प्रकाशित मिति : आइतवार, चैत्र १५, २०८२
घोराही । घोराही कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको छ । जिल्ला कारागार कार्यालय घोराहीका जेलर थमन खड्काले एक सय २५ जनाको क्षमता रहेको कारागारमा हाल चार सय २९ कैदीबन्दी राखिएको जानकारी दिनुभयोे ।
तीनगुणा कैदीबन्दी भएपछि बसाइ व्यवस्थापनमा समस्या भएको कारागारले जनाएको छ । जिल्ला कारागारमा दुई सय ३६ कैदी र एक सय ९३ थुनुवा राखिएको छ । जिल्ला अदालत नजिकै पर्ने भएकाले थुनुवाहरु प्रायः जिल्ला कारागारमै राखिएको छ । उनीहरुलाई अदालतमा उपस्थित गराउँदा ल्याउन, लैजान सहज हुने भएकाले धेरै थुनुवाहरु जिल्ला कारागारमा राखिएको पाइएको छ । आफ्नै खानेपानी बोरिङ रहेकाले पानीको समस्या नभए पनि संख्या धेरै हुँदा बसाइमा अलि समस्या भएको जेलर खड्काले जानकारी दिनुभयो । कारागारमा २२ जना दीर्घरोगी र छजना मानसिक समस्या भएका व्यक्तिहरु रहेको जेलर खड्काले जानकारी दिनुभयो ।
जिल्ला कारागारमा खानेपानीका लागि बोरिङ र फिल्टर राखिएको छ भने स्वास्थ्य उपचारका लागि सिनियर अहेव र औषधिको व्यवस्था गरिएको छ । त्यस्तै पुस्तकालय, खेलकूद, डान्स क्लास, योग, पत्रपत्रिका र टेलिभिजन, फोन सुविधा र कतिपयले गलैचा, मुढा, फर्निचरजन्य सामग्री उत्पादन गर्ने व्यवस्था पनि मिलाइएको जेलर खड्काले बताउनुभयो । कारागारमा १४ वटा शौचालय, पाँचवटा युरिनरको व्यवस्था गरिएको, शौच र सरसफाइमा समस्या नरहेको उहाँले जानकारी दिनुभयो । सातै दिन टेलिफोन सुविधा छ भने आइतबार, मंगलबार र बिहीबार पारिवारिक भेटघाटको व्यवस्था गरिएको छ । हप्तामा सोमबार र बुधबार कारागारभित्रै गएर स्वास्थ्य जाँच गरिन्छ भने समस्या पर्दा २४ सै घण्टा स्वास्थ्य सेवा र औषधिको व्यवस्था गरिएको छ । गम्भीर खालको उपचारका लागि भने कारागारले केन्द्रीय कारागार विभागमा रिफर गर्ने गरेको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गरेको अनुगमनका क्रममा जेलर खड्काले एक विगाह १३ कट्ठा जमिनमा रहेको जिल्ला कारागारको बाहिरी पर्खाल नहुँदा असुरक्षा रहेको बताउनुभयो । संघ र प्रदेश सरकारलाई पटक–पटक आग्रह गरे पनि काम नहुँदा जोखिम कायमै रहेको उहाँले बताउनुभयो । यस्तै भेटघाटका क्रममा कैदी, बन्दीहरुले आफूहरुको मतदाता नामावली बनाइदिन माग गरेका थिए ।
Naya youghbodh bat
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij