मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पूर्वसांसदको टिमुर बगैंचा

  • प्रकाशित मिति : आइतवार, भदौ १६, २०८१



  • दयाराम डाँगी
    रोल्पा । पूर्वसांसद लेखनाथ आचार्यको दैनिक अचेल टिमुर बगैंचामा बित्छ । आचार्यले रोल्पा नगरपालिका वडा नं. २ मा रहेको आफ्नै पुख्यौली खरबारीलाई टिमुर बगैंचा बनाउनुभएको छ । राजनीति र समाजसेवामा क्रियाशील आचार्यले जीवनको उत्तराद्र्धमा भने कृषि पेशा रोज्नुभएको छ ।

    उमेरले झण्डै ७० वर्षको हाराहारीमा पुग्नुभएका आचार्यले अचेल खेती किसानीलाई समेत सँगसँगै लैजानु भएको छ । कोरोनाको समयमा उहाँले आफ्नै खरबारीमा रोपेका करिव पाँच सय टिमुरका विरुवाले अहिले फल दिन शुरु गरेका छन् । उहाँले खरबारीमा टिमुर मात्रै लगाउनु भएको छैन । कागती, अमिलो, अम्बालगायतका फलफूल समेत रोप्नुभएको छ । ‘टिमुरले यसै वर्षदेखि उत्पादन दिन शुरु गरेको छ, फलफूल दुई वर्षपछि फल्ने आशा गरेको छु’– आचार्यले भन्नुभयो । आफूले रोपेको विरुवा आफ्नै सन्तान जस्तै गरी स्याहार गरिरहनुभएको छ । विरुवामा मलजल गर्नेदेखि झारपात हटाउनेलगायतका काम गरेर मात्रै छिट्टै फल दिने अवस्थामा पुगेको उहाँको भनाइ छ । ‘लामो खडेरी गरेको बेला त विरुवा मर्छन् कि भनेर टाढाबाट पानी बोकेर सिंचाई गरें’– आचार्यले भन्नुभयो ।

    ‘राजनीतिमा लागेका सबै नेता, कार्यकर्ता आत्मनिर्भर भए राजनीति शुद्ध हुन्छ’– आचार्यले भन्नुभयो– ‘नेता, कार्यकर्ता आत्मनिर्भर भए भ्रष्टाचार पनि रोकिन्छ तर के गर्नु राजनीतिलाई पेशा बनाउँदा भ्रष्टाचार बढ्यो ।’ सबै नेता कार्यकर्ता आफूले जे काम गर्न सकिन्छ सोही काम गर्न सके समर्थक शुभचिन्तकहरुमा श्रम गरेर खानुपर्छ भन्ने मान्यता स्थापित हुने उहाँले बताउनुभयो । जग्गा बाँझो राखेर युवा जति खाडीमा पसिना बगाइरहेकोमा पूर्वसांसद आचार्यको गुनासो छ । ‘हाम्रै खेतबारीमा सुन फलाउन सकिन्छ, तर अहिले सुन फल्ने ती जग्गा बाँझो भएका छन्’– उहाँले भन्नुभयो । युवा शक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउन जरुरी रहेको उहाँको भनाइ छ । राज्यले आफ्नै खेतबारीमा श्रम गर्नेहरुलाई सम्मान गर्ने कार्यक्रम ल्याउनुपर्ने आचार्यको सुझाव छ ।

    वर्तमान निर्वाचन प्रणालीप्रति पनि आचार्यको गुनासो छ । २०५६ सालमा प्रतिनिधि सभा सदस्यको निर्वाचन लड्दा आफूले पैसा खर्च नगरेको स्मरण गर्दै अहिले सोही चुनाव जित्न करोडौं खर्च गर्नुपर्ने अवस्था आएको बताउनुभयो । भए भरको पैसा खर्च गरेर चुनाव जित्ने र चुनावमा गरेको खर्च उठाउन भ्रष्टाचार गर्नुपर्ने अवस्थाले देश झनपछि झन भ्रष्टाचारीको अखडा भएको आचार्यको भनाइ छ । पैसा खर्च नगर्ने गरी. चुनाव लड्ने प्रणालीको विकास गर्नुपर्ने आचार्यको भनाइ छ । नेपालमा राजनीतिक क्रान्ति सम्पन्न भइसकेको बताउँदै अब जनता आर्थिक क्रान्तिका लागि जुट्नुपर्ने पूर्वसांसद आचार्यको भनाइ छ ।

    ‘२००७, २०४६ र २०६२÷०६३ सालमा जसरी राजनीतिक परिवर्तनको एकल मिसनसहित देश जुरुक्क उठेको थियो अब त्यस्तै गरी आर्थिक क्रान्तिको लागि देश उठ्नुपर्छ’– आचार्यले भनाइ छ । जनताको अवस्थामा परिवर्तन आए मात्रै व्यवस्था परिवर्तनले सार्थकता पाउने उहाँको भनाइ छ । पछिल्लो पुस्तामा श्रम गर्ने प्रवृत्ति घटेको भन्दै उहाँले हरेक नागरिक कुनै न कुनै काममा जोडिए मात्रै आर्थिक स्थिति सुधार हुने उहाँको भनाइ छ ।

    ‘प्रत्येक व्यक्तिले आयआर्जन गरे देशको आर्थिक विकास हुन्छ, आर्थिक विकासले मात्रै आर्थिक समृद्धि हुन्छ’– पूर्वसांसद आचार्यले भन्नुभयो । आचार्य २०५६ सालको आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यको रुपमा रोल्पा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित हुनुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij