शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

रामग्राममा प्लान्ट बनाएर लक्ष्मी ग्रुपले नेपालमै शुरु गर्‍यो कार उत्पादन, भेन्युको बिक्री शुरु

  • प्रकाशित मिति : आइतवार, बैशाख ३०, २०८१



  • नेपालको सफल व्यावसायिक घराना लक्ष्मी ग्रुपले नेपालमै पहिलो पटक कार एसेम्बल शुरु गरेको छ । नवलपरासीको रामग्राम–६ मा रहेको एसेम्बल प्लान्ट औपचारिक रुपमा उद्घाटन भएसँगै नेपालमा हुन्डाइ कारको विधिवत रुपमा उत्पादन शुरु भएको हो ।

    हुन्डाई मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल प्राली र लक्ष्मी मोटर कर्पोरेसनले नवलपरासीमा प्लान्ट स्थापना गरेर हुन्डाइ भेन्युको परीक्षण उत्पादनमा सफल भएसँगै एसेम्बल प्लान्ट औपचारिक उद्घाटन गरिएको हो ।

    औपचारिक उद्घाटन भएसँगै नेपालमै एसेम्बल भएको हुन्डाइ ब्रान्डका भेन्यु बिक्री पनि शुरु भएको छ । कम्पनीका महाप्रबन्धक दीपक थपलियाका अनुसार अहिले हुन्डाइका भेन्यु कार उत्पादन शुरु भएको र भविष्यमा क्रेटा उत्पादन शुरु गरिनेछ ।

    भारत र कोरियाबाट आयात गरिएका पार्ट्सबाट नेपालमै कार तयार गरिने उनले बताए । हाल दुई सय जनाले रोजगारी पाइरहेको र भविष्यमा पाँच सय जनाले रोजगारी पाउने उनको भनाइ छ ।

    प्लान्टमा ११ सय मुख्य पार्टपुर्जा कोरिया र एक सय सहायक गरी १२ सय पुर्जा जडान गरी एउटा भेन्यु कार तयार गरिने थपलियाले जानकारी दिए ।

    कोरियाली प्राविधिकहरुको सहयोग र तालिमबाट नेपालमै दक्ष प्राविधिकबाट कार उत्पादन गरिएको कम्पनीले जनाएको छ । कार टेष्ट राइडका लागि प्लान्ट परिसरमै एक किलोमिटर सडक निर्माण गरिएको छ ।

    सरकारले एसेम्बल उद्योगलाई प्रोत्साहन गर्न कर छुटलगायत अन्य सुविधा दिएपछि लक्ष्मी ग्रुपले हुन्डाइका कार नेपालमै एसेम्बलका लागि सीकेडी (कम्प्लिटली नक्ड डाउ) पार्ट्स आयात शुरु गरेको थियो ।

    हुन्डाइ मोटर कर्पोरेसनले २०२३ डिसेम्बर अन्तिम साता कोरिया तथा भारतबाट सीकेडी आयात गरेको थियो । त्यसयता कम्पनीले ठूलो संख्यामा सीकेडी आयात गरिसकेको छ ।

    ग्रुपले २०७६ मा ५ अर्ब १० करोड रुपैयाँ लागतमा एसेम्बल उद्योग दर्ता गरेको थियो । रामग्राममा एसेम्बल उद्योग रहने गरी लक्ष्मी मोटर कर्पोरेसनले वार्षिक ८ हजार चारपांग्रे गाडी उत्पादन गर्ने लक्ष्य राखेको छ ।

    कर्पोरेसनले ९ सय ९८ सीसीको भेन्यू एस (ओ), ११ सय ९७ सीसीको भेन्यू एस १.२ एमटी र ११ सय ९७ सीसी भेन्यू एसएक्स १.२ एमटी मोडलका सीकेडी आयात गरेर एसेम्बल थालेको हो ।

    भब्य एसेम्बली प्लान्ट
    कम्पनीका अनुसार ६५ हजार वर्ग मिटरको क्षेत्रफलमा फैलिएको मोटर एसेम्बली प्लान्टमा १४ हजार वर्ग मिटर क्षेत्रफलमा भव्य निर्माण गरिएको छ ।

    नेपालको अटोमोबाइल क्षेत्रमा ठूलो लगानी मानिएको प्लान्टमा पाँच हजार गाडी वार्षिक उत्पादन क्षमता रहेको छ । एचएमसीको सबै मापदण्डहरुको पालना गर्दै नेपालभर मोटर गाडी उत्पादनलाई तीव्र गतिमा ल्याउने लक्ष्य कम्पनीले राखेको छ ।

    एचएमसीको प्राविधिक पर्यवेक्षणमा एलएमसीले निर्माण गरेको प्लान्टमा उत्पादित हरेक सवारी साधनमा कार्य सम्पादन, सुरक्षा र विश्वसनीयताका उच्चतम गुणस्तर सुनिश्चित हुने कम्पनीको जनाएको छ ।

    वैशाख २८ गते शुक्रबार मोटर एसेम्बली प्लान्टको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका हुन् । उद्घाटनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ते यन्ग, हुन्डाइ मोटर भारत लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत उन्सु किमलगायतको उपस्थिति थियो ।

    उदघाटनसँगै लक्ष्मी ग्रुपले नेपालको मोटर गाडी उद्योगमा एक महत्त्वपूर्ण इतिहास रचेको दाबी गरिएको छ । जहाँ नेपालमा बनेको पहिलो ‘हुन्डाइ भेन्यु’ हाल प्रदर्शनमा राखिएको छ ।

    प्लान्टले निकट भविष्यमा हुन्डाई मोटर्सका अन्य मोडलका गाडीहरुको पनि एसेम्बलिङ गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

    नेपालमा हाल हुन्डाइका १६ शोरूम, १९ सेवा केन्द्र र नेपालभर ४५ भन्दा माथि चार्जिङ्ग प्वाइन्ट्स छन् । यसका लागि लक्ष्मी इन्टरकन्टिनेन्टलले बजारमा विशेष भूमिका निर्वाह गरिरहेको छ ।

    नयाँ मूल्य चाँडै

    नेपालमै कार उत्पादन गरेसँगै मूल्य पनि घट्ने कम्पनीले जनाएको छ । कम्पनीका मार्केटिङ एवम कम्युनिकेशन अधिकृत सन्दिप शर्माका अनुसार एक साताभित्र नेपालमा उत्पादित नयाँ कारको मूल्य निर्धारण हुनेछ ।

    उनका अनुसार नेपालमा एसेम्बल भएका भेन्यूको मूल्य आयातको तुलनामा कम पर्नजाने बताए । नेपालमा एसेम्बल भएका भेन्यूको मूल्य आयातितको तुलनामा १० प्रतिशतसम्म कम हुने अनुमान गरिएको छ ।

    हाल आयात गरेर बिक्री भइरहेको हुन्डाइको पेट्रोल भर्सनको भेन्युको बजार मूल्य २०२४ मोडलको ई १।२ को ४१ लाख ९६ हजार रुपैयाँदेखि ५८ लाख ९६ हजार रुपैयाँ मूल्य राखिएको छ ।

    सरकारको सहजीकरण
    सवारी एसेम्बल गर्न चाहनेका लागि सरकारले विभिन्न प्रकारका कर सहुलियत दिँदै आएको छ। एसेम्बलका लागि ल्याइने मोटरसाइकलका पार्टपुर्जा (सीकेडी वा डीकेडी) आयातमा लाग्ने अन्तःशुल्कमा ५० प्रतिशत र आयकरलगायत अन्य सुविधाहरु सरकारले उपलब्ध गराएको छ ।

    त्यस्तैगरी कारको एसेम्बलमासमेत सरकारले बजेटमार्फत नै सहुलियत दिएको छ । कार एसेम्बल गर्दा ल्याइने सीकेडी आयात गर्दा भन्सारमा २५ प्रतिशत, अन्तःशुल्कमा ५० प्रतिशत, आयकरलगायत छुट सुविधा दिएको छ ।

    प्लान्ट उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगानी सुरक्षित राख्ने प्रतिबद्धता जनाउँदै लगानी प्रोत्साहनका लागि नयाँ व्यवस्था ल्याउने जनाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij