प्रकाशित मिति : सोमवार, भदौ २४, २०८१
जीवनमा कहिले नसोचेको घटना पनि घट्दो रहेछ । ‘वान एक्स बेट’ प्रचारको आरोपमा म पक्राउ पर्नु त्यस्तै एक घटना हो । यो मेरो जीवनको सबैभन्दा दुःखदायी घटना । मबाट अन्जानमा भएको कामले ठुलो सबक सिकायो ।
‘वान एक्स बेट’ प्रचारको आरोपमा २८ दिन हिरासत नै (जेल) बस्नुपर्यो । ती दिन मेरो जीवनकै कालो दिन थिए । ‘वान एक्स बेट’ अनुसन्धान भन्दै म लगायत ११ जना पक्राउ पर्यौ । प्रहरीले राखेपछि धेरैले जेल नै भन्दा रहेछन् । जेल, हिरासत, प्रहरीको कस्टडी जे भनेपनि एउटै हो क्यार ।
२८ दिनमा, पहिलो दिन दरबारमार्ग प्रहरीमा राखियो । त्यो एक दिनको अनुभव भुल्दै नसक्ने छ । त्यहाँ उडुसले झन्डै सिध्याएको थियो ।
दोस्रो दिनबाट महानगरीय प्रहरी परिसर टेकुमा राखियो । जतिबेला म पक्राउ परे, त्यो समय कलाकार, नेता, बलात्कारी, साइबर अपराध, ज्यानमुद्दा सबै अपराधमा पक्राउ एकैठाउँमा राखियो । अहिले त माइतीघरमा अपराध र वर्ग हेरेर फरक फरक राख्ने ठाउँ बन्यो रे ।
प्रहरीले जुनदिन म लगायतका साथीभाइ पक्राउ भनेर समाचार आयो, वास्तवमा हामी पक्राउ परेका थिएनौँ । त्यो दिन हामी सिरियल ‘हल्का रमाइलो’को काभ्रेको साँगा चोकमाथिको गाउँमा सुटिङ गर्दै थियौ । प्रहरीबाट बोलावट आयो, सुटिङ छाडेर पुग्यौँ ।
सुटिङ छ, अहिले आउन भ्याउँदैनौ, भोली आउँछौ भन्दा प्रहरीले हुँदैन, कि आउनु, होइन भने भ्यान लिन पठाउँछु भन्यो । हामी डराएर सुटिङ युनिटलाई त्यही छोडेर तत्काल हाजिर भयौ । प्रहरीलाई सोध्यौ, ‘कति समय लाग्छ । सुटिङ युनिट पर्खिरहेको छ, छिटो जानुपर्छ’ । प्रहरीले भन्यो, ‘पर्खनुस्, युनिट भए फर्काए हुन्छ । ढिलो पनि हुनसक्छ ।’ म हुँदैन भन्दै थिए । प्रहरीले एकछिन, एकछिन भन्दै ३, ४ घण्टा बितायो । अनि पक्राउ पुर्जी थम्यायो । मोबाइल पनि नियन्त्रणमा लियो ।
तब हामीलाई हामीलाई थाहा भयो ‘वान एक्स बेट’को विज्ञापनको कारण प्रहरीले पक्राउ गर्यो । त्यो समयसम्म मलगायत टिमलाई ‘वान एक्स बेट’ बजाउन हुन्न भन्ने थाहा नै थिएन । ‘वान एक्स बेट’मा पनि बिइटी र बिएटी भन्ने दुईवटा पो रहेछ । बिइटी भन्ने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको क्रिकेट खेलको मुख्य प्रायोजक थियो । हामीले बजाएको फरक बिएटी रहेछ । फरक छुट्याउन नसक्दा दुःख पाउनुपर्यो ।
हामीलाई जसले विज्ञापन दियो । त्यसले यो इलिगल होइन, भारतमा पनि राम्रो चलेको छ भन्यो । अहिले पनि इन्डियाको लिगमा त्यो विज्ञापन देख्दै आएका थियौ । नेपालको खेलाडीले इन्डियामा खेलेका खेलमा पनि ‘वान एक्स बेट’ले स्पोन्सर गरेको देखिन्थ्यो ।
‘वान एक्स बेट’को विज्ञापन युट्युबमा मात्र हालेका थियौ । युट्युब संसारभर जाने भएकोले विज्ञापन दिएको भन्ने लाग्थ्यो । विज्ञापन बजाएको २ महिना भएको थियो । पैसा भने आएको थिए ।
हामी भन्दा अघिल्लो दिन यसका मुख्य दोषी दिनेश खड्का र अनिता धिताल पक्राउ परेका रहेछन् । हामीलाई पनि अदालतमा प्रहरीले हिजोको मुद्दामा मिलान भनेर उहाँहरूकै मुद्दा जोड्यो । दिनेश र अनिताले गरेको ७२ करोडको कारोबार हाम्रो भनेर प्रचार भयो । त्यो झुट थियो ।
त्यो झुटले तनाव सुरु भयो । न हाम्रो मोबाइलमा ‘वान एक्स बेट’ डाउनलोड थियो, न अन्य केही । पैसा पनि पाएको थिएन । ‘हाम्रो सिरियल विज्ञापनले चल्ने हो । विज्ञापन सोचेर हाल्यौ । हामीले त्यो विज्ञापन नेपालमा बजाउन पाइन्छ, कि पाइँदैन भनेर सोचेनौ’ प्रहरी बयानमा भन्यौ, ‘नेपाली कानुन राम्रोसँग बुझेका पनि थिएनाैँ ।’
त्यसपछि मैले बुझे मानिसले सबैभन्दा ध्यान दिनुपर्ने कुरो नेपाल प्रहरीको प्रहरी अनुरोध कार्यक्रम रहेछ । नेपाल प्रहरीको पेज पनि छ । त्यो पेज फलोगर्नुपर्दाे रहेछ । त्यो पेजमा विज्ञापन इलिगल भनेर धेरै पहिले राखिएको रहेछ । त्यो मैले थाहा पाइन । मेरो गल्ती त्यहाँ भयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij