प्रकाशित मिति : आइतवार, माघ ६, २०८१
इरानको सर्वोच्च अदालतका दुई न्यायाधीशको हत्या भएको छ।
शनिबार राजधानी तेहरानमा सर्वोच्च अदालतभित्र दुई जना न्यायाधीशको गोली हानी हत्या भएको हो।
समाचार संस्था रोयटर्सका अनुसार हत्या गरिएका न्यायाधीशहरू मोहम्मद मोगीसेह र अली रजिनी छन्। ती दुई न्यायाधीशहरूले जासुसी र आतंकवादका मुद्दा सम्हालेका थिए। राष्ट्रिय सुरक्षा र आतंकवादसँग जोडिएका मुद्दाहरू लामो समयदेखि तिनै न्यायाधीशहरूले हेर्दै आएका थिए।
शनिबार एक संदिग्धले अदालतभित्रै प्रवेश गरेर गोली हानी उनीहरूको हत्या गरेको थियो। न्यायाधीशको हत्यापछि ती संदिग्धले आफैमाथि गोली चलाउँदा उनको पनि मृत्यु भएको छ। घटनामा न्यायाधीशका एक सुरक्षागार्ड घाइते भएका छन्।
गोली प्रहार भएको घटनाको जिम्मेवारी अहिलेसम्म कसैले नलिएको समाचार संस्था एशोसियटेड प्रेस (एपी)ले जनाएको छ।
यद्यपि अदालतको कडा सुरक्षाबीच न्यायाधीशमाथि गोली प्रहार भएको घटनाले संदिग्ध अदालतमै काम गर्ने व्यक्ति हुनसक्ने अधिकारीहरूलाई उद्धृत गर्दै एपीले समाचारमा लेखेको छ।
न्यायाधीश अली रिजिनीमाथि यसअघि १९९९ मा पनि हत्याको प्रयास भएको थियो।
इरानको सरकारी टेलिभिजनले घटनामा इसराइल र संयुक्त राज्य अमेरिका समर्थित इरानी विपक्षीसँग सम्बन्धित व्यक्तिको संलग्नता हुनसक्ने बताएका छन्।
यसबारेमा अनुसन्धान भइरहेकाले विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको सरकारी टेलिभिजनहरुले जनाएका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij