प्रकाशित मिति : शुक्रबार, माघ २३, २०८२
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सुरक्षा तयारीबारे ब्रिफिङ लिँदै जोखिम आंकलन गरी सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन्।
आज गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री अर्यालले सुरक्षाको मामलामा कुनै कमजोरी हुन नदिन हाई अलर्टमा रही काम गर्न मन्त्रालय मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका हुन्।
बैठकले निर्वाचन तयारी सम्बन्धमा विगतका बैठकले गरेको निर्णय कार्यान्वयनको अवस्थाको समिक्षा गरी निर्वाचन नजिकिँदै गर्दा आउनसक्ने थप सुरक्षा चुनौतीहरुलाई चिर्न अवलम्बन गरिनुपर्ने रणनीतिबारे समेत मार्गदिशा तय गरेको छ।
गृह मन्त्रालय र रक्षा मन्त्रालयका सचिव तथा चार वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि रहने केन्द्रिय सुरक्षा समितिको बैठकले निर्वाचनलाई लक्षित गरी कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ बमोजिम जिम्मेवार निकायहरूले सम्पादन गरिरहेका कार्यहरू, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाका बारेमा समीक्षा गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए।
बैठकले सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरीले संचालनमा ल्याएको अध्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने, निर्वाचन विरोधी गतिविधी गर्नेलाई कानूनी दायरामा ल्याई कारवाही गर्ने, निर्वाचनमा ड्रोनको प्रयोग गर्न प्रतिवन्ध लगाउने, निर्वाचनमा खटिएका सुरक्षाकर्मी र निर्वाचन प्रहरीको बीमा गर्ने, सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी आवश्यक व्यवस्था गर्ने, निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या/भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्ने लगायतका निर्णय गरेको प्रवक्ता काफ्लेले बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij