आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आचार्य कृष्ण दमाई र वर्ण विज्ञानको मनोदशा

  • प्रकाशित मिति : आइतवार, अशोज ६, २०८१



  • कोटिहोममा आचार्य कृष्ण दमाई ।

    धर्म अफिम हो । कार्ल माक्र्सले भनेका थिए भनेर मैले कतै पढेकी थिएँ । हुन पनि धर्मको अफिम पिएपछि मान्छे यसरी लट्ठिन थाल्छ कि मान्छेलाई नै उसले भगवान् देख्न थाल्छ । देख्ने मात्रै होइन पाउ पर्छ । पूजा गर्छ र जयगान गाउँदै हिंड्न थाल्छ ।

    पछिल्लो समय कथावाचकका रूपमा उदाइरहेका महाराजजीहरू । कथावाचककै नाममा उभिएका चर्चित देवीहरू त्यसैको प्रारूप भन्दा हुन्छ । भगवानका नाममा कथा वाचन गरेकै भरमा उनीहरूले आफूलाई देवी वा देव नै सम्झिन थालेको अनुभव हुन्छ ।

    यतिबेला मलाई चर्चित भागवत कथावाचक नारायण पोखरेलको सम्झना आउँछ । उनी मारिनु भन्दा अगाडिको उनको क्रेज कम्ता थिएन । सुनेकी थिएँ-उनको कथा वाचन सुनेर थुप्रै महिला उनको प्रेममा पागल भएका थिए रे !

    कथा भनेकै भरमा उनले पनि आफूलाई भगवान् कृष्णकै स्वरुप हुँ भन्न थालेका थिए । जहाँ कथा वाचन गर्न गयो, त्यहीं दुई तीनवटी श्रीमती बनाउँथे भन्ने कुरा पनि सुन्न पाइन्थ्यो । पछि हाम्रै रूपन्देहीको रामापुर स्कूलमा भागवत कथा वाचन गर्दागर्दै उनी माओवादीको कारबाहीमा मारिए ।

    जे नाममा मारिएको भए पनि त्यो अत्यन्त गलत र अपराधपूर्ण कार्य थियो । त्यसपछि पनि घरघरमा उनका प्रवचन एफएम रेडियोमा गुन्जिन छाडेन । मेरै घरमा पनि हजुरबा, बा, आमा सबैले बिहान खुब मन लगाएर उनको प्रवचन सुनिरहेको देख्थें ।

    तर मलाई भने शास्त्रको नाम दिएर महिलालाई होच्याइएको कुरा पटक्कै मन पर्दैनथ्यो । महिलालाई होच्याइएका कथा र भजनमा सबैभन्दा बढी नाच्ने महिलाहरू देखेर दिक्क लाग्थ्यो । त्यसपछि दिनबन्धु पोखेरलको समय शुरू भयो । तर कथा भन्ने शैली परिवर्तन भएन ।

    आफ्नै पिताको पथ समातेर उनले शास्त्रका नाममा महिलाद्वेषी उदाहरणहरू सुनाउँदै गए । महिलाले पति सम्हालेनन् भने घर बिग्रिन्छ । धर्ममा बसेनन् भने समाज बिग्रिन्छ । जतिसुकै निकृष्ट भए पनि पति भनेको परमेश्वर हुन् । पतिको गोडा ढोग्नु र खुट्टाको जल खाएर मात्रै स्त्री धर्म रक्षा गर्न सक्छे ।

    शास्त्रको हवाला दिएर सारमा यही कुरालाई नै उनले पनि स्थापित गर्न खोजे । हुँदाहुँदा हिजोआज देखापरेका देवी प्रतिभा र चन्द्रकला सखी जस्ता युवा महिला कथा वाचकहरू पनि त्यही स्त्रीद्वेषी भाष्यलाई बल पुर्‍याउने बाटोमै लागेको देख्दा मन कुँडिएर आउँछ ।

    हामीले के सिकिरहेका छौं ? के सिकाइरहेका छौं ? धर्म र शास्त्रको नाममा किन अन्धभक्त बनिरहेका छौं ? बनाइरहेका छौं ? वास्तवमा धर्म के हो ? धार्मिकता अन्धभक्त हुनुमा छ कि समय अनुसार गलत भाष्य र व्यवहारहरूलाई सच्याउँदै जानुमा छ ?

    यस्तै अपमानपूर्ण र विभेदी व्यवहारहरूको पक्षपोषण गर्ने भाष्यहरू कसरी धर्म हुन सक्छ ? अब शास्त्रहरूको पुनव्र्याख्या हुनुपर्छ कि पर्दैन ? अथवा केही धर्मभीरुहरूले यसको अपव्याख्या गरिरहेका हुन् कि ? जान्नेहरूले यसतर्फ बहस चलाउने जाँगर गरेको पनि देखिंदैन ।

    हाम्रो समाज यसै पनि असहिष्णु बन्दै गएको छ । एकातिर धर्मको अफिममा लट्ठिएको भीड छ अर्कोतिर त्यसको विरुद्ध विषवमन गरिरहेको विशृंखलित जमात । जसले बजारमा धर्मको नाममा आउने पात्रहरूलाई कि असाध्यै चर्चाको शिखरमा पुर्‍याएको छ, कि असाध्यै नकारात्मक टिप्पणीको शिकार बनाउँदै लगेको छ ।

    हामीले ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्ने आलोचक चेत गुमाएका छौं । के साँच्चिकै समाज अब अतिवादतर्फ उन्मुख भएको हो ? या निराशाले हाम्रो सोच्ने शैलीमाथि कब्जा गरेको हो ? कि जानाजान मानिसले राजनीतिको नयाँ च्याम्बर बनाउँदै गएका हुन् ? बेला-बेला म यस्ता प्रश्नहरू सोच्न बाध्य हुन्छु ।

    जसरी आचार्य कृष्ण दमाईले त्यो यात्रामा आफूलाई हिंडाउन सफल भए । यसको मतलब संस्कृत पढ्नु, कथावाचक बन्नु मात्रै सफल हुनु हो भन्न पक्कै खोजिएको होइन, जुनसुकै क्षेत्रमा हात हालिन्छ त्यसमा लगनका साथ लाग्न जरूरी छ । र एउटा लक्ष्य तय गर्न जरूरी छ भन्न खोजिएको हो
    जब समाजलाई चलायमान बनाउने कुनै घटना चर्चामा आउँछ तब त्यही कुरामा बौद्धिक र राजनैतिक मानिएका मानिसहरू पनि सामेल हुन्छन् । उनीहरूले पनि कि अति नकारात्मक प्रतिक्रिया दिन्छन् कि प्रशस्तिकै बाटो समाउँछन् ।

    यसको एउटा ज्वलन्त उदाहरण हो केही समय अघि पशुपतिमा चलेको कोटिहोम महायज्ञ । त्यसले उत्पन्न गरेका चर्चा अझै सेलाएका छैनन् । देवी प्रतिभा, चन्द्रकला सखी हुँदै आचार्य कृष्ण दमाईसम्म आइपुग्दा केही दिन सामाजिक सञ्जाल मज्जैले तातेको थियो ।

    जब कोटिहोमको व्यसासनमा आचार्य कृष्ण दमाई आसीन भए, मेरो हृदय पनि भावुकातावश फराकिलो भएर आयो । केही थोपा हर्षको आँशु नै खसे । किनकि जातीय छुवाछूत विरुद्धको ठूल-ठूला आन्दोलनले प्राप्त गर्न नसकेको एउटा सामाजिक रूपान्तरणको विम्ब आचार्य कृष्ण दमाई बने भन्ने अनुभव भयो ।

    जसको लागि उनले कुनै बाहुनको घरमा जबरजस्ती छिर्नु परेको थिएन । या कुनै मन्दिरमा पिसाब फेर्नुपर्छ भनेर उद्दण्ड क्रान्तिको नारा लगाएका थिएनन् । उनको चेतनाको उज्यालोले उनलाई त्यहाँ पुर्‍याएको थियो । हुनत उनको यो कदमले केही लछारपाटो लगाउँदैन भन्नेहरू पनि छन् । एउटा दमाईले वेद पढ्दैमा ऊ ब्राह्मण बन्न सक्दैन भन्नेहरू पनि छन् ।

    समाजमा जातीय विभेदको गहिरो खाडल नभएको पनि होइन । तर के विरोध मात्रै यसको समाधान हो त ? जे कुरामा पनि नकारात्मक भइदिनु नै क्रान्तिकारिता हो त ? मानें, त्यो घटना कोटिहोम सञ्चालकको स्टन्टबाजी होला । पपुलारिटीको लागि उनीहरूले अपनाएको राजनीति नै होला । तर जातीय छुवाछूतलाई मान्यता दिने मानिसहरूलाई त यसले ठूलो धक्का दियो नि !

    पशुपति प्राङ्गणमा भएको धार्मिक अनुष्ठान त्यो पनि भागवत पुराणको व्यासासनमा कृष्ण दमाई बसेर हजारौं धार्मिक जनहरूले उनको प्रवचन सुनेको कुरा त देशभर फैलियो नै यसले सामाजिक स्वीकार्यतालाई मनोवैज्ञानिक रूपमा केही बल त अवश्य नै पुर्‍याएको छ ।

    यसो भन्दैमा अब सबै बराबर भए, छुवाछूतका डरलाग्दा दुष्कृति सकियो भनेकै होइन । तर, पशुपति प्राङ्गणको कोटिहोममा कृष्ण दमाई पुग्नुले सामाजिक मनोविज्ञानलाई सूक्ष्म तरिकाले फरक चैं पक्कै पार्नेछ । समय र सामाजिक व्यवहारलाई भिन्न तरिकाले सोच्न बाध्य बनाउने छ ।

    फेरि भनिएला के हो त्यो भिन्न तरिका वा मनोविज्ञान ? त्यसको लागि शास्त्रले भन्ने गरेको वर्ण विज्ञान कसरी जातीय विभेदमा परिणत भयो ? यसको मुख्य कारक के हो ? सबैभन्दा पहिले यो कुरा बुझ्न जरूरी छ । र यसको लागि हामी महाभारतकालीन समयतिर फर्किनुपर्ने हुन्छ ।

    त्यो बेलाको वर्ण विज्ञान र जातीय छुवाछूतको प्रारुपलाई जान्नुपर्ने हुन्छ । महाभारतकालीन समयमा जातीय विभेदको कुरा आउँदा महाभारत कथाका एक शक्तिशाली योद्धा कर्णको जीवन कथालाई पढ्नुपर्छ, कथामा ऊबेला उनलाई एक शूद्र भनेर शिक्षा ग्रहण गर्न रोक लगाइएको छ । उनको शक्ति प्रदर्शित हुने सबै ठाउँमा उनलाई शूद्र भनेर विभेदपूर्ण व्यवहार गरिएको पढ्न पाइन्छ ।

    यो केवल ब्राह्मण क्षेत्री, वैश्य या शूद्रको जात व्यवस्थाको कुरा होइन । यो त समय र मानव सभ्यताको कालखण्डले निर्माण गर्ने मनोवैज्ञानिक प्रवृत्तिको कुरा हो । जसलाई मान्न हामीले सधैं अस्वीकार गरिरह्यौं । इतिहासदेखि नै शासन पद्धति र शासकहरू त्यसमा लचिलो हुन कहिल्यै सकेनन्
    तर, फेरि पनि उनी योद्धा बनेका छन् । राजा बनेका छन् । यसले दुईवटा कुरा भन्न खोजेको प्रस्ट हुन्छ । पहिलो त शक्तिको प्रयोगले सामाजिक र राजनैतिक रूपमा विभेदको शुरुआत कसरी गर्छ भन्ने देखाउँछ । अर्को, मानिसको कर्मले नै उसको धर्म र जातिको अवधारणा विकास गरेको हो भन्ने पनि बुझाउँछ ।

    त्यस कुरालाई गीता र महाभारतका विभिन्न खण्डहरूमा पनि पढ्न सकिन्छ । जहाँ श्रीकृष्णले भनेका छन् भन्दै यस ढंगको व्याख्या भेटिन्छ-यदि सबै मानिस विकसित भएका भए संसारमा मात्रै दुई वटा वर्ण रहने थियो । जुन बहिर्मुखी (क्षेत्रीय) र अन्तर्मुखी (ब्राह्मण) हो ।

    तर केही मानिसहरू विकसित हुन सकेनन् र तिनले अरू दुई वर्ण निर्माण गरे । जसले चार वटा वर्णको विकास गर्‍यो । जहाँ क्षेत्रीयहरूको आकांक्षा शक्तिको आकांक्षा हो । र, ब्राह्मणहरूको आकांक्षा शान्तिको आकांक्षा हो । पछि क्षेत्रीय हुन नसकेकाहरू वैश्य भए । अझ भनिएको छ कायर क्षेत्रीहरू वैश्य भए ।

    वैश्यको बीउ क्षेत्री नै भए पनि उनीहरू युद्धको मैदानमा जान सकेनन् । लडाईं गर्न सकेनन् । तर धन कमाउने जुक्ति निकाले र धनबाट शक्तिलाई खरिद गर्ने कोशिश गरे । सम्पत्तिले ढुकुटी भरे र तरबारको ताकतलाई किन्न खोजे । परोक्ष रूपमा उनीहरूको धनको आकांक्षा पनि शक्तिकै आकांक्षा हो ।

    अर्कोतिर ब्राह्मण हुन नसकेकाहरू शूद्र भए । उनीहरू अन्तर्मुखी यात्रामा निस्किन सकेनन् । उनीहरूको व्यक्तित्व आलस्यमय भयो । आलस्य, तामस र प्रासाद उनीहरूको जिन्दगीको बाटो बन्न थाल्यो । बाहिरको यात्रामा जान पनि सकेनन् । भित्रको यात्रामा जान सक्ने भएर पनि उनीहरू त्यता गएनन् ।

    त्यसपछि उनीहरूको दुईवटै यात्रा अवरुद्ध भयो र अँध्यारोमा सुत्ने वर्णमा विभाजित भए । तर ब्राह्मण बन्ने आकांक्षा शूद्रमा पनि उत्तिकै भेटिन्छ । त्यसैले शूद्रले सधैं आफूलाई ब्राह्मण विरुद्ध उभ्याउँछ । र उभ्याउँदै आएको छ । त्यो नै विभेदको प्रमुख कारक हो ।

    शूद्रले ब्राह्मण विरुद्ध गएर होइन ब्राह्मण बन्ने यात्रातर्फ अग्रसर भएर देखाउनुपर्ने थियो र पर्नेछ । जुन आन्तरिक यात्रा हो । आध्यात्मिक मात्रै होइन एउटा गहन मनोवैज्ञानिक साधना हो । त्यसैले वर्ण विज्ञान एउटा सामाजिक व्यवस्था मात्रै हुँदै होइन । शूद्रले ब्राह्मणहरूको भान्सा छुँदैमा, मन्दिर चढ्दैमा पनि यो दूरी मेटिंदैन ।

    आफूलाई कति बहिर्मुखी बनाउने या अन्तर्मुखी बनाउने ? सबैभन्दा पहिले उसले सोच्नुपर्ने हुन्छ र त्यो व्यक्ति स्वयम्को हातमा हुन्छ । पूर्ण बहिर्मुखी वा पूर्ण अन्तर्मुखी यात्रामा निस्कन सक्ने व्यक्ति अबको समयमा मात्रै दलित रहँदैन ।

    जसरी आचार्य कृष्ण दमाईले त्यो यात्रामा आफूलाई हिंडाउन सफल भए । यसको मतलब संस्कृत पढ्नु, कथावाचक बन्नु मात्रै सफल हुनु हो भन्न पक्कै खोजिएको होइन, जुनसुकै क्षेत्रमा हात हालिन्छ त्यसमा लगनका साथ लाग्न जरूरी छ । र एउटा लक्ष्य तय गर्न जरूरी छ भन्न खोजिएको हो ।

    गीताको दोस्रो अध्यायको अन्तिम श्लोकतिर ब्रह्म अर्थात् निर्वाणमा पुग्न दुई वटा बाटा छन् भनिएको छ । एउटा अन्तर्मुखी अर्थात् ज्ञानबाट शून्यता र निर्वाणको बाटो हो । अर्को बहिर्मुखी अर्थात् साधनाबाट पूर्णत्व र ब्रह्म प्राप्तिको बाटो हो ।

    यसले के देखाउँछ भने कर्म र लगनले नै मान्छेको वर्ण विज्ञान तय भएको हो जात र धर्मले होइन । जसको ज्वलन्त उदाहरण इतिहासतिरै फर्केर कर्णलाई लिन सकिन्छ । कर्ण क्षेत्रीय कुलमा जन्मिए तर एउटा शूद्रको घरमा शूद्र भएर हुर्किए । उनको कर्म पूर्णतया क्षेत्रीय थियो ।

    त्यो बेलाको समाजले उनलाई शूद्र भनिरह्यो । भलै उनलाई पूरै द्वापर युगले सूत पुत्र भन्यो । तर उनी क्षेत्रीय थिए । उनको कर्म पूर्णतया बहिर्मुखी थियो । जसले उनलाई राजा बनायो । विशाल योद्धा बनायो । फेरि पनि समाज र समाजकोे शासन पद्धति नै विभेदको मूल कारक हो भन्ने त यसबाट पनि प्रस्ट हुन्छ ।

    यो केवल ब्राह्मण क्षेत्री, वैश्य या शूद्रको जात व्यवस्थाको कुरा होइन । यो त समय र मानव सभ्यताको कालखण्डले निर्माण गर्ने मनोवैज्ञानिक प्रवृत्तिको कुरा हो । जसलाई मान्न हामीले सधैं अस्वीकार गरिरह्यौं । इतिहासदेखि नै शासन पद्धति र शासकहरू त्यसमा लचिलो हुन कहिल्यै सकेनन् ।

    एक प्रकारको दासतालाई जोगाइरहन आजसम्मको सभ्यता सफल भयो । र त त्यसरी विकास भएको वर्ण विज्ञानलाई आज पनि हामीले जातिवादको अँगालो हालिरहेका छौं । त्यसैमाथि राजनीति गरिरहेका छौं । जसले न सामाजिक परिवर्तन ल्याउन सकेको छ न मनोवैज्ञानिक क्रान्ति ।

    आफूलाई दलित भन्ने, भनाउने र सधैं निरीहता र राजनैतिक आरक्षणको भाग खोजिरहने मनोदशाबाट अबको दलित समुदाय माथि उठ्नैपर्छ र लगनका साथ निर्वाणको यात्रामा अगाडि बढ्नुपर्छ । र, मात्रै यो विभेदको राजनीतिलाई अन्त्य गर्न सकिने सम्भावना देखिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij