आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक

  • प्रकाशित मिति : शनिबार, बैशाख २२, २०८१



  • म्याग्दी । समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा म्याग्दीका स्थानीय तहका प्रमुख र सुरक्षा अधिकारीहरूको समन्वय बैठक बसेको छ ।

    आठ हजार मिटर अग्लो पहिलो मानवपाइला परेको अन्नपूर्ण हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ४ मा पर्छ । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाको अध्यक्षता रहेको बैठकमा छ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललगायत सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो ।

    आधार शिविरमा शुक्रबार बैठक सम्पन्न गरी आज त्यहाँबाट फर्कनुभएका अन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष भारतकुमार पुनले समन्वय बैठकको निर्णयानुसार आरोहीले प्रयोग गर्ने आधार शिविर र हिमाल भएको भूगोलमा अन्नपूर्ण आरोहण दिवस मनाउन नेपाल पर्यटन बोर्डलाई पत्राचार गरिने जानकारी दिए ।

    फ्रान्सका मौरिस हर्जोगले सन् १९५० जुन ३ तारिखका दिन अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए । हरेक वर्ष जुन ३ मा स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरेर ‘अन्नपूर्ण डे’ मनाउने गरिएको छ । यसअघिका वर्षमा पोखरा र कास्कीको अन्नपूर्ण गाउँपालिकाको भूगोलमा अन्नपूर्ण दिवस मनाइएको र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले हिमालको रोयल्टी नपाएको अध्यक्ष पुनले बताए ।

    “राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा रोयल्टी दाबी गरेपछि गत मङ्सिरमा उपाध्यक्ष बालानन्द पौडेलसहितको टोलीले स्थलगत अध्ययन गरेर जानुभएको थियो”, उनले भने, “अन्नपूर्ण दिवस मनाउन बजेट विनियोजन गरेको पर्यटन बोर्डले म्याग्दीमा कार्यक्रम आयोजना गर्न गरेको प्रस्तावलाई बेवास्ता गरेकाले दबाबका लागि निर्णयसहित पत्राचार गरिएको हो ।”

    मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो । अन्नपूर्ण पहिलोपटक मानवपाइला परेको आठ हजार मिटर अग्लो हिमाल हो । हर्जोगले अन्नपूूर्ण हिमाल आरोहण गर्न प्रयोग गरेको पैदलमार्गलाई पछ्याएर तयार पारिएको नारच्याङबाट आधार शिविर जोड्ने ‘मौरीस हर्जोग’ पदमार्गको प्रवर्द्धनका लागि आधार शिविरमा समन्वय बैठक र जनप्रतिनिधिहरूको पदयात्रा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।

    चालु वसन्तयाममा अन्नपूर्ण आरोहणको अनुमति लिएका २५ जना आरोहीले रु ५१ लाख ६१ हजार आठ सय ८० रोयल्टी तिरेका पर्यटन विभागले जनाएको छ । गत वसन्तयाममा पाँच समूहका ५४ जनाले अन्नपूर्ण हिमाल आरोहणको अनुमति लिएका थिए ।

    हुमखोला हुँदै गुरासेडाँडा, फुुतफेते झरना, सम्धीखर्क, भुुसकेत, नारच्याङ पञ्चकुुण्ड ताल हुँदै चार हजार एक सय मिटर उचाइको अन्नपूूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्गलाई प्रथम आरोहीको सम्मानमा ‘मौरिस हर्जोग’ नामकरण गरिएको छ ।

    प्रशासकीय अधिकृत सुवेदीका अनुसार समन्वय बैठकले अन्नपूर्ण आधार शिविर, मौरिस हर्जोग पदमार्गलगायत पर्यटकीयस्थलको प्रवर्द्धनमा एकताबद्ध भएर पहल गर्ने निर्णय पनि गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा भूपू खेलाडी मञ्चका अध्यक्ष खड्ग रानाभाट, भूपू खेलाडी मञ्चका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ र नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङको टोलीले अन्नपूर्ण आधार शिविरलाई लक्षित गरेर म्याराथन प्रतियोगिता सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरेको छ ।

    नारच्याङबाट कुल ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्म निलगिरिखोला जलविद्युत् आयोजनाले २० किलोमिटर सडकको मार्ग खोलेको छ । विसं २०७७ माघमा नारच्याङमा अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरिएको थियो ।

    अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्णको फेदीमा करिब २० हजार वर्गमिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँका थप आकर्षणका रूपमा रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij