आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

डोल्पामा डढेलोले सातामै लियो ६ को ज्यान

  • प्रकाशित मिति : आइतवार, बैशाख २, २०८१



  • डोल्पामा डढेलोबाट एक सातामै ६ जनाको ज्यान गएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालका अनुसार वनमा लागेको डढेलो निभाउने क्रममा डढेर घाइते भएका नेपाली सेनाका तीनजना र च्याउ टिप्न गएका तीन बालक गरी ६ जनाको ज्यान गएको हो ।

    डढेलोमा परी घाइते सेनाका प्युठको काठमाडौंमा उपचार भइरहेको छ । गुच्ची च्याउ टिप्न गएका तीन बालक २९ चैतमा त्रिपुरासुन्दर नगरपालिका– ४ स्थित सुँ सामुदायिक वनमा लागेको डढेलोमा परी घाइते भएका थिए । १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढाको शनिबार काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रजिअ दाहालले जानकारी दिए ।

    सोही घटनामा घाइते भएका १० वर्षीय सुलस बुढाको ३० चैतमा जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा मृत्यु भएको थियो । आगलागीमा परी एकै गाउँका तीन बालकको मृत्यु भएपछि सिंगो गाउँ शोकमा डुबेको त्रिपुरासुन्दरी– ४ का वडाध्यक्ष रञ्जित बुढाले बताए । ‘यसपटक गाउँमा नयाँ वर्ष मनाउन पाइएन,’ उनले भने ।

    डढेलो निभाउन गएका तीन सैनिकको ज्यान गयो, एक सिकिस्त
    बालकको ज्यान जाने गरी भएको घटनाको तीन दिनअघि मात्र डढेलोबाट डोल्पामै तीन सैनिकको ज्यान गएको थियो । २६ चैतमा ठूलीभेरी नगरपालिका– ४ स्थित मस्टा सामुदायिक वनमा लागेको डढेलो निभाउन गएका सेनाको देवीदत्त गुल्म ‘क’मा कार्यरत सैनिक घाइते भएका थिए ।

    जुम्लाका सिपाही हेमन्त रावल, २३ वर्षीय जवान आशिष बुढा र काभ्रे घर भएका ३८ वर्षीय जमदार केशरबहादुर जर्गामगरको मृत्यु भएको थियो । रावलको जिल्ला अस्पताल दुनैमा तथा बुढा र मगरको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो ।

    कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत सुर्खेत जरबुटाका प्युठ विजय कोइरालाको स्वास्थ्य अवस्था सुधारोन्मुख भए पनि खतरामुक्त नभएको चिकित्सकले जनाएको प्रजिअ दाहालले बताए । ‘चिकित्सकले घाइते सैनिकको स्वास्थ्य अवस्था सुधारोन्मुख भए पनि अझैँ खतरामुक्त नभएको जानकारी गराउनुभएको छ,’ प्रजिअ दाहालले भने ।

    डोल्पाको विभिन्न सामुदायिक वनमा केही दिनदेखि डढेलो सल्किएको छ । वनमा लागेको डढेलो नियन्त्रण गर्न नेपाली सेनाका दुईवटा गुल्म, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको टोली खटिए पनि नियन्त्रणमा आउन सकेको छैन ।

    जलनका बिरामीलाई काठमाडौं लैजानुपर्ने बाध्यता छ : डा. अखण्ड उपाध्याय जिल्ला अस्पताल डोल्पा

    डढेलोमा परेर ज्यान गुमाउने विपन्न हुन् । च्याउ, जडीबुटी खोज्न गएकाहरू डढेलोमा पर्ने गरेका छन् । डोल्पामै डढेलो निभाउन गएका सैनिक पनि परे । यो विपन्नमाथि बढी आइलाग्ने समस्या हो । तालिमप्राप्त व्यक्तिले आगो, डढेलो निभाउनुपर्छ । कपडा, रुखका हाँगा, माटोले वनजंगलको डढेलो निभाउन खोज्नु मूर्खता हुन्छ ।

    डढेलो निभाउँदा हावा कतातिर चलेको छ भनेर पनि ख्याल गर्नुपर्छ । शरीरमा आगो लागिसकेपछि छालामा पोलेजस्तो देखिए पनि धेरै क्षति भएको हुन सक्छ । जलन भइसकेपछि पहिलो १२ घण्टा निकै महत्वपूर्ण हुन्छ । घाइतेलाई पर्याप्त पानी, प्राथमिक उपचार चाहिन्छ । जलन कम भए पनि धूवाँका कारण श्वास फेर्न गाह्रो हुन्छ । बाहिर सामान्य देखिए पनि जलनका कारण स्वरनली सुन्निने हुन्छ ।

    जिल्ला अस्पताल वा प्राथमिक स्वास्थ्य केन्द्र मात्र होइन ठूला अस्पतालमा पनि जलनको विशिष्टीकृत उपचार सेवा छैन, छुट्टै जनशक्ति छैन । सामान्य जलन हुँदा पनि उपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता छ । आगो, डढेलोबाट घाइते भएकालाई हेलिकोप्टर चार्टर गरेर लैजान १२–१५ लाख खर्च हुन्छ । त्यो पैसा पालिका, प्रदेश सरकार वा नेपाल सरकार जसले व्यहोरे पनि ठूलो पैसा खर्च भइरहेको छ । बरु सरकारले हरेक प्रदेशमा जलनका बिरामीका लागि विशिष्टीकृत उपचार सेवा सुरु गर्नुपर्छ । हरेक ठूला अस्पतालमा जलनका बिरामीका लागि बेड छुट्याउनुपर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij