प्रकाशित मिति : शनिबार, चैत्र २१, २०८२
काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’माथि लागेको बलात्कारको आरोप र उनको पक्राउको घटनाले चर्चा पाइरहँदा, नाम मिलेकै कारण एक असम्बन्धित युवती सामाजिक सञ्जालमा ‘साइबर बुलिङ’को सिकार बनेकी छिन् । अमेरिकामा रहेकी ‘सङ्गम विष्ट’ नामक युवतीले कलाकार लम्सालमाथि बलात्कारको आरोप लगाएपछि बेल्जियममा बस्दै आएकी अर्की ‘सङ्गम विष्ट’लाई टिकटक लगायतका सामाजिक सञ्जालमा गालीको वर्षा हुन थालेको हो ।
बेल्जियममा रहेकी सङ्गम विष्टले एक भिडिओ सार्वजनिक गर्दै आफूमाथि भइरहेको दुर्व्यवहारप्रति आपत्ति जनाएकी छिन् । उनले आफूलाई पछिल्लो समय नेपालमा भएको घटनाक्रमबारे जानकारी नभएको र कामका सिलसिलामा व्यस्त रहने हुनाले न्युजफिड हेर्ने समय समेत नहुने स्पष्ट पारेकी छिन् । टिकटकमा अत्यधिक गाली र नकरात्मक टिप्पणी आउन थालेपछि उनले स्पष्टीकरण दिँदै भनेकी छिन्, “संयोगवश मेरो नाम र आरोप लगाउने युवतीको नाम एउटै पर्न गएको छ । तर हामी व्यक्ति फरक हौँ । नाम मात्रै हेरेर गाली गर्नुभन्दा पहिले प्रोफाइल हेरेर व्यक्ति चिन्न र ममाथि भइरहेको बुलिङ बन्द गर्न म सबैलाई आग्रह गर्दछु ।”
वास्तवमा अमेरिकामा बस्दै आएकी एक नेपाली युवतीले कलाकार सागर लम्साल ‘बले’ले झन्डै एक वर्षअघि आफू मानसिक तनावमा रहेको बेला अपार्टमेन्टमै बलात्कार गरेको भन्दै फेसबुकमार्फत आरोप लगाएकी थिइन् । सोही आरोप र सार्वजनिक चर्चाका आधारमा प्रहरीले शनिबार बिहान लम्साललाई काठमाडौँको बुढानीलकण्ठबाट नियन्त्रणमा लिएको छ । यो घटना सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा पक्ष र विपक्षमा बहस सुरु भएको छ ।
पीडित र आरोपित दुवैमाथि सामाजिक सञ्जालमा अश्लील र अपाच्य टिप्पणी भइरहेका बेला नाम मिलेकै भरमा असम्बन्धित युवतीसमेत निशानामा परेकी हुन् । बेल्जियममा रहेकी सङ्गमले धेरै नकरात्मक कमेन्ट आएपछि बाध्य भएर आफ्नो टिकटकको कमेन्ट सेक्सन नै अफ गरेकी छिन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij