प्रकाशित मिति : बिहिबार, बैशाख १८, २०८२
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि (शुक्रबार) दिनको ३ बजे प्रस्तुत गर्ने भएको छ।
सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने कार्यक्रमको लागि भोलि संघीय संसदको संयुक्त बैठक बोलाइएको हो।
संघीय संसद सचिवालयले नीति कार्यक्रम प्रस्तुतिका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
संयुक्त बैठकका लागि सबै सांसदका साथै उपराष्ट्रपति, प्रधानन्यायाधीश, संवैधानिक आयोगका पदाधिकारी, सरकारका उच्चपदस्थ अधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिलगायतलाई आमन्त्रण गरिएको छ।
सरकारले आगामी वर्षको बजेट प्रस्तुत गर्ने समयभन्दा करिब एक महिना पहिले नै नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो।
गत वर्ष भने जेठ १ गते मात्रै नीति कार्यक्रम प्रस्तुत गरिएको थियो।
आगामी आर्थिक वर्षको लागि राष्ट्रिय योजना आयोगले १९ खर्ब ६ अर्ब रूपैयाँको बजेट सिलिङ तोकेको छ।
पुँजीगत खर्च गर्नको लागि स्रोत अभाव देखिन थालेपछि सरकारले आगामी वर्षबाट वैकल्पिक वित्त कोष सञ्चालनमा ल्याउने र यो कोषबाट अघि बढाउने कार्यक्रम नीति तथा कार्यक्रम र बजेटमा प्रस्तुत गर्ने तयारी छ।
यो कोष सञ्चालन सम्बन्धी बनेको विधयेक अहिले संसदमा रहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij