प्रकाशित मिति : बुधबार, कार्तिक २८, २०८१
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जस्थित यातायात ब्यवस्था कार्यालयका लागि आवश्यक जमिन, भौतिक पूर्वाधार र संरचना उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले आज एक विज्ञप्ती जारी गर्दै कार्यालयका लागि जमिन, भौतिक पूर्वाधार र संरचना उपलब्ध गराउन खोज्दाखोज्दै पनि गराउन नसकेको भन्दै झुठो प्रचारबाजी हुनु दुःखद् भएको उल्लेख गरेको छ।
नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई प्रबक्ता प्रमोद रिजाल, वडा नम्बर २१ का वडा अध्यक्ष राजकुमार साहु, १८ का अध्यक्ष दिपककुमार बर्मा, ४ का अध्यक्ष गोपाल पुन, वडा नम्बर २ का अध्यक्ष मनोजकुमार श्रेष्ठ, २० का अध्यक्ष कौशलकुमार धोबी तथा कार्यपालिका सदस्य बसन्त कनोजियको संयुक्त हस्ताक्षरसहितको विज्ञप्तीमार्फत नेपालगञ्ज बाँके जिल्लाको सदरमुकाम सहर भएका कारण पनि आम जिल्लाबासीले अपनत्व महसुस गर्ने गरी सरकारी कार्यालयहरुलाई ब्यवस्थित बनाई सेवा प्रवाहमा प्रभावकारिता ल्याउनका लागि नेपालगञ्ज उपमहानगरपालिका प्रयासरत रहेको स्पष्ट पारिएको छ ।
“हाल जुन जुन कार्यालय जहाँ जहाँ छन्, तत् तत् भूगोलमा रहने गरी पूर्वाधारको हिसाबले मजबुत बनाउनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो भूमिका र दायित्व सही ढंगले निभाउने विश्वास दिलाउँछौं,” विज्ञप्तीमा भनिएको छ-“लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्रीज्यू हाल चीन भ्रमणमा रहनुभएका कारण उहाँ फर्किए लगत्तै मुख्यमन्त्रीज्यू, उद्योग, पर्यटन तथा यातायात मन्त्रीज्यू, जिल्लास्थित माननीय सांसद, राजनीतिक दल तथा स्थानीय जनप्रतिनिधिज्यूहरु लगायत सरोकारवालाहरुसंग सघन छलफल गरी यस विषयलाई टुंगोमा पुर्याउने भूमिका निर्वाह गरिने प्रतिबद्धता जनाउँदछौं ।”
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij