प्रकाशित मिति : आइतवार, फाल्गुन ४, २०८१
बिनिता शर्मा,काठमाडौ । हालै बढुवा भएका नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (DSP)ले दर्ज्यानी चिन्ह पाएका छन्।
फागुन २ गते प्रहरी निरीक्षक पदबाट बढुवा भएका ७५ जनामध्ये ७२ जनालाई आइतबार दर्ज्यानी चिन्ह दिइएको हो। तीन जनामध्ये दुई जना सिलसिलामा संयुक्त राष्ट्र संघको मिसनमा र एक जना तालिममा रहेकाले उनीहरूले पछि दर्ज्यानी चिन्ह लिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी महानिरीक्षक IGP वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भयो ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै IGP कुँवरले बधाई तथा सफल कार्यकालको शुभकामना गर्नु भयो ।
पदोन्नतिसँगै पदीय दायित्व र जिम्मेवारी समेतको बढोत्तरी भएको चर्चा गर्दै व्यक्तिगत लाभ र स्वार्थ भन्दामाथि उठेर एकजुट भई प्राप्त जिम्मेवारीलाई निष्ठापूर्वक ढंगबाट उच्च समर्पण भावका साथ कार्यसम्पादनमा खरो उत्रन कुँवरले निर्देशन दिनुभयो ।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै DSP सुरेन्द्रप्रसाद जोशीले संगठनको छवि उच्च राख्दै प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा AIGP हरू, SIGP
हरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको, प्रहरी प्रधान कार्यालयका प्रबक्ता DIGP दिनेश आचार्यले जानकारी दिनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij