प्रकाशित मिति : सोमवार, मंसिर १०, २०८१
घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रोल्पाको होलेरीमा आफ्नो सेवा विस्तार गर्ने भएको छ । प्रतिष्ठानले एमविविएसको पढाइ शुरु गर्ने भएपछि रोल्पाको होलेरीमा सेवा विस्तार गर्न लागेको हो ।
प्रतिष्ठानले होलेरी प्राथमिक स्वास्थ्य केन्द्रका लागि एमविविएस चिकित्सक नियुक्त गरेर पठाउन लागेको छ । एमविविएस चिकित्सकको ब्यवस्था भएमा त्यहाँका जनताले चौविसै घण्टा स्वास्थ्य सेवा प्राप्त गर्ने प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले बताउनुभयो । एमविविएस पढाइका लागि प्रतिष्ठानले ५० सिट प्राप्त गरेपछि होलेरी प्राथमिक स्वास्थ्य केन्द्रलाई कम्युनिटि आउट रिच सेन्टरको रुपमा रहने गरी ब्यवस्थापन गर्न लागेको लम्सालले बताउनुभयो ।
गएको असारदेखि होलेरी अस्पतालमा एमविविएस चिकित्सक नहुँदा विरामीले सामान्य स्वास्थ्य सेवा प्राप्त गर्न घोराही आउनुपर्ने बाध्यता छ । रजिष्ट्रार लम्सालले प्रतिष्ठानबाट पास गर्ने एमडिपिजिपि चिकित्सकलाई होलेरी पठाएर विशेषज्ञ सेवा शुरु गर्ने लक्ष्य रहेको बताउनुभयो । हाल प्रतिष्ठानमा एमडिजिपिमा दुईजना चिकित्सकले स्नाकोत्तर पढिरहेका छन् । आइतबार प्रतिष्ठानमा एक कार्यक्रमबीच राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुन्टीगढी गाउँपालिका होलेरी रोल्पाबीच जनशक्ति ब्यवस्थापनबारे सम्झौता भएको छ । प्रतिष्ठानका रजिष्ट्रार लम्साल र गाउँपालिका अध्यक्ष जनक पुनबीच सहमति भई सम्झौता पुस १ गतेदेखि लागु हुनेछ । प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. जनार्दन पन्थी र प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य ब्यवस्थापन समितिका अध्यक्ष चेतलाल खत्रीको उपस्थितिमा दुबै पक्षबीच सम्झौतापत्र आदान प्रदान गरिएको थियो/
naya yougabodha bat
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij