प्रकाशित मिति : आइतवार, माघ २०, २०८१
काठमाडौं । करिब दुई वर्षअघि तीव्र रुपमा आयात वृद्धि भइरहेको नयाँ आइटमले भन्सार विभागका अधिकारीहरुलाई चकित बनायो । त्यो थियो, इलेक्टिक चुरोट अर्थात् भेप ।
त्यसबेला भेप प्रतिगोटा ३७ सेन्टको हाराहारी भन्सार मूल्यांकनमा आइरहेको थियो । त्यति सस्तो भन्सार मूल्यांकनमा आउन पाउने भएपछि वैधानिक रुपमा नेपालमा ठूलो मात्रामा भेप आयात भइरहेको थियो । तर, त्यो नेपालमा प्रयोग हुन्थ्यो कि हुँदैनथ्यो कसैलाई थाहा थिएन ।
भेपको अन्तर्राष्टिय मूल्यसमेत हेरेर भन्सार विभागले त्यसको मूल्यांकन एकैपटक ३ डलर पुर्यायो । त्यसमा पनि भेप आई नै रह्यो । करिब एक अर्ब त यसबाट राजस्व नै उठेको भन्सार विभागका एक अधिकारी बताउँछन् ।
गत वर्षबाट विभागले भेपलाई दुई किसिमको मूल्य राखेर भन्सार मूल्यांकन गर्न थाल्यो । सस्तो ५ डलर प्रतिगोटा र महँगो ७ डलर प्रतिगोटा ।
त्यसमा ४० प्रतिशत भन्सार, थप ४० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ । त्यसो हुँदा भेप आयातमा सबै कर गरेर १ सय २१ दशमलप ४८ प्रतिहत लाग्ने भयो । भन्सारमा प्रतिगोटा ७ डलर आयात मूल्य तोकेर ८ रुपैयाँ ५० पैसा कर लिन थालेपछि भने वैधानिक आयात स्वात्तै घट्यो । र, त्यो तस्करीका माध्यमबाट भित्रन थाल्यो ।
त्यसरी तस्करी भएर भित्रिएको भेपको नेपालमा उपभोग अत्यन्तै कम भएको भन्सार अधिकारीहरु बताउँछन् ।
भारतमा भेप प्रतिबन्धित भएकाले् यहाँबाट तस्करी भएर भारत प्रवेश गर्ने गरेको उनीहरुको भनाइ छ ।
हालै राजस्व अनुसन्धान विभागले दुई ठाउँबाट एक लाखभन्दा बढी भेप बरामद गरी तस्करीमा संलग्नहरुमाथि गरिरहेको अनुसन्धानले पनि त्यही कुरा बताउँछ ।
नेपालको भूमिलाई ट्रान्जिट बनाएर भारतमा भेप (इलोक्ट्रिक चुरोट) तस्करी भइरहेको कुरालाई यसले पुष्टि गर्छ ।
ठूलो मात्रामा भेप बरामद भएपछि त्यसको गन्तव्यको बारेमा समेत अनुसन्धान गर्दा भेपको बजार भारतमा रहेको खुलेको विभाग एक अधिकृतले बताए । ‘नेपालमा अहिले नै यति ठूलो मात्रामा भेपको बजार छैन । शहरी क्षेत्रका केही युवायुवती यसका प्रयोगकर्ता भए पनि अन्य भू–भागमा भेपको माग छैन’ एक अधिकृतले अनलाइनखबरसँग भने, ‘जसकारण नेपालको भूमि प्रयोग गरेर भेप भारतर्फत तस्करी गर्न लागेको देखिन्छ ।’
यद्यपि बरामद भेप कहाँ जान लागेको भन्नेबारे आफूहरुसँग सरोकार नहुने राजश्व अनुसन्धान विभागका महानिर्देशक चण्डिप्रसाद घिमिरे बताउँछन् । ‘यसको गतन्व्यभन्दा पनि हामीले हेर्ने राजश्व चुहावटको विषय हो । अहिले त्यही विषयमा अनुसन्धान गरिरहेको छौं ।’
विभागले अहिले मुस्ताङबाट बरामद भएको १९ हजार थान भेप र ललितपुरको इमाडोलाबाट बरामद भएको ८६ हजार ४ सय थान भेपमाथि संयुक्त रुपमा अनुसन्धान गरिरहेको छ । माघको पहिलो साता राजश्अव विभागको सूचनाको आधारमा मुस्ताङ प्रहरीले ठूलो मात्रामा भेप बरामद गरेको थियो ।
यसरी दुई स्थानबाट समातिएको भेपको भन्सार मूल्यांकन प्रतिगोटा ७ डलरका हिसाबले १० करोड रुपैयाँभन्दा बढी हुन्छ ।
त्यसबापत राज्यले १२ करोड २८ लाख राजस्व पायनुपर्ने हो । तर, दुई स्थानबाट बरामद भेपकै परिमाण यति ठूलो देखिएबाट यसको तस्करी सञ्जाल निकै ठूलो भएको अनुमान गर्न थाह्रो नहुने भन्सारका अधिकारीहरु बताउँछन् ।
एक समूले ९५ कार्टुन भेप रसुवा नाकाबाट नेपाल भित्र्याउन खोजेको थियो । तर २० दिनसम्म होल्ड हुँदा समेत रसुवा नाकाबाट उक्त भेप नेपाल भित्र्याउन सम्भव नभएपछि उक्त समूहले माघको पहिलो साता मुस्ताङको कोरला नाकाबाट भेप भित्र्याएको थियो ।
यद्यपी मुस्ताङबाट राजश्व छलेर भेप भित्र्याउन लागिएको सूचना विभागले पाएको थियो । उक्त सूचनाको आधारमा मुस्ताङ प्रहरीले १९ हजार थान भेपसहित घ्याचे गुरुङलाई पक्राउ गरेको थियो ।
भेपसहित घ्याचेलाई पक्राउ गरिएपछि विभागको अर्को सूचना पनि आएको थियो । त्यो ठूलो मात्रामा राजश्व छलेर ल्याइएको ५०१ कार्टुन भेप ललितपुरकै इमाडोलमा रहेको भन्ने सूचना राजश्वको टोलीले पाएको थियो ।
त्यसपछि राजश्वमै रहेको सशस्त्र प्रहरीको टोलीलाई समेत लिएर एक गोदाममा छापा हान्दा ५०१ कार्टुन भेप बरामद भएको थियो । उक्त कार्टुनमा ८६ हजार ४ सय थान भेप फेला परेको महानिर्देशक घिमिरेले बताए ।
पक्राउ परेकाहरु विरुद्ध राजश्व चुहावट (अनुसन्धान तथा नियमन) ऐनको दफा ३ को निषेधित कार्य गरी दफा ४ अन्तर्गको कसुरको भन्दै तेस्रो पटक म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
अहिले घ्याचेका साथै डायमन्ड नेपाल इन्टरनेशनलका सञ्चालक रोजन न्यौपाने र उनका सहयोगी सनाउल्लाह अन्सारी गरी तीन जनामाथि तेस्रो पटक म्याद लिएर विभाग अनुसन्धान गरिहेको छ ।
बुटवलबाट २ हजार ६ सय ३० थान, पथलैयाबाट ४ हजार थान भेप बरामद गरेको छ । ती भेपहरु पनि काठमाडौं आएर तराईका जिल्ला हुँदै भारततर्फ जान लागेको अनुसन्धानबाट खुलेको छ ।
स्वास्थ्य मन्त्रालयले भेप आयातमा प्रतिबन्ध लगाउनुपर्ने सिफारिस गरेको छ । हालसम्म यसको आयात प्रतिबन्धित त छैन, तर तस्करी भने निकै मौलाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij