शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आफ्नै श्रीमतीको प्रशंसा गर्‍यो भन्ने पर्ला तर यो पुस्तक २४ क्यारेटको छ – ओली

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १०, २०८१



  • काठमाडौँ । प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । आज यहाँ आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक लोकार्पण गरे ।

    प्रधानमन्त्री ओली र प्रथम महिला शाक्य दाम्पत्य जीवनमा बाँधिएको ३७औँ  वार्षिकोत्सवका अवसरमा पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पण समारोहमा मन्त्रिपरिषद् सदस्यका साथै समाजका प्रतिष्ठित व्यक्तिहरु सहभागी थिए ।

    लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाई र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको सङ्घर्ष, कठिनाई, सफलता र समाजसेवाका विषय समेटिएको बताए । पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका उकालीओराली तथा नेता ओलीसँग विवाह बन्धनमा बाँधिएपछिका अनेक प्रसङ्ग उल्लेख छन् ।

    “न म साहित्यकार, न लेखिका तर मनमा लागेका कुरा लेख्ने गर्थेँ । त्यही सङ्कलन आज पुस्तकाकारमा आएको छ”,  लेखिका शाक्यले भनिन्, “म बाल्यकालदेखि नै गरिब, दुःखी, रोगी असहायलाई देखेपछि चिन्तित हुन्थेँ । मैले केपी ओलीसँग करुणाले बिहे गरेँ ।”

    राधिकाको आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित छः प्रधानमन्त्री
    प्रधानमन्त्री ओलीले राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित रहेको बताएका छन् । पाणिनि बुक्सद्वारा प्रकाशित उक्त पुस्तक लोकार्पण कार्यक्रममा ओलीले आफू पनि एक साक्षी भएकाले उक्त पुस्तक कुनै उपन्यास वा कथा नभएको र यसमा कुनै बनावटी कुरा नभएको उनको भनाइ थियो ।

    “हुन त आफ्नै श्रीमतीको प्रशंसा गर्यो भन्ने पर्ला तर म  ढुक्कका साथ भन्न सक्छु, यो पुस्तक २४ क्यारेटको छ । यसको सत्यताबारे कसैले चुनौती दिन सक्दैन”, प्रधानमन्त्री ओलीले भने, “मेरो हुतीले बालकोटमा हाम्रो घर बन्न सक्ने पनि थिएन । त्यो सबै राधिकाको कमाई र मेहनत हो । त्यो घर पनि ट्रष्टका नाममा दान गरिसकिएको छ । मेरो त सानो हुँदा आफूले खनजोत गर्ने गरेको झापाको खेत पनि बाढी पहिरोले बगाइसकेको छ । राधिका नहुने हो भने म अहिलेसम्म यसरी बाँच्न सक्ने थिइनँ ।”

    देश र जनताको अधिकारका लागि ज्यानको पर्वाह नगरी हिँडेको आफू जस्तो मान्छेका बारेमा आर्थिक विषयमा अनेक अफवाह फैलाइएको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा लोकतान्त्रिक गणतन्त्रको प्राप्तिलाई आफूले सफलता मानेको बताए ।

    “जेलबाट चप्पल लगाएर निस्किएको एउटा कैदी प्रधानमन्त्री भयो भनेर होच्याउनेहरू पनि छन् । सायद तिनीहरू श्रीपेच लगाएका मान्छेले आफूलाई रैती बनाएको देख्न चाहन्छन् । जनताको छोरो प्रधानमन्त्री भएको देख्न चाहँदैनन्”, उनले भने, “मलाई धेरैले माया र साथ दिन्छन् । मैले लोभ गर्ने हो भने साथीहरूले घर सम्पत्ति जोड्न सहयोग गर्छन् तर मलाई कुनै लोभ छैन । मसँग जे छ, त्यो देश, पार्टी र राज्यको सम्पत्ति हो ।”

    बालकोटको घर हाम्रो पसिना र मेहनतबाट बनेको होः शाक्य

    लेखक तथा प्रथम महिला शाक्यले देशका लागि निरन्तर सक्रिय प्रधानमन्त्री ओली जस्तो व्यक्तिबारे अनेक अफवाह र नकारात्मक टिप्पणी गरिएकामा दुःख लाग्ने गरेको बताइन् ।

    आफूले नेपाल राष्ट्र बैङ्कमा ३३ वर्ष जागिर खाएर बालकोटमा घर जोडेको र अहिले पनि पेन्सनबाट खर्च चलाएको उल्लेख गर्दै उनले बालकोटको घरलाई दरबार भनेर प्रचार गर्नेहरूसँग दुःखेसो पोखिन् ।

    “हाम्रो जीवनशैली सामान्य नै हो । दुःखी, गरिब र असहायलाई सहयोग गर्न पाउँदा खुशी लाग्छ । जीवनको एक–एक हिसाब बुुझाउन म तयार छुु । बालकोटको घर हाम्रो पसिना र मेहनतबाट बनाइएको हो”, शाक्यले भनिन्, “सम्पूर्ण नेपालीले सहज रूपमा लाउन र खान पाउनुपर्छ भन्ने हिसाबले हामी लागिरहेका छौँ ।”

    ‘करुणा पुस्तकले पाठकलाई आत्मविश्वास जगाउँछ’

    पुस्तकमाथि टिप्पणी गर्दै वक्ताहरुले प्रधानमन्त्री र प्रथम महिलाको जीवनका आरोह–अवरोहमा आधारित पुस्तकले जस्तोसुकै दुःख र कष्टमा पनि आशाको दियो बाल्न सकिन्छ भन्ने सन्देश दिने बताए ।

    नेकपा एमालेका उपमहासचिव एवं साहित्यकार प्रदीपकुमार ज्ञवालीले प्रतिकुलतामा पनि बाँच्नका लागि पुस्तकले प्रेरणा दिने धारणा राखे । गायिका आनी छोइङ डोल्माले राधिका शाक्यको लेखन र व्यवहार दुवै करुणामय पाइएको अनुभव व्यक्त गरे । लेखक अमर न्यौपानेले पुस्तकबाट प्रधानमन्त्री ओलीको आत्मविश्वास र ढृढ इच्छाशक्ति तथा त्यो प्राप्तिमा शाक्यको योगदानलाई बुझ्न सकिने बताए ।

    कार्यक्रममा प्रधानमन्त्री ओली र शाक्यको ३७ औँ विवाह उत्सवका अवसरमा आयोजकबाट उनीहरूलाई बधाइ दिनुका साथै सम्मान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij