प्रकाशित मिति : बिहिबार, असार १२, २०८२
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमाथि चार वटा शक्तिले हमला गरिरहेको भन्दै सशक्त प्रतिवाद गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
एमाले काठमाडौँ जिल्ला कमिटीको छैटौँ बैठकलाई सम्बोधन गर्दै एमालेले राष्ट्रहित र जनताका सवाललाई सशक्त ढंगले उठाउँदा हमला भइरहेको बताए।
उनले भने, ‘एमालेलाई मुख्य गरी अहिले चार वटा शक्तिले साइवर हमला गरिरहेका छन् । मुख्य गरी उनीहरू सामाजिक सञ्जाल मार्फत एमालेलाई कमजोर पार्न खोजिरहेका छन् । राजावादी, माओवादी, समाजवादी पपुलिष्ट र बाह्य शक्तिले एमाले कमजोर हुँदा यी सबैको स्वार्थ पुरा हुने भएकोले उनीहरू हामीमाथि खनिएका छन्।’
एमाले नभएको भए राजालाई नारायणहिटी लगेर श्रीपेच लगाइदिन यस्तो अवरोध हुने थिएन भन्ने लागेर राजावादीहरू एमाले विरुद्ध खनिएको बताए।
उनले थपे, ‘एमाले भएकै कारण राजावादीले जेठ १५ गते देखि सुरु गरेको अनिश्चित कालीन आन्दोलनले हावा खायो। त्यसैले उनीहरू एमाले विरुद्ध खनिएका छन् । राजावादीको गालिबाट हामी विचलित हुनुहुँदैन । उनीहरूले विरोध गरेपछि बुझ्नु पर्छ हामी सही ठाउँमा छौँ ।’
एमालेलाई आक्रमण गर्ने अर्को शक्ति कम्युनिस्ट नामका माओवादी र समाजवादी भएको पोखरेलको भनाइ छ । नेपालमा एमालेलाई कमजोर नपारेसम्म आफूहरू बढ्न नसक्ने निष्कर्ष निकालेर माओवादी, समाजवादी र अन्य कम्युनिस्ट नामका पार्टीहरू एमालेमाथि हमला गर्न आउने गरेको बताए।
उनले थपे, ‘एमालेलाई कमजोर पारेपछि मात्र आफ्नो आकार बढाउन सकिन्छ भन्ने लागेका कम्युनिष्टधारीहरु साइबर हमला गर्न आएका छन्। तिनीहरू विदेशीका भरिया हुन् । काँग्रेससँग एमालेले सत्ता सहकार्य गरेपछि आफ्नो बार्गेनिङ घट्यो भनेर तिनीहरू एमाले विरुद्ध खनिएका हुन् । यसमा पनि हामी आत्तिने होइन प्रतिकारमा उत्रनु पर्दछ ।’
महासचिव पोखरेलले एमालेमाथि हमाल गर्ने तेस्रो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहहरू भएको बताए।
उनले भने, ‘पपुलिजमका नाममा जनता अलमल्याएर उनीहरूले एमालेमाथि हमला गरिरहेका छन्। किन भन्दा उनीहरूको गलत नीतिको प्रतिरोध र भण्डाफोर गर्न सक्ने एमाले हो भन्ने बुझेका छन् ।’
अराजकतावादीले घृणाको संस्कृति फैलाउने र त्यसलाई एमालेले प्रतिरोध गर्छ भन्ने बुझेर निशाना एमालेलाई बनाएको बताए। नेपाली संस्कृति, सामाजिकता, सकारात्मक भावनामा उभिने पार्टी एमाले भएकोले यस्ता घेराबन्दीबाट कसैले आत्तिनु नहुने बताए।
उनले भने, ‘नाकाबन्दीको सामना, गुमेको जमिनलाई नेपालको नक्सामा गाभ्ने काम र देशका लागि स्वाभिमान प्रदर्शन एमालेले गर्यो । मुलुकमा स्थायित्वको खोजी गर्यो। एमाले कमजोर भएको भए देशलाई कठपुतली र विदेशीको गरी खेल्ने ठाउँ बनाउँथेँ । त्यो स्वार्थ पुरा गर्न एमालेले दिएको छैन । त्यसैले एमाले र यसको नेतृत्वप्रति हमला भइरहेको छ ।’
महासचिव पोखरेलले एमालेका मूल नेता र प्रधानमन्त्रीको रूपमा केपी शर्मा ओलीप्रति हमला बढेकोले त्यसको प्रतिरोध गर्न सबैलाई निर्देशन दिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij