बागलुङ । बागलुङका तीनवटा बैंकमा एक हजार रुपैयाँका नक्कली नोट फेला परेपछि बजार क्षेत्रमा त्रास फैलिएको छ। सदरमुकाममा रहेका नेपाल बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकमा एउटै नम्बरका तीन थान नक्कली नोट भेटिएको घटनाले वित्तीय सुरक्षा प्रणालीमाथि प्रश्न उठाएको छ।
नेपाल बैंक बागलुङ शाखाका प्रमुख कृष्णबहादुर कुँवरका अनुसार तीनवटै बैंकमा फरक–फरक ग्राहकबाट जम्मा गर्न ल्याइएका नोटको बन्डल जाँच गर्दा नक्कली नोट भेटिएका हुन्। “तीनवटै नोटको सिरियल नम्बर एउटै छ, जसले यो संगठित रूपमा फैलाइएको हुन सक्ने संकेत गर्छ,” उनले बताए। उनका अनुसार नोटको कागजको गुणस्तर, राष्ट्रिय फूलको प्रिन्ट, सुरक्षा धागो, वाटरमार्क तथा अन्य सुरक्षात्मक चिन्हहरूमा स्पष्ट कमजोरी देखिएको छ।
नक्कली नोट भेटिएलगत्तै तीनवटै नोट जफत गरी नेपाल राष्ट्र बैंकलाई जानकारी गराइएको छ। बैंकहरूले आफ्नो आन्तरिक सुरक्षा प्रणालीलाई थप कडा बनाउँदै नोट जाँच प्रक्रिया सुदृढ बनाउने तयारी गरेका छन्। यस घटनाले बैंकिङ प्रणालीमा प्रयोग हुने सुरक्षा उपकरण र जनशक्तिको सतर्कतामाथि थप ध्यान दिनुपर्ने देखिएको छ।
यता, उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष राजनकुमार श्रेष्ठले नक्कली नोट सामान्य कारोबारकै क्रममा बजारमा प्रवेश गरेको हुन सक्ने बताएका छन्। “व्यापारीहरूले सामान किनबेच गर्दा ग्राहकबाट लिएको नोट नक्कली भएको थाहा नपाएर बैंकमा जम्मा गर्न ल्याउँदा मात्र पत्ता लागेको देखिन्छ,” उनले भने। उनले व्यापारीहरूलाई नोट लिँदा सचेत हुन, विशेष गरी ठूला दरका नोटहरू राम्रोसँग जाँच्न आग्रह गरेका छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तिलक भारतीका अनुसार नक्कली नोटको स्रोत पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ। “यो घटनालाई गम्भीर रूपमा लिएका छौं। नोट कहाँबाट आयो, कसले बजारमा फैलायो भन्ने विषयमा अनुसन्धान अगाडि बढाइएको छ,” उनले जानकारी दिए। प्रहरीले स्थानीय व्यापारी, बैंक कर्मचारी तथा सर्वसाधारणसँग आवश्यक सोधपुछ गरिरहेको जनाएको छ।
यस घटनापछि बागलुङ बजारका व्यापारी तथा सर्वसाधारण थप सतर्क हुन थालेका छन्। धेरैले अब नोट लिँदा प्रकाशमा राखेर हेर्ने, सुरक्षा धागो र वाटरमार्क जाँच्ने तथा शंका लागे बैंक वा प्रहरीलाई जानकारी गराउने अभ्यास बढाउन थालेका छन्।
वित्तीय कारोबारमा विश्वास नै सबैभन्दा ठूलो आधार भएकाले यस्ता घटनाले आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पार्न सक्ने देखिन्छ। त्यसैले सरोकारवाला निकायहरूले समयमै अनुसन्धान टुंग्याई दोषीलाई कारबाही गर्नुपर्ने माग उठ्न थालेको छ। साथै, सर्वसाधारणमा नक्कली नोट चिन्नेबारे जनचेतना अभिवृद्धि गर्नु पनि उत्तिकै आवश्यक देखिएको छ।
बागलुङमा देखिएको यो घटना एउटा चेतावनीका रूपमा लिइएको छ, जसले देशभर नै वित्तीय सतर्कता अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याएको छ।