आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गत वर्ष उत्कृष्ट करदाताको सम्मान पाएको पतञ्जली आयुर्वेदबाट पौने १६ करोड कर छली

  • प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०८२



  • राष्ट्रिय कर दिवसको अवसरमा गत १ मंसिरमा सरकारले कृषि तथा पशुपन्छी क्षेत्रतर्फको सर्वाधिक आयकर तिर्ने उत्कृष्ट करदाताको रूपमा पतञ्जली आयुर्वेदलाई सम्मान गर्‍यो । तर, त्यही कम्पनीले सेयर किनबेचमा १५ करोड ७८ लाखभन्दा बढीको कर छली गरेको पाइएको छ । ठुला करदाता कार्यालयबाट जरिवाना र ब्याजसहित कर निर्धारण भएमा यो रकम बढेर ३० करोड नाघ्न सक्ने अनुसन्धानमा संलग्न आन्तरिक राजस्व विभागका अधिकारीहरू बताउँछन् ।

    पतञ्जलीमा रहेको नेपाली सेयरधनीको सेयर भारतीय कम्पनीलाई बिक्री गर्दा ख्याति (गुडविल)को गणना नै नगरी कर छली गरिएको हो । २ कात्तिक ०७७ मा समताप्रसाद महतोले पतञ्जलीमा रहेको आफ्नो ९० प्रतिशत सेयर भारतीय कम्पनी गंगोत्री आयुर्वेदलाई बिक्री  गरेकी थिइन् । समताप्रसाद धनाढ्य उपेन्द्र महतोकी पत्नी हुन् ।

    पतञ्जली आयुर्वेदको दुई आर्थिक वर्ष सन् २०२०/२१ र २०२१/२२ को आय एकीकृत वित्तीय विवरणमा समताप्रसादको साबिकको ९० प्रतिशत सेयर लगानीमा गुडविलको ३५ करोड ५२ लाख भारतीय रुपैयाँ रहेको उल्लेख छ । उनले गुडविललाई बजार मूल्यअनुसार सेयर मूल्यमा समावेश नगरी प्रतिकित्ता एक सय ५७ रुपैयाँका दरले १८ लाख कित्ता सेयर बिक्री गरेको ठुला करदाता कार्यालयको अनुसन्धानले देखाएको छ ।

    तर, यसलाई शतप्रतिशतमा परिणत गर्दा गुडविल रकम ३९ करोड ४५ लाख भारतीय रुपैयाँ हुने देखिन्छ । अर्थात्, ६३ करोड १३ लाख नेपाली रुपैयाँ हुन्छ । यसमा खुद लाभ हुने भएकाले २५ प्रतिशत आयकर लाग्ने ठुला करदाता कार्यालयको अनुसन्धानले देखाएको छ । जसअनुसार १५ करोड ७८ लाख रुपैयाँ कर तिर्नुपर्ने हुन्छ । हालसम्ममा ब्याज र शुल्कसमेत गरेर करिब ३२ करोड रुपैयाँ कर निर्धारण हुने कार्यालय स्रोतको भनाइ छ । विदेशी कम्पनीलाई सेयर बिक्री गर्दा सेयर संरचनामा ५० प्रतिशत बढी स्वामित्व परिवर्तन भएको अवस्थामा खुद लाभको २५ प्रतिशतले आयकर तिर्नुपर्ने व्यवस्था छ ।

    ‘पतञ्जली आयुर्वेदले सेयर बिक्री गर्दा अदृश्य सम्पत्ति (ख्याति)लाई गणनामा नसमेटी सस्तो मूल्य (रु. १५७) देखाएको छ । तर, पतञ्जलीको वित्तीय विवरणले ख्यातिको वास्तविक मूल्य करिब ६३ करोड रुपैयाँ देखाएको छ, जसअनुसार करदाताले कम्तीमा १५.७८ करोड रुपैयाँ आयकर तिर्नुपर्ने हुन्छ,’ कार्यालयका एक अधिकारीले भने ।

    ठुला करदाता कार्यालयका सूचना अधिकारी ध्रुव पाण्डेले पतञ्जलीको सेयर किनबेचका विषयमा अनुसन्धान भइरहेको बताए । ‘यसमा अनुसन्धान गरिरहेको छ । अनुसन्धानबाट करछली पुष्टि भएमा ठुला करदाता कार्यालयले कर निर्धारण गरेर असुली प्रक्रिया अघि बढाउँछ,’ उनले भने ।

    अहिले पतञ्जली आयुर्वेदमा ९० प्रतिशत सेयर गंगोत्री आयुर्वेद र १० प्रतिशत रामजानकी इन्भेस्टमेन्ट प्रालिको छ । रामजानकी इन्भेस्टमेन्ट महतो समूहकै कम्पनी हो । पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्ण हुन् । भारतमा उनी चर्चित योगगुरु रामदेवका साझेदार छन् । गंगोत्रीमा बालकृष्णको ९० प्रतिशत सेयर स्वामित्व छ ।

    नेपालमा सन् २०११ मा नेपाल ग्रामोद्योगको नामबाट स्थापना भएको यो कम्पनी सन् २०१५ मा पतञ्जली आयुर्वेद प्रालि नामाकरण गरिएको थियो । बारामा यसको कारखाना सञ्चालनमा छ ।

    पतञ्जली त्यही कम्पनी हो, जसले सरकारसँग हदबन्दी छुटमा जग्गा खरिद गरेर बिक्री गरेको आरोप छ । पतञ्जलीकै अर्काे कम्पनी पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीका नाममा मन्त्रिपरिषद्मार्फत निर्णय गराएर काभ्रेको बनेपामा हदबन्दी छुटमा जग्गा किनेर बिक्री गर्नसमेत अनुमति दिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij