प्रकाशित मिति : आइतवार, साउन २७, २०८१
ढाका । सैयद रेफात अहमद बंगलादेशको नयाँ प्रधानन्यायाधीश हुने भएका छन्। शनिबार, अगस्त १० को राति ९ बजे ढिलो उनको नियुक्ति हुने घोषणा गरिएको थियो।
यसअघि दिउँसो प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिएपछि उक्त पद रिक्त अवस्थामा थियो। प्रधानन्यायधीश हसनको राजीनामा माग गर्दै आन्दोलनरत विद्यार्थीले शनिबार बिहानदेखि सर्वोच्च अदालत घेराउ गरेका थिए।
त्यहाँ आन्दोलनकारीहरु ठूलो संख्यामा भेला भएका थिए। एक विद्यार्थीले भने, ‘प्रधानन्यायाधीशलगायत अन्य न्यायधीशले राजीनामा नगरे हसिनाजस्तै कुर्सीबाट बाहिर निकालिनेछन्।’
आन्दोलनरत विद्यार्थीहरूले सर्वोच्च अदालतका न्यायाधीश हसिनासँग मिलेमतोमा रहेको आरोप लगाएका थिए। पूर्वप्रधानमन्त्री शेख हसिना गत अगस्ट ५ मा पदबाट राजीनामा दिएर देश छाडेर भारत भागेकी छिन्।
यी न्यायाधीशहरूले अन्तरिम सरकारलाई कुनै जानकारी नदिई शनिबार सम्पूर्ण अदालतको बैठक बोलाएका थिए। सो बैठकका कारण आन्दोलनकारीले एक घण्टाभित्र न्यायाधीशको राजीनामा माग गरेका छन्।
प्रधानन्यायाधीशले राजीनामा दिएपछि थप ५ जना न्यायाधीशले पद छाड्न सक्नेछन्। आन्दोलनकारीले ६ जना न्यायाधीशले राजीनामा नदिएसम्म सडक नछाड्ने अडान लिएका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij