प्रकाशित मिति : मङ्लबार, चैत्र १०, २०८२
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य महाशाखाको तथ्यांकले अहिले पनि गर्भवती हुने २० वर्षमुनिका महिलाहरुको संख्या उल्लेख्य मात्रामा रहेकोे देखाएको छ । २० वर्षमुनि उमेर समूहका बालिकाहरु गर्भवती हुँदा विविधखालका स्वास्थ्य समस्या हुने भएपछि नेपाल सरकारले २० वर्ष पार गरेका केटाकेटीबीचको विवाहलाई मात्रै कानुनी मान्यता दिएको छ भने २० वर्षमुनिका बालबालिकाबीच विवाह गराउने परिवारदेखि भोजमा सामेल हुनेसमेतलाई कानुनतः दोषी ठहर गर्दै अवस्थाअनुसार सजाय र जरिवानाको व्यवस्था गरेको छ तर अस्पतालमा गर्भवती जाँच गराइरहेका तथा वैधानिकरुपमा गर्भपतन गराउनेहरुको संख्या हेर्दा कानुन कार्यान्वयनको अवस्था भने फितलो देखिन्छ ।
शाखाको आर्थिक वर्ष २०८१÷०८२ को तथ्यांक हेर्दा तुलसीपुरका संस्थागत स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या दुई हजार छ सय ६९ देखिन्छ । जसमा तीन सय ७४ जना २० वर्षमुनिका छन् । सुत्केरी भएकाहरुमध्ये दक्ष प्रसूतिकर्मीबाट सेवा लिनेमा पाँच सय ६४ जना २० वर्ष माथिका छन् भने एक सय २० जना २० वर्षमुनिका छन् । त्यस्तै दक्ष स्वास्थ्यकर्मीबाट सेवा लिनेमा एक हजार सात सय ३१ जना २० वर्ष माथिका छन् भने दुई सय ५४ जना २० वर्षमुनिका छन् । सोही आर्थिक वर्षमा वैधानिक गर्भपतन गर्नेको संख्या पनि उल्लेख्य मात्रामा छ । यो आर्थिक वर्षमा एक हजार ६९ जनाले वैधानिक गर्भपतन गराएका छन् । जसमा एक सय चारजना २० वर्षमुनिका छन् । उनीहरुले १२ हप्तामुनि र १२ हप्ता माथिको गर्भ मेडिकल (औषधिको प्रयोग) गरेर तथा सर्जिकल (औजारको प्रयोग) गरेर वैधानिकरुपमा गर्भपतन गराएका छन् ।
आर्थिक वर्ष २०८२÷०८३ को आठ महिनामा आइपुग्दा एक हजार तीन सय ३९ जना संस्थागत स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् । यसमा एक हजार एक सय ३६ महिला २० वर्षमाथिका छन् भने दुई सय तीन महिला २० वर्ष मुनिका रहेको तथ्यांकले देखाएको छ । यो आर्थिक वर्षमा पनि वैधानिक गर्भपतन गराउनेहरुको संख्या नौ सय पाँच पुगेको छ । यो तथ्यांकले सुत्केरी हुने तथा गर्भपतन गराउनेको संख्या गत वर्षसँग मिल्दोजुल्दो देखाउँछ । गर्भपतन गराउनेमा २० वर्ष मुनिका ६४ महिला छन् । यसरी २० वर्षमुनिका महिला गर्भवती हुनु वा उनीहरु गर्भपतन गराउने अवस्थासम्म पुग्नु कानुनी हिसाबले अवैधानिक मानिन्छ तर त्योभन्दा ठूलो समस्या स्वास्थ्यमा पर्ने तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत विमल केसीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो उमेरमा बच्चा जन्माउँदा आमा र बच्चा दुबैलाई खतरा हुन्छ भने आमालाई दीर्घकालसम्म पाठेघर तथा प्रजननसम्बन्धीका असरहरु हुन्छन् । मातृशिशु मृत्युदर बृद्धि हुनेजस्ता समस्याहरु देखापर्छन् । यसमा सबैभन्दा पहिला चेतनाको विकास हुन जरुरी छ । साथै कानुन कार्यान्वयन कडाइका साथ लागु गर्न सकियो भने यस्ता घटनाहरु न्यूनीकरण गर्न सकिन्छ ।’
स्थानीय सरकारको तर्फबाट बालविवाह कानुनी हिसाबले दण्डनीय तथा स्वास्थ्यका हिसाबले जोखिमपूर्ण हुन्छ भन्ने कुरा स्थानीय पाठ्यक्रममा समावेश गर्नेदेखि विभिन्न खालका सचेतनामूलक कार्यक्रमहरु गरिदै आए पनि बालविवाह पूर्णरुपमा न्यूनीकरण हुन नसक्दा यस्ता घटनाहरु देखिएको तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका शाखा प्रमुख माया श्रेष्ठले बताउनुभयो । ‘पछिल्लो समय मागी भन्दा पनि प्रेम विवाह हुनेक्रम बढेका कारण बालविवाह बढेको देखिन्छ । हामीले विद्यालय तथा समुदायमासमेत पुगेर बालविवाहबारे सचेतनामूलक कार्यक्रमहरु गर्दै आएका छौं तर बालविवाह रोकिन सकेको छैन । त्यसको परिणाम नै हो यो अवस्था’– उहाँले भन्नुभयो– ‘सचेतनाबाटै यसलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने हाम्रो सोच हो तर सचेतनाले मात्रै नरोकिएको अवस्था छ । त्यसकारण अब वैकल्पिक उपायको खोजी हुनुपर्छ । जस्तै पढेपछि जीवनमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने कुरामा ढुक्क हुने वातावरण सिर्जना गर्न सकियो भने यसलाई न्यूनीकरण गर्न सकिन्छ कि ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij