प्रकाशित मिति : शुक्रबार, साउन १६, २०८२
नेकपा (एकीकृत) समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकताका लागि छलफल नभएको दाबी गरेका छन्।
शुक्रबार सुनसरीको पार्टी कार्यक्रममा सहभागी हुन आउने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीमाझ नेपालले भने ‘अहिले एकीकरणको कुरा भएकै छैन। सहकार्यको कुरा भएको हो।’
अध्यक्ष नेपालले समाजवादी मोर्चालाई निरन्तरता दिने र दुई पार्टीबीचको सम्बन्धलाई विश्वासको जगमा बलियो बनाउने छलफल चलिरहेको बताए।
यद्यपि अहिले समाजवादी मोर्चाको संयोजक रहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भने समाजवादी मोर्चा विघटनको प्रस्ताव गरिसकेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालले मोर्चा विघटन गर्न नहुने बताएका थिए।
प्रचण्ड र अध्यक्ष नेपालबीच पार्टी एकताका विषयमा पटकपटक लामा–लामा छलफल चलेको चर्चा यो साताभरी चलेको थियो।
यद्यपि एकीकृत समाजवादीभित्र माओवादीसँग एकता गर्न नहुने मत बलियो रहेको भन्दै सम्मानित नेता झलनाथ खनालले माओवादीमा जान चाहनेहरु गए हुने भन्दै कडा अभिव्यक्ति दिएका थिए।
यही सन्दर्भमा सञ्चारकर्मीले सोधेको प्रश्नमा अध्यक्ष नेपालले माओवादीसँग पार्टी एकताबारे कुरै नभएको दाबी गरेका हुन्।
नेता नेपाल सदा झैं यसपटक पनि आफ्ना पूर्व राजनीतिक सहयात्री एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खनिए। उनले ओलीको दम्भ र अहंकारले नेपालको कम्युनिष्ट आन्दोलन नै असहज अवस्थामा पुगेको आरोप लगाए।
प्रधानमन्त्री ओली नेतृत्वको सरकार सबै हिसाबले असफल बनेको आरोप लगाउँदै नेपालले भने ‘केपी ओलीको दम्भ, अहंकार, गलत नीति, गलत कामले गर्दाखेरि देश पूरै पीडित छ। जबसम्म केपी ओलीलाई बिदा गरिँदैन, देश यो पीडाबाट मुक्त हुने स्थिति बन्दैन।’
आफूमाथि लागेको भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोधको परिणाम भएको जिकिर पनि नेपालले गरेका थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij