शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

गाउँमै सिंहदरबार आएको अनुभूति

  • प्रकाशित मिति : आइतवार, भदौ २, २०८१



  • महोत्तरी । आफ्नै गाउँमा मालपोत कार्यालय सञ्चालनमा आएपछि गौशाला र आसपासका बासिन्दाले ‘गाउँमै सिंहदरबार’ आएको अनुभूति गरेका छन् । राज्यबाट आफ्नै घरआँगनमा सेवा पाएपछि गौशाला, औरही, सम्सी र सोनमासहितका स्थानीयतहका बासिन्दाले गाउँमा नै सिंहदरबारबाट प्रवाह हुने सेवा प्राप्त गरेको अनुभूत गरेका हुन् ।

    ‘गाउँमै सिंहदरबार आएजस्तो भएको छ, जग्गा किनबेच, ऋण लिँदा गर्नपर्ने दृष्टिबन्धक र रोक्कासहितका काम अब घरकै खाना खाएर गर्न भ्याउने भइएको छ’, गौशाला-४ रजखोरका रिझन साह भन्छन्, ‘यसले निकै राहत भएको छ ।’ गौशालामा २०७८ साल वैशाखमा स्थापना भएको मालपोत कार्यालयले तीन वर्षपछि बल्ल गत सोमबारदेखि सेवा दिन थालेको हो ।

    मालपोत कार्यालयले सेवा सुरु गरेपछि गौशाला नगरपालिकाका सुदुर दक्षिणपश्चिमी बस्ती फुलकाहा, मनरवा सोनमा गाउँपालिकाका मगरथाना, खैरबनी, सम्सी गाउँपालिकाका पर्सादेवाड, रघुनाथपुर र औरही नगरपालिकाका अगलेसरा, टिमकिया बस्तीका सर्वसाधारण लाभान्वित भएका छन् ।

    भर्खरै सेवा सञ्चालन गरेको मालपोत कार्यालयले जनताका काम पनि शीघ्र सम्पादन गर्दा सर्वसाधारण मक्ख छन् । कर्मचारीले कानुनी अड्चन देखाउँदै ‘भोलि आउनू’ प्रवृत्ति परित्याग गर्दा आफूहरूलाई वास्तवमा नै गाउँमा सिंहदरबार आएको अनुभव भएको सोनमाको मगरथानाका रामविवेक राय बताउँछन् ।

    विसं २०७८ वैशाख १७ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठले गौशालामा मालपोत तथा नापी कार्यालय उद्घाटन गरे पनि कार्यालयसम्बन्धी कागजात जलेश्वरका लेखापढी व्यवसायीले ल्याउन नदिएपछि सेवा सञ्चालन हुनसकेको थिएन । गौशालाका उद्यमी, व्यापारी र सामाजिक सङ्घसंस्थाका प्रतिनिधिले साउन २१ गते राति प्रहरी प्रशासनको सहयोगमा कार्यालयसम्बद्ध कागजात र अभिलेख जलेश्वर कार्यालयबाट ल्याइएपछि यहाँ सेवा सञ्चालनको वातावरण बनेको हो ।

    गौशालामा कार्यालयसम्बद्ध मठस्रेस्तासहितका कागजात र अभिलेख ल्याइएको एक साताभित्रै मालपोत कार्यालयले सेवा दिन थालेको हो । ‘हामीलाई कार्यालयमा कागजात व्यवस्थित गर्न एक साता लाग्यो, अब सेवा दिन थालियो’, कार्यालयका प्रमुख दीपेन्द्रकुमार झा भन्छन्, ‘टाढाका सेवाग्राही काम गरेरै फर्कन सकुन् भन्ने ध्येयले काम गरेका छौँ ।’ गौशालामा मालपोत कार्यालयसँगै नापी कार्यालयले पनि सेवा प्रवाह थालेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij