प्रकाशित मिति : बिहिबार, कार्तिक १५, २०८१
तुलसीपुरमा रहेको पूर्णिमा तथा हिमन्त सप्लायर्सले रङ मिसाएको अखाद्य मासको दाल बिक्री गर्ने गरेको रहस्य खुलेको छ । तुलसीपुरको न्यु श्रेष्ठ भेराइटी स्टोर्समा अखाद्य मासको दाल भेटिएपछि यस्तो रहस्य बाहिर आएको छ । चाडपर्व लक्षित अनुगमनका क्रममा अनुगमन टोलीले बेच्न राखेको अखाद्य मासको ३८ किलो दाल समेत बरामद गरेको छ । अनुगमनका क्रममा स्टोर्सका प्रोप्राइटर अनिल श्रेष्ठले तुलसीपुरको घोराही रोडमा रहेको पूर्णिमा तथा हिमन्त सप्लायर्सबाट राम्रो भनेर मासको दाल ल्याएर उपभोक्तालाई बिक्री गर्दै आएको बताउनुभयो ।
‘राम्रो भनिएको मासको दाल अखाद्य रहेछ । तर उपभोक्ताले सबैभन्दा बढी यही दाल खोज्छन् । बिक्री पनि सबैभन्दा बढी यही भएको छ । म त अचम्ममा परे’ श्रेष्ठले भन्नुभयो । अनुगमन टोलीले झण्डै एक दर्जन नक्कली पुनर्जित चुक बिक्रीमा प्रतिबन्ध लगाएको छ । अनुगमन टोलीले पहिलो पटकलाई सचेत गराएको भन्दै अर्कोपटक भेटिएमा कारबाही गर्ने चेतावनी दिएको छ । यता अखाद्य मासको दाल सप्लाइ गर्दै आएको हिमन्त तथा पुर्णिमा सप्लायर्सले गुणस्तरका विषयमा कुनै थाहा नभएको बताएको छ ।
नेपालगञ्जको ग्लोबल फुडबाट दाल लगायतका खाद्यान्नहरू लिएर तुलसीपुर बजार सहित पहाडी जिल्लामा सप्लाई गर्दै आइरहेको पूर्णिमा सप्लायर्सका सञ्चालक हेमन्त डाँगीले बताउनुभयो । ‘मैले खाद्यान्न ल्याउने बेलामा १०/१० बोरा मासको र मुसुराको दाल ल्याउँछु । तुलसीपुरमा गाडीका गाडी दाल लिएर बिक्री गर्ने राजेश गुप्ता र शंकर गुप्ता हुन । बजारमा राम्रो र गुणस्तरीय खाद्यान्न ल्याएर उपभोक्तालाई खुवाउनुपर्छ भन्ने सोचको मान्छे हुँ । पहिलो पटक जानकारी पाएकोले अव केयर फुल हुन्छु ।’ डाँगीले भन्नुभयो ।
यता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तुलसीपुरका प्रमुख पदम बरालले ससाना पसलहरूको अनुगमन गरेपनि ठूलो परिमाणको खाद्यान्नको अनुगमन जिल्ला प्रशासन कार्यालय मातहत पर्ने भएकाले आफूहरूले हेर्न नमिल्ने बताउनुभयो । उता उपभोक्ताहरुले नियमन निकायहरु, जनउत्तरदायी नहुँदा बजारमा कालोबजारी, कृतिम अभाव, अखाद्य वस्तुको बिक्रीबितरण जस्ता कृयाकलाप मौलाउँदै गइरहेको बताएक छन् । गलत बाटोमा हिड्ने सानो ठूलो सबैलाई कानुनी दायरामा ल्याउन नियमन निकायहरु अग्रसर हुनपर्ने बताउँदै ढकालले बिभिन्न बाहनामा पन्छिन कसैलाई छुट नभएको बताउनुभयो ।
‘जनताको पिडा, समस्या कस्ले बुझ्ने । उनिहरु दिन दहाडै ठगिरहेका छन् । कसलाई मतलव छ ? एक दुई ठाउँ गयो अनुगमन गर्या जस्तो गर्यो काम सकियो । अखाद्य र म्याद नाघेको उपभोग्य बस्तु भेटाउने वित्तीकै अन्दस्पट कारबाही गरेपछि पो गलत गर्ने मान्छे सजग हुन्छ । त्यो छैन । अब यस्तो नगर्नु होला भन्यो छाड्यो ।’ उपभोक्ता ढकालले भन्नुभयो ।
tulsipurkhabar bat
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij