शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सोह्र वर्षपछि म्याग्दीको पखेर–बरङ्जा सडक स्तरोन्नति, यात्रा अवधि आधा छोटियो

  • प्रकाशित मिति : आइतवार, चैत्र २२, २०८२



  • काठमाडौँ ।  म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नम्बर वडालाई सदरमुकाम बेनीसँग जोड्ने पखेर–बरङ्जा सडक खण्डको मार्ग खुलेको १६ वर्षपछि स्तरोन्नति भएको छ। गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयमार्फत आर्थिक वर्ष २०८०/८१ देखि सुरु गरिएको पखेर–आलडाँडा खण्डको तीन किलोमिटर ५०० मिटर दूरीमा सडक ग्राभेल र ढलान गर्ने कार्य सम्पन्न भएको हो।

    निर्माण कम्पनीले विसं २०८१ असारमा ५ करोड ८६ लाख ३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको यो योजना निर्धारित १८ महिनाको समय सीमाभित्रै भौतिक रूपमा सम्पन्न भएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ। विसं २०६६ मा मार्ग खुलेको यो सडकलाई सात मिटर चौडा बनाएर नाली र टेवा पर्खाल निर्माण गरिएको छ भने अप्ठ्यारा उकालो र घुम्तीहरूमा ५५० मिटर सडक ढलान गरी ग्रेड सुधार गरिएको छ।

    सडक स्तरोन्नति भएपछि बरङ्जादेखि बेनी पुग्न लाग्ने एक घण्टाको यात्रा अवधि ३० मिनेटमा छोटिएको छ। यसअघि ३ देखि ३.५ मिटर मात्र फराकिलो रहेको साँघुरो र जोखिमपूर्ण कच्ची सडकमा जिप र ट्रयाक्टर चल्न समेत मुस्किल हुने गरेकामा अहिले १० चक्के ट्रक समेत सहजै गाउँ पुग्न थालेका छन्।

    भिरालो पाखाका घुम्तीहरूमा गाडी पार गराउन पछाडि लैजानुपर्ने सास्ती हटेपछि स्थानीय बासिन्दा उत्साहित भएका छन्। सडकको सहज पहुँचसँगै बरङ्जा क्षेत्रमा उत्पादित दूध, सुन्तला र तरकारी जस्ता कृषि उपजलाई बजारसम्म पुर्‍याउन निकै सजिलो भएको छ। स्थानीयले पखेरदेखि झाँक्रीपानीसम्मको बाँकी ११ किलोमिटर खण्डलाई पनि पूर्ण रूपमा स्तरोन्नति गर्न माग गरेका छन्।

    भौतिक प्रगति उत्साहजनक भए पनि बजेट अभावका कारण निर्माण व्यवसायीले अझै ८० लाख रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको छ। चालु आर्थिक वर्षमा विनियोजित १ करोड ३९ लाख रुपैयाँले सबै दायित्व पुरा गर्न नसक्दा निर्माण सामग्री आपूर्तिकर्ता र मजदुरहरूलाई ज्याला दिन समस्या भएको निर्माण व्यवसायीको गुनासो छ। म्याग्दी १ (ख) का प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले यो सडक मङ्गला गाउँपालिकाका विभिन्न वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले समेत प्रयोग गर्ने रणनीतिक महत्त्वको भएकाले यसको स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij