प्रकाशित मिति : शनिबार, मंसिर २९, २०८१
काठमाडौँ । नेपाल प्रहरीका दुई नायब महानिरीक्षक (DIGP) बढुवा सिफारिस भएका छन्। DIGPद्वय दुर्गा सिंह र भरतबहादुर बोहरालाई अतिरिक्त महानिरीक्षक (AIGP)मा पदानेन्नति गर्न बढुवा समितिले सिफारिस गरेको हो।
गृहसचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले यो निर्णय गरेको तथा बढुवा समितिका सदस्यसचिव एवं प्रहरी महानिरीक्षक IGP वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।
एआईजी भीमप्रसाद ढकाल र केदार ढकाल अवकाश भएपछि रिक्त पदमा उनीहरूलाई बढुवा गर्न लागिएको हो। बढुवाकै लागि सिंहलाई बिहीबार मात्रै गण्डकी प्रदेशबाट सरुवा गर्ने निर्णय भएको थियो।
यता प्रहरी प्रधान कार्यालयको कार्य विभागमा दरबन्दी भएका बोहरा ट्राफिक प्रहरी प्रमुखका रूपमा काजमा छन्। यसअघि नै AIGP बन्ने वरीयतामा रहे पनि अवकास हुन लागेका केदार ढकाललाई AIGP बनाउन सिंहलाई छुटाइएको थियो।
अहिले पनि सिंहपछिको वरीयतामा कुवेर कडायत अगाडि हुन्। कडायत र सिंहलाई AIGPमा बढुवा गर्दा बोहरा DIGP बाटै अर्को महिना अवकास हुने भएपछि उनलाई पनि AIGP बनाएर मात्रै अवकासमा पठाउन लागिएको हो।
बोहराको अवकासपछि मात्रै कडायतलाई बढुवा गर्ने तयारी छ। उमेर हदका कारण पुस १४ गते बोहरा अनिवार्य अवकाश हुनेछन्।
पुस १६ गते अर्को पनि AIGP को दरबन्दी खाली हुनेछ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख AIGP किरण बज्राचार्य अनिवार्य अवकाशको मुखमा छिन्।
यसअघि किरण राणालाई २ दिनका लागि AIGP बढुवा गरिएको थियो। IGP कुँवरले आफ्ना ब्याचका सबैलाई AIGP बनाएर पठाउने नीति लिनु भएको छ ।उहाँको चाहनाअनुसार सरकारले पनि निर्णय गरिरहेको देखिन्छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij