प्रकाशित मिति : बुधबार, पुस २४, २०८१
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको सङ्कुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ ।


प्रधानमन्त्री निवासमा मङ्गलबार साँझ भएको भेटमा प्रधानमन्त्री ओलीसँग परिषद्का अध्यक्ष बलिभद्र रानासहितका पदाधिकारीले सार्वजनिक खरिद नियमावलीमा संशोधन, छड, सिमेन्टलगायत निर्माण सामग्रीमा भएको मूल्यवृद्धिलाई ध्यान दिएर ठेक्कामा मूल्य समायोजनलगायत विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभएको हो ।
प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीको केही रकम भुक्तानी गरिसकिएको र बाँकी रकम भुक्तानी प्रक्रियालाई सहज बनाउनेगरी काम गर्न आफूूले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी गराउनुुभयो ।
सबैभन्दा कम रकममा ठेक्का दिने प्रक्रियाले कतिपय स्थानमा गुणस्तरीय निर्माण कार्य हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीले गुणस्तरमा सम्झौता नगर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो ।
सरकारलाई गुणस्तर मापदण्ड पूूरा नभएका कुनै पनि कार्य स्वीकार्य नहुने स्पष्ट गर्दै उहाँले लागत अनुमान गर्दा सम्भावित जोखिमलाई ध्यानमा राखिएको बताउनुभयो ।
सरकारले विकास निर्माणलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै प्रधानमन्त्रीले विगतमा भूकम्पपछिको पुनःनिर्माणलाई सफलतापूर्वक सम्पन्न गरेको स्मरण गर्नुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij