प्रकाशित मिति : बुधबार, भदौ ५, २०८१
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले माओवादी सुशासन, समृद्धि र सामाजिक न्यायको अभियान लिएर जनतामा जाने बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल दाङ शाखाले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपमहासचिव पुनले पार्टी प्रतिपक्षको भूमिकामा रहे पनि सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई सशक्त बनाएर लैजाने बताउनुभयो ।
‘नौ वर्षपछि माओवादी केन्द्र प्रतिपक्षमा पुग्दा टिकाटिप्पणी हुन थालेका छन’– उपमहासचिव पुनले भन्नुभयो– ‘हामी सशक्त प्रतिपक्षकै भूमिका निर्वाह गर्र्छांै र सुशासन, देशको समृद्धि र सामाजिक न्यायका विषय हाम्रा प्राथमिकता हुन् ।’
उहाँले सत्तामा रहँदा सुशासनका पक्षमा थुप्रै नमूना काम गरेको स्मरण गराउँदै अहिलेको गठबन्धन सरकारले आफूहरुले थालेको सुशासनको कदम उल्ट्याउने प्रयास गरेको आरोप लगाउनुभयो । ‘हामी सत्तामा हुँदा सुशासन, समृद्धिका लागि काम गरेरै देखाएका छांै, अझै पनि त्यही सुशासन, समृद्धि र सामाजिक न्यायकै अभियानमा छौं’– उपमहासचिव पुनले भन्नुभयो– ‘यो अभियानलाई निरन्तरता दिन यो सरकारलाई सुझाव छ । कतै तल माथि हुने अवस्था आए हामी सदन र सडकबाटै त्यसको प्रतिरोध पनि गर्छौं ।’ उहाँले स्थिरताका नाममा फेरि दुई दलीय संसदवादी प्रणालीमा फर्किने कुरा माओवादीलाई मान्य नहुने बताउनुभयो । ‘हिजो पनि कांग्रेस, एमालेले पालैपालो चलाएकै हो । समस्या भएरै बहुदलीय प्रतिस्पर्धासहितको गणतन्त्र सबैले मिलेर ल्यायौं’– उपमहासचिव पुनले भन्नुभयो– ‘स्थिरता सोचमा आउनुपर्छ । स्थिरताको नाममा गर्न खोजेको पश्चगमनपूर्ण कार्य बेठीक छ ।’ उपमहासचिव पुनले संघीयता पूर्ण कार्यान्वयन हुन नसकेको भन्दै अझै प्रहरीलगायतका संस्थागत संरचनाको हस्तान्तरण बाँकी रहेको बताउनुभयो । समावेशीतासहितको संविधान पूर्ण कार्यान्वयन नै नभई संविधान संशोधन गर्ने र अझ समावेशीतालाई समेत लत्याउने गरी जाने अवस्था आए द्वन्द्व सिर्जना हुने समेत पुनले चेतावनी दिनुभयो ।
उहाँले माओवादीलाई फेरि सरकारमा जाने हतारो नभएको स्पष्ट पार्नुभयो । ‘हामीलाई सत्ताको लागि हतारो छैन तर १०० दिन वरिपरि सरकार जाँदैन भन्ने नेपाली कांग्रेसकै नेताहरुबाट आइरहेको छ’– उपमहासचिव पुनले भन्नुभयो– ‘तर हामीले अझै टाढा लैजानुस् भन्ने सुझाव दिएका छौं ।’
सो अवसरमा पत्रकारहरुको प्रश्नको जवाफ दिदै पूर्व अर्थमन्त्री पुनले दाङको विकासका लागि सरकारले आवश्यक बजेटको व्यवस्थापन गरेको बताउनुभयो । मुख्यगरी कुइरेपानी, घोराही, तुलसीपुर फोरलेन सडकको निर्माणमा बजेटको सुनिश्चितताको प्रयास भइरहेको र टरिगाउँ एयरपोर्टको विस्तारमा पनि आशालाग्दो काम भइरहेको बताउनुभयो । प्रेस सेन्टर नेपाल दाङका कार्यवाहक अध्यक्ष अनिता पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव जनक नेपालीले गर्नुभएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij