आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’

  • प्रकाशित मिति : बुधबार, भदौ ४, २०८२



  • बागलुङ। अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए।

    ती युवाका पछि ढ्याङ्ग्रो ठट्याउँदै आइरहेका थिए, झाँक्रीहरु। माथिदेखि दौडिँदै आएको झाँक्री र एक हुल युवाको दृश्य अनौठो थियो। यो अवसरको साक्षी बन्न निसेलढोरमा सयौँ मानिस जम्मा भएका थिए।

    यसलाई निसीवासीले नांखा (गाउँ) पूजा भन्छन्। यो पूजा एक हजार वर्ष पुरानो भएको स्थानीयको विश्वास छ। हरेक दुई-दुई वर्षमा हुने गाउँ पूजा पछिल्लो समय मेलाकै रुपमा लिन थालिएको छ।

    गाउँ पूजालाई मगर खाम भाषामा नांखा पूजा भन्ने गरिन्छ। यो अन्य पूजाभन्दा भिन्न छ। भदौ १ गते निसीवासीले गाउँ पूजालाई धुमधामका साथ मनाउने गर्छन्।

    स्थानीयले साउन मसान्तकै दिनदेखि विभिन्न देवीदेवताका नाममा पूजा गर्ने र साँझा गाउँभरीका झाँक्रीहरु एकै ठाउँमा जम्मा भएर तन्त्रमन्त्र गर्छन्। बिहान सबेरै निसेलढोर गाउँभन्दा माथि रहेको बराह थानमा पुगेर पूजा गर्छन्।

    बराह थानमा पुगेपछि युवाहरुले अर्ध नग्न बनेर अनुहार र शरीरमा मोसो दली राक्षसको स्वरुप धारण गर्ने गर्छन्। झाँक्री र राक्षसको स्वरुप धारण गरेका कापैले गाउँमा अनिष्ट गर्ने भुतप्रेत र राक्षेसी आत्मालाई उत्तरगङ्गा नदीमा खसाल्ने बुढापाका बताउँछन्।

    अनिष्ट हुन थालेपछि ‘गाउँ पूजा’ गर्न थालियो

    सुरुआती समयमा निसेलढोर गाउँमा वर्ष अगाडि अनिष्ट हुन थालेपछि गाउँलेले गाउँ पूजा गर्न थालेको इतिहास रहेको निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ती मगरको भनाइ छ।

    एक हजार वर्ष पहिले निसेलढोरबाट स्थानीय बसाइँसराइ गरेर अन्तै जाँदा हिँड्न नसक्ने बुढाबुढी (जुजाजुजी) लाई गाउँमाथिको ओडारमा लगेर छोडेको र महिनौँपछि हेर्न पुग्दा उनीहरुको मृत्यु भइसकेको हुँदा उनीहरुको आत्माको शान्तिका लागि गाउँ पूजा थालिएको बुढापाकाले सुनाएको घर्ती बताउँछन्।

    ओडामार मृत्यु भएका जुजाजुजी राक्षसको रुपमा गाउँ पसेरपछि मान्छे मर्ने, धन सम्पत्ति, बालीनालीको क्षति हुने, पशुचौपायासमेत मर्ने गरेपछि सुरु शान्तिका लागि सुरु गरिएको गाउँ पूजा अहिलेसम्म चल्दै आएको उनको भनाइ छ।

    पहिले निसेलढोर आसपासमा ठूलो बस्ती रहेको प्रमाणित गर्ने अवशेषहरु अहिले भेटिने गरेको उपाध्यक्ष घर्तीमगरले बताए। गाउँ पूजा गर्दा मृत आत्माले शान्ति पाउने र गाउँमा अनिष्ट नहुने उनी बताउँछन्।

    “बुढापाकाका अनुसार पहिले निसेलढोरमा ठूलो बस्ती थियो, अहिले पनि त्यसका अवशेष भेटिन्छन्, त्यसबेला मानिसहरु बसाइँसराइ गरेर अन्तै जाँदा हिँड्न नसक्ने जुजाजुजीलाई गाउँमाथिको ओडारमा छोडे छन्, पछि आफन्त भेट्न आउँदा उनीहरुको मृत्यु भइसकेको रहेछ,” उपाध्यक्ष घर्ती मगरले भने, “उनीहरुको मृत्यु भइसकेपछि निसेलढोर गाउँमा अशुभ हुन थालेछ, त्यसपछि सिंगो गाउँमा बस्ने सबैले गाउँ पूजा गर्न सुरु गरे छन्, पूजा गरेपछि गाउँमा अनिष्ट हुन छोडेछ, एक वर्ष पूजा गर्यो भने दुई वर्षसम्म अशुभ नहुने मान्यता छ।”

    भूत धपाउन खोलामा हाम फाल्छन् युवा

    बराह थानबाट पूजा गरेर फर्किएका राक्षसको रुप धारण गरेका कापै अग्लो झोलुङ्गे पुलबाट उर्लिएको उत्तरगंगा नदीमा हाम फल्छन्। जसलाई स्थानीयले भूत प्रेतलाई धपाएको भन्ने गर्छन्। यसरी भूत धपाएपछि गाउँमा कुनै पनि किसिमको अनिष्ट नहुने स्थानीय राजमन बुढा मगरले बताए।

    यस पुलमा दैविक शक्ति रहेको हुँदा उत्तरगंगामा हाम फाल्ने कापैलाई चोट पटक नलाग्ने र नदीले नबगाउने बुढा मगरले बताए। पहिले झोलुङ्गे पुल नबन्दा काठको साँघुबाटनै कापैले खोलामा हाम फल्ने गरेको उनको भनाइ छ। भूतलाई खोलामा खसाएपछि गाउँलाई रोग व्याधी नलाग्ने, वस्तुभाउ र बालीनाली पनि राम्रो हुने बुढा मगरको भनाइ छ।

    उनले भने, “झाँक्रीले विधिअनुसार कापैलाई तन्त्रमन्त्र गरेको हुन्छ, कापैले अनुहारमा लगाएको मोसो, शरीरमा लेखिएको विभिन्न अक्षर र राक्षसको जस्तो पहिरनले भूत प्रेतलाई फकाउने र लखेट्दै लगेर खोलामा खसाल्ने गरिन्छ, हाम्रो पुर्खाहरुले मान्दै आएको परम्परा अहिलेसम्म चल्दै आएको छ, यसमा धार्मिक विश्वास छ, हाम्रो आस्था छ।”

    संरक्षणमा युवा र पालिकाको चासो

    गाउँ पूजालाई लोप हुन नदिनका लागि निसीखोला गाउँपालिका–५ का युवाहरुले चासो दिएका छन्। यसवर्ष गाँउ (नांखा) पूजा सञ्चालक तथा व्यवस्थापन समितिमार्फत पूजा सञ्चालन गरिएको थियो। युवाहरुले चासो नदिँदा लोप हुने हुँदा संरक्षणका लागि आफूहरु लागेको गाँउ (नांखा) पूजा सञ्चालक तथा व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण छन्त्यालले बताए। युवाहरुलाई एकताबद्ध गराएर पूजा संरक्षणमा लागेको उनको भनाइ छ।

    निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले कला संस्कृति संरक्षणका लागि गाउँपालिका हरेक वर्ष बजेट विनियोजन गरी काम गर्दै आएको बताए। लोपोन्मुख संस्कृतिको संरक्षणका लागि पाका पुस्ता र नयाँ पुस्तालाई एकै ठाउँमा राखेर पुस्तान्तरण गर्ने काम गाउँपालिकाले गर्दै आएको उनको भनाइ छ। गाउँ पूजा निसीखोलाको विशिष्ट मौलिक संस्कृति भएको हुँदा पालिकाले प्राथमिकतामा राखेरै संरक्षणमा जोड दिएको अध्यक्ष घर्ती बताउँछन्।


    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij