प्रकाशित मिति : आइतवार, चैत्र २५, २०८०
सिराहा । सिराहामा दिउँसै हतियार देखाएर मनि ट्रान्सफरको रकम लुटेको छ। सिराहा सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम ल्याइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर महिसोथा जाने बाटो नजिकबाट हतियार देखाएर लुटिएको हो।
भारतीय नम्बरको मोटरसाइकलमा आएका लुटेराहरूले स. ९ प ६३१० नम्बरको मोटरसाइकलमा रकमसहित आइरहेका पुरुषोत्तम यादवलाई हतियार देखाएर नगद सहित २ थान ग्लोबल आईएमई बैंकको र ३ वटा राष्ट्रिय वाणिज्य बैंकको खालि चेक र मोबाइल समेत लुटेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
लुटिएको रकम विष्णुरपुर गाउँपालिका १ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रहेको बताइएको छ। यादवले दिएका बयान अनुसार लुटेरामध्ये मोटरसाईकल चलाउनेले क्रिम कलरको र पछाडि बस्नेले रातो रङ्गको कपडा लगाएको प्रहरीले बताए/
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले घटनाको पुष्टि गर्दै थप विवरणहरू संकलन भईरहको जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij