प्रकाशित मिति : बुधबार, साउन १४, २०८२
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल नेतामा ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।
मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई हराउँदै बुधबार भएको संसदीय दल नेता निर्वाचनमा प्रदेश सभापतिसमेत रहेका सांसद बानियाँ निर्वाचित भएका हुन्।
३७ जना सांसदमध्ये बानियाँका पक्षमा २२ मत आयो भने मुख्यमन्त्री लामाका पक्षमा १४ मत आएको छ। एक मत बदर भएको छ। स्वस्तिक छाप लगाउनुपर्नेमा एक जना सांसदले नाम लेखेपछि विवाद भएको थियो भने त्यसलाई बदर भएको मानिएको छ।
सांसद मीनकृष्ण महर्जनले संसदीय दल नेतामा बानियाँ निर्वाचित भएको सेतोपाटीलाई जानकारी दिए।
यसअघि २०७९ मंसिरमा प्रदेश सभा निर्वाचन भएपछि पुस १३ गते संसदीय दल नेताका लागि चुनाव भएको थियो। त्यसबेला पनि लामा र बानियाँबीच प्रतिस्पर्धा भएको थियो, निर्माण व्यवसायी पृष्ठभूमिका दुवै सभापति शेरबहादुर देउवानिकट थिए।
तर प्रदेश सभापतिसमेत रहेका बानियाँले संसदीय दल नेतामा सभापति देउवाको समर्थन नपाएपछि नेता शेखर कोइराला र महामन्त्री गगन थापा पक्षको समर्थन लिएर लडेका थिए।
त्यसबेला बानियाँले १६ मत र लामाले २१ मत प्राप्त गरेका थिए। साढे २ वर्षमा बानियाँले उक्त मत उल्टाएर आफ्नो पक्षमा पार्दै संसदीय दल नेता बनेका हुन्।
मुख्यमन्त्रीका पक्षमा बहादुरसिंह लामा तामाङ, कुन्दनराज काफ्ले, उत्तम जोशी, लक्ष्मी श्रेष्ठ, रमेश महत, हरिप्रभा खड्गी, रामकुमार पहाडी, क्षत्रबहादुर बम्जन, गीता गुरूङ, मसिना खड्का, तीर्थ लामा, रामकृष्ण चित्रकार, माया श्रेष्ठ, गोविन्द लम्साल र समिता खड्गी उभिएका थिए।
साथै मुख्यमन्त्रीको विपक्षमा ईन्द्रबहादुर बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दीपेन्द्र श्रेष्ठ, पुकार महर्जन, विनु रायमाझी पौडेल, यमुनादेवी श्रेष्ठ, उर्मिला नेपाल केसी, शान्ता ढकाल, प्रभात तामाङ, छिरीङ्ग दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, मीनकृष्ण महर्जन, बिमल ठकुरी, मदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने, सुना परियार, श्याम खड्का र कृष्णबहादुर तामाङ उभिएका थिए।
सरकारमा रहेका ५ जना मन्त्रीले राजीनामा दिएर मुख्यमन्त्री लामाको विरूद्धमा मत दिएका थिए।
संसदीय दल नेतामा पराजित भए पनि मुख्यमन्त्री नछाड्ने अडानमा मुख्यमन्त्री लामा छन्। उनले आजै आफूनिकट ३ सांसदलाई मन्त्री बनाएका थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij