प्रकाशित मिति : आइतवार, पुस २०, २०८२
बिनिता शर्मा,काठमाडौ ।कोशी प्रदेशस्तरीय अन्तरविद्यालय DIGP रनिङ कप फुटबल प्रतियोगिता–२०८२ को सातौं संस्करणमा आयोजक नेपाल पुलिस स्कुल धरान (रातो) ले उपाधि हासिल गरेको छ ।

शनिबार धरान–१३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालयको खेल मैदानमा भएको फाइनल खेलमा धरानकै प्रभात सेकेन्डरी बोर्डिङ स्कुललाई १–० गोलले हराउँदै पुलिस स्कुलले उपाधि हासिल गरेको हो । खेलको पहिलो हाफको ७ औं मिनेटमा नेपाल पुलिस स्कुलको विकास मगरले गरेको पहिलो गोल नै निर्णायक गोल बन्न पुग्यो । उनी फाइनल खेलका म्यान अफ द म्याच पनि घोषित हुँदै नगद १ हजार ५ रुपैयाँ हात पारे ।
विजेता पुलिस स्कुलले उपाधि ट्रफीसँगै नगद ८१ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पनि हात पारेको छ । उपविजेता प्रभात स्कुलले ट्रफी, नगद ४१ हजार रुपैयाँ, मेडल र प्रमाणपत्रमा चित्त बुझायो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुलिस स्कुलका समिर राई घोषित भए । उनले ट्रफी र नगद ३ हजार ५ रुपैयाँ हात पारे । प्रतियोगिताभरि ५ गोल गरेका समिरले हाई स्कोरर खेलाडी घोषित हुँदै नगद २ हजार ५ रुपैयाँ पनि थापे ।
यस्तै, बेस्ट कोच पुलिस स्कुलका सागर कार्की, बेस्ट मिडफिल्डर प्रभात स्कुलकाका नेम्साङ राई, बेस्ट डिफेन्डर प्रभात स्कुलका रिदम पाण्डे, बेस्ट गोलकिपर पुलिस स्कुलका सोनाहाङ राई र उदयीमान खेलाडी पुलिस स्कुल (निलो) का यारिन भुजेल घोषित भए । उनीहरुले जनही नगद २ हजार ५ रुपैयाँ पुरस्कार हात पारेका थिए ।


साथै धरान सुनसरीलाई कार्यक्षेत्र बनाएर पत्रकारितामा सक्रिय भई DIGP रनिङ कपमा खेलकुद क्षेत्रको विकास, प्रबर्द्धन तथा प्रतियोगिताको समाचार संकलनमा उल्लेखनीय भूमिका र योगदान गरेकोमा कान्तिपुरकर्मी एलिना राईलाई उत्कृष्ट पत्रकार घोषित गरी नगद रकम ५ हजार ५ रुपैयाँ र सम्मान पत्रले सम्मान गरिएको थियो।

प्रतियोगिताको विजेता तथा उपविजेता र व्यक्तिगत विधातर्फका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर राणीका प्रमुख DIGP विनोद घिमिरे, धरान–१३ मा नेपाल प्रहरी प्रदेश कार्यालय प्रमुख एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष SSP ज्ञानेन्द्रप्रसाद फुँयाल, पुलिस स्कुलकी प्राचार्य मनिका सुब्बा (राई), प्रतियोगिताका संयोजक एवं विद्यालय समादेशक प्रहरी निरीक्षक सुरेशकुमार हायु, राष्ट्रिय अनुसन्धान कोशी प्रदेश कार्यालय धरानका अनुसन्धान निर्देशक एवं DIGP इन्द्रसिंह लामालगायत अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।


२०५८ सालदेखि सुरु भएको DIGP कप छैटौं संस्करणसम्म आयोजना भएर २०६३ पछि रोकिएको थियो । करिब १९ वर्षपछि पुनः सञ्चालनमा आएको प्रतियोगितामा आयोजक पुलिस स्कुलले पहिलो पटक फाइनल खेल्दै नयाँ च्याम्पियन बनेको, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरराणीले जानकारी दिएको छ। ।



© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij