शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

भक्तपुरमा आज घरघरमा फूलपाती र तलेजुलाई दसैँ घर भित्र्याइयो

  • प्रकाशित मिति : बुधबार, अशोज २३, २०८१



  • भक्तपुर । भक्तपरका नेवाः समदायले आज फूलपाती भित्र्याएका छन् ।

    फूलपातीदेखि विजयादशमीसम्मको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको साइत एवं तालिका अस्वीकार गर्दै भक्तपुरमा आज फूलपाती भित्र्याइएको हो ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आफ्नो नगर क्षेत्रमा २३ गते फूलपाती, २४ गते महाअष्टमी र २५ गते महानवमी मनाउन आह्वान गर्दै नगरपालिकाले आजैदेखि सार्वजनिक बिदा दिएको थियो ।

    नयाँ तालिकाअनुसार भक्तपुरमा यसवर्षको दसैँको फूलपाती आज बिहान ७ः३४ को शुभसाइतमा गर्ने र दिनभर फूलपाती भित्रयाएपछि घरघरमा मासु भित्र्याउने र साँझ भोज खाने परम्परा छ ।

    यहाँका नेवाः सामुदायले आज बिहान ७ः३४ बजेदेखि सप्तमी अर्थात फूलपाती मनाउने, आश्विन २४ गते बिहीबार बिहान ७ः२७ बजेदेखि अष्टमी पूजा गरी कुलछि भोय् गर्ने, आश्विन २५ गते शुक्रबार बिहान ६ः५२ बजेदेखि महानवमी पूजा (स्याक्व् त्याक्व्), (ताँःपूजा) गर्ने र आश्विन २६ गते शनिबार विजयादशमी पूजा गरी टीका ग्रहण गर्ने निर्णय गरेको हो ।

    भक्तपुर तलेजुका पुजारीहरू प्रजेशराज राजोपाध्याय, महेश कर्माचार्य, पदमलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्यलगायत स्थानीय पुजारीहरुले विज्ञप्ती जारी गरी असोज २३ गते फूलपाती मनाउने निर्णय गरेको थियो । तलेजुका मूल नाइके, पूजारी एवं सरोकारवाला व्यक्तिले उक्त निर्णय सार्वजनिक गरेपछि भक्तपुरकावासीले आज फूलपाती भित्र्याएका हुन् ।

    नगरप्रमुख प्रजापतिले भक्तपुर तलेजुका पुजारी एवं तान्त्रिक ज्योतिषहरुको अध्ययनबाट प्राप्त विषयलाई आधार मानेर आज फूलपाती मनाउन आह्वान गरेको बताए । स्थानीय व्यासी निवासी एवं पातञ्जल योग समितिका केन्द्रीय अध्यक्ष बालमुकुन्द सुवालले नेवारी परम्पराअनुसार आज फूलपाती भित्र्याएर कुछी भोज सुरु गरेको बताए ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने विसं २०८१ को दसैँ असोज २४ गते फूलपाती भित्र््याउने शुभसाइत बिहान ७ः११ बजे, असोज २५ गते एकैदिन महाअष्टमी, कालरात्रि र महानवमी तथा असोज २६ गते बिहान ८ः३३ बजे देवी विसर्जन र टीका लगाउने उत्तम साइत ११ः३६ बजे रहेको तालिका समितिले सार्वजनिक गरेको थियो ।

    तलेजुलाई दसैँघर भित्र्याइयो

    भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिरमा आज फूलपातीको दिनबाट विधिवत् रूपमा बडा दसैं सुरु भएको छ । आज शुभसाइतमा तलेजुलाई मूलघरबाट मूल चोकमा बिराजमान गराई दसैँ घरमा भित्र्याइएको हो ।

    राजप्रतिनिधिका रुपमा तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले खड्ग बोकेर अन्यले खड्गलगायतका विभिन्न धार्मक हतियारसहित लामबद्ध भएर विशेष प्रकारको पोसाक र विभिन्न बहुरत्न जडित गहना पहिरिएर तलेजुको मूल मूर्ति १९ जनाले बोकेर तलेजुलाई विधिवत् रूपमा दसैँ घर पु–याइएको हो । आजदेखि विजयादशमीको दिनसम्म तलेजुलाई दसैँ घरमा राखेर पूजा गर्ने परम्परा रहेको जोशीले जानकारी दिए ।

    रातो र सेतो कपडाको विशेष प्रकारको पोसाक, पछ्यौरा र पगरीलगायत तलेजुका पूजारी, नाइकलेलगायतले धार्मिक विधिअनुसार विशेष पूजा गरी तलेजुलाई दसैँ घर लैजाँदा परम्परागत विशेष बाजा बजाइएको थियो ।

    विजयादशमीको दिन भने तलेजुलाई विजय यात्रा गरी दसैँ घरबाट मूलघरमा भित्र्याइने मूल नाइके जोशीले जानकारी दिए । फूलपाती, अष्टमी र नवमीमा गरी तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बली दिइन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij