आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

२४ वर्षपछि बारको महासचिवमा एमालेको ‘कमब्याक’, को हुन् कोइराला ?

  • प्रकाशित मिति : बिहिबार, चैत्र २८, २०८१



  • काठमाडौँ । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिमा प्रा.डा. विजयप्रसाद मिश्रको प्यानल निर्वाचित भएको छ ।

    उक्त प्यानलबाट नेकपा एमालेनिकट प्रगतिशील कानुन व्यवसायी संगठन (पीपीएलए)का वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला महासचिवमा निर्वाचित भएका छन् । कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)निकट यज्ञमणि न्यौपानेलाई दुई हजार ३६७ मतले हराएका हुन् ।

    कोइरालाले ४ हजार ८७४ मत पाउँदा न्यौपानेले २ हजार ३६७ मत प्राप्त गरेका छन् । महासचिव पदमा पीपीएलएको ‘कमब्याक’ २४ वर्षपछि हो । २०५७ सालमा पीपीएलएका सतिशकृष्ण खरेल महासचिव निर्वाचित भएकोमा त्यसयता पीपीएलएले अध्यक्षसहित अन्य पदहरु जिते पनि महासचिव जित्न सकेको थिएन । यसबीचमा पीपीएलएबाट शम्भु थापा, विश्वकान्त मैनाली र हरिकृष्ण कार्कीले अध्यक्षका रुपमा बारको नेतृत्व भने सम्हालेका थिए ।

    को हुन् कोइराला ?

    २४ वर्षपछि बारको महासचिव पद फर्काउने वरिष्ठ अधिवक्ता कोइराला तीन दशकदेखि कानुन व्यवसायीका रुपमा सक्रिय छन् । उनले दर्जनौँ कानुनी अनुसन्धान र कानुनी शिक्षामा योगदान पुर्‍याएका छन् ।

    कोइरालाले त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसबाट २०४४ मा स्नातक र २०४८–२०५१ मा स्नातकोत्तर गरेका हुन् । उनले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत स्कुल अफ लबाट २०६०–६२ मा दोस्रोपटक वाणिज्य तथा अन्तर्राष्ट्रिय व्यापार कानुनमा दोस्रोपटक स्नातकोत्तर गरेका थिए । उनलाई सर्वोच्च अदालतको पूर्ण इजलासले २०८१ भदौ २१ गते वरिष्ठ अधिवक्ताको मानार्थ उपाधि प्रदान गर्‍यो ।

    २०५० सालदेखि वकालत गर्दै आएका कोइरालाले मानव अधिकार र सामाजिक मुद्दाहरुमा बहस गर्दै आएका छन् । उनले विभिन्न जिल्ला अदालत, उच्च अदालत पाटन र सर्वोच्च अदालतमा वकालत गर्दै आएका छन् ।

    यसका साथै विभिन्न सार्वजनिक संस्थान, स्थानीय निका र वित्तीय संस्थाहरुमा पनि उनी कानुनी सल्लाहकारका रुपमा आवद्ध छन् । नेपाल विद्युत् प्राधिकरणको मध्य मस्र्याङ्दी जलविद्युत आयोजनाको दाबी समाधान समितिमा कानुनी सल्लाहकारको रुपमा कार्यरत छन् । त्यसबेला उनले श्रम व्यवस्थापन विवाद समाधानका लागि सरकारद्वारा गठित खिम्ती जलविद्युत परियोजनाको न्यायाधीकरण सदस्यका रुपमा काम गरेको अनुभव पनि उनीसँग छ ।

    बैंक तथा वित्तीय संस्थाहरुमा पनि कानुनी परामर्शदाताका रुपमा काम गरिरहेका उनले नेपाल बार काउन्सिल तथा अधिवक्ताहरुका लागि विशेष प्रशिक्षण पनि दिने गरेका छन् ।

    कोइराला सन् १९९५ मा सिड्नी विश्वविद्यालय सिड्नीमा भएको संयुक्त राष्ट्र संघ प्रणाली र अन्तर्राष्ट्रिय कानुनसम्बन्धी प्रशिक्षकका रुपमा नेपालबाट सहभागी भएका थिए ।

    नेपालमा कानुनी शिक्षा, सुशासनमा सहभागिता र मानव अधिकार सचेतनामाला जस्ता पुस्तक समेत प्रकाशन गरेका उनका संविधान, बैंकिङ, बीमा, व्यापार र लगानी कानुनसम्बन्धी तीन दर्जनभन्दा बढी अनुसन्धानात्मक लेख प्रकाशित छन् ।

    बार महासचिव उम्मेदवारका रुपमा कोइरालाले न्यायमा चुस्तता, ढिलासुस्ती र असमानताको अन्त्य र कानुन व्यवसायीको हकहितका लागि काम गर्ने एजेण्डा अघि सारेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij