधान गर्न धेरै पटक पहल भएको तर निस्कर्ष निस्कन नसकेको बताउनुभयो । ‘चार÷पाँच घर निकासबिहीन छन् र जो पीडित छन् । एउटा व्यक्तिका कारणले विकास रोक्न मिलेन नि’– उहाँले भन्नुभयो– ‘बाटोको निकास नदिदाको समस्या हो ।’ तर छुनारामले निकास हुँदाहुँदै केही व्यक्तिका लागि सिधा बाटो दिने नाममा आफ्नो जोतेर खाने जमिन जबर्जस्ती काटिदिन थालेको र नदिएपछि घरबाटै निस्किन नदिएको बताउनुभयो । उहाँले आफ्नो परिवारको हिडडुल गर्ने र स्वतन्त्र भएर बाँच्न पाउने अधिकार दिलाई दिन माग गर्नुभएको छ ।
yougbodh bat
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij