‘मेरो पुलिसलाई टिकाउन सकिनँ..यही नै समस्या हो,’ गृहमन्त्री सुदन गुरुङको अगाडि IGP दान कार्कीको भावुक सम्बोधन दान कार्कीको भावुक सम्बोधनपछि गृहमन्त्रीले समर्थन गरेर ताली बजाए/
उनले संगठनलाई टिकाइराख्न २० वर्षे सेवा अवधिको पुनरावलोकन गर्नुपर्ने, सेवा–सुविधा बढाउनुपर्ने र १६ वर्षमै पेन्सनको व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारे।
गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षणको क्रममा IGP दान बहादुर कार्कीले पनि सम्बोधन गरे । उनले प्रहरी संगठनभित्र बढ्दो जागिर छोड्ने समस्या गम्भीर बन्दै गएको उल्लेख गर्दै त्यसको समाधान तत्काल आवश्यक रहेको बताए।
यही क्रममा, आफ्नो कुरा राख्दै जाँदा उनी एकाएक भावुक बने।
‘मेरो पुलिसलाई टिकाउन सकिनँ… यही नै समस्या हो,’ भन्दै उनी केही क्षणका लागि स्तब्ध भए। हलमा सन्नाटा छायो।
उनका आँखा रसाए-आवाज भारी भयो।
त्यो दृश्यले उपस्थित सबैलाई झस्कायो।
त्यसैबेला, एक अप्रत्याशित क्षण आयो- गृहमन्त्री गुरुङ आफैँ सिटबाट उठे।
आइजीको सम्बोधनबाट प्रभावित हुँदै उनले ताली बजाउन सुरु गरे।
त्यसपछि उनले हलमा उपस्थित सबै प्रहरीलाई पनि उठ्न संकेत गर्दै भने- समर्थन गर्नुस्।
केही क्षणमै, सम्पूर्ण हल उभिएर तालीले गुञ्जियो।
त्यो ताली केवल औपचारिक थिएन- त्यो समर्थन, भावना र पीडाको प्रतिध्वनि जस्तो थियो।
तर ताली सकिएपछि फेरि एकाएक गहिरो सन्नाटा छायो- जसले त्यो क्षणलाई अझ गम्भीर र अर्थपूर्ण बनायो।